६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा ५ पुरुषको मृत्यु

कोभिडका कारण उदयपुरमा शनिबार २४ घण्टाभित्र थप ५ जना पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृतकहरु ४ जना त्रियुगा नगरपालिकाका हुन् भने एक उदयपुरगढीका हुन्।  

यो मृत्यु संख्या अहिलेसम्मकै सबभन्दा धेरै हो। यसअघि ४ जनाको ज्यान गएको थियो। योसहित मृतक संख्या उदयपुरमा ६ महिलासहित २३ पुगेको छ। त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।  

लुईटेलका अनुसार पछिल्लो २४ घण्टामा ३८ महिलासहित ६८ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या उदयपुरमा ५ सय ४४ पुगेको छ। जसमा महिला २ सय ४६ र पुरुष २ सय ९८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

पछिल्लो २४ घण्टाभित्र १८ जना संक्रमित निको भएर घर फर्केका छन्। निको हुनेमा ११ महिला र १७ पुरुष रहेका छन्। जिल्लामा कोभिडबाट निको हुनेको संख्या २८ महिला र ६० पुरुष गरी ८८ पुगेको छ।

कोभिड भेरियन्टका नयाँ संक्रमित यसवर्ष पहाडी भेग र गाउँघरमा उच्च देखिएका छन्। कोभिडको लक्षण रुघाखोकी र ज्वरोका बिरामी देखिएपछि स्वास्थ्य जाँच गर्दा भटाभट कोभिड संक्रमण पुष्टि हुने गरेको छ।

शनिबारमात्र जिल्लाको विकट र पहाडी गाउँपालिका लिमचुङबुङमा थप ९ जनमा संक्रमण देखिएको छ। लिमुचङुङ ४ बलम्तामा शनिबार विहान १० जनाको स्वाव परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको लिमुचङुङ अस्पताल बाराहाका स्वास्थ्य संयोजक कर्णशेर राईले बताए।  

यो सँगै लिमुचङुङमा सक्रिय संक्रमित संख्या २३ पुगेको छ। यसअघि लिमुचङुङ १ मा १४ जनामा संक्रमण देखिएको थियो। उनीहरुमध्ये १ जना उदयपुर कोभिड अस्पताल बेलटारबाट संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने बाँकीको गाउँ अस्पताल बाराहामै उपचार भइरहेको र स्वास्थ्यमा सुधार आईरहेको संयोजक राईले बताए। उनका अनुसार ज्वरो र रुघाखोकी लागेर कोभिडको लक्षण देखिएका सबै वडामा स्वास्थ्यकर्मी टोली खटाएर घुम्ती टोलीमार्फत् स्वास्थ्य परीक्षण गर्ने कार्य भईरहेको छ।  

त्यस्तै पहाडी भेगमै पर्ने त्रियुगा नगरपालिकाको १६ नं. वडाका बेलदोभान, जाँते, सिद्रे, सरस्वति टोल, जाल्पा, चिलाउने र सुकौरा आसपास पनि कोभिडका लक्षण देखा परेकालाई घर घर गएर स्वाव परीक्षण गर्ने क्रम चलिरहेको वडाध्यक्ष मानबहादुर राईले बताए। उनका अनुसार शुक्रबार मात्र ५७ जना लक्षण देखिएकाको स्वास्थ्य परीक्षण गाउँमै टोली खटाएर घरघरमै परीक्षण गरी उपचार सेवा दिइएको छ।

संक्रमित र मृत्युदर बढ्दै गएपछि जिल्लाभर आउँदो १४ गतेसम्म निशेधाज्ञा लम्ब्याइएको छ। दिनहुँ संक्रमितको संख्या बढ्दै गएको र मृत्युको क्रम पनि नरोकिएकाले निशेधाज्ञालाई थप कडाई गर्दै एकसाता लम्ब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App