coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा संक्रमित ५ सय नाघे, घरबाहिर ननिस्कन प्रशासनको अपिल

दिनहुँ बढ्दै गएको कोभिड संक्रमितको संख्या उदयपुरमा ५ सय नाघेको छ। बिहीबार १३ महिलासहित ४१ नयाँ थपिदै संक्रमित संख्या ५ सय ९ पुगेको छ। जसमा महिला २ सय १३ रहेका छन् भने पुरुष संक्रमित २ सय ९६ रहेका छन्।  

बिहीबार थपिएका संक्रमितहरु त्रियुगाका ६ महिलासहित १७, चौदण्डीगढीका ३ महिलासहित १५, उदयपुरगढीमा १ महिलासहित ५, बेलकामा १ महिलासहित २ जना र लिमचुङबुङमा १ महिलासहित २ जना रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। त्रियुगामा हालसम्म १ सय ३ महिलासहित २ सय ५९ संक्रमित पुगेका छन्।  

दोस्रो ठूलो संख्या बेलकामा ४२ महिलासहित ७७, चौदण्डीगढीमा ३२ महिलासहित ७६ र कटारीमा १६ महिलासहित ४७ संक्रमित छन्। त्यस्तै गाउँपालिकातर्फ उदयपुरगढीमा ८ महिलासहित २०, रौतामाईमा ४ महिलासहित १५, लिमचुङबुङमा ७ महिलासहित १४ र ताप्ली गाउँपालिकामा १ महिला संक्रमित फेला परेको स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलले बताएका छन्।  

जिल्लामा हालसम्म १२ महिलासहित ३८ जना कोभिड जितेर घर फर्केका छन्। निको हुनेमा १२ महिला र २६ पुरुष छन्। त्रियुगाका ६ महिलासहित ११, चौदण्डीगढीका ३ महिलासहित १०, कटारीका २ महिलासहित ४, बेलकाका ३ पुरुष निको भएका छन्।

त्यस्तै रौतामाईका २ पुरुष र लिमचुङबुङका १–१ जना पुरुष निको भएर घर फर्केको लुईटेलले बताए।  

कोभिडका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। जसमा ५ महिला र ११ पुरुष छन्।  

संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरोकारवाला निकायहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहहरुले सबैलाई घरघरमा बस्न आग्रह गरेका छन्।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै निषेधाज्ञा र बजार सिल गरेपनि विभिन्न बहाना गर्दै बजारमा निस्कने क्रम भने घटेको छैन।  

निषेधाज्ञाकै अवधिमा सदरमुकाममा बुधबार मोटरसाईकल दुर्घटना भएको छ भने बिहीबार विहान तरकारी व्यापारी र प्रहरीबीच सडकपेटीमा झडप भएको छ। उता मंगलबारदेखि नै सिल गरिएको कटारी बजारमा नगरपालिकाले सुकुम्बासी बस्तीका घर डोजरले भत्काएपछि रातभर कटारी तनावग्रस्त रह्यो।

प्रकाशित: ६ जेष्ठ २०७८ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App