१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिड अस्थायी अस्पतालमा चिकित्सक अभाव

स्थानीय तहमा स्थापना भएका कोभिड अस्पतालमा चिकित्सक छैनन्। कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले प्रत्येक स्थानीय तहमा कोरोना अस्थायी अस्पताल खोल्न बजेट बिनियोजन गरे पनि बैतडीका स्थानीय तहमा भने चिकित्सक छैनन्। संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा रहेका हुन्।

सिगास गाउँपालिकाले चिकित्सकको लागि तीनपटक आवेदन आह्वान गर्‍यो। तर मेडिकल अधिकृतमा कोही नआएपछि नर्सको भरमा अस्पताल सञ्चालनमा छ। चिकित्सक नपाएपछि समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका ६ वटा स्थानीय तहहरुले अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको छ।

मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि तीन पटक जनशक्ति माग गरिए पनि नपाएको जनाइएको छ। सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । तर चिकित्सकविहीन अस्पताल एक जना नर्सले धानेकी छिन्।

विकट र सेवा सुविधाको अभावमा मेडिकल अधिकृत आउन नमानेको जिल्ला अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। ‘छोटो समयको लागि भएकाले पनि मेडिकल अधिकृतमा आउन नचाहेको हुन सक्छ,’ उनले भने। कोभिडका बिरामीहरु बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सककै अभाव छ । यसले गर्दा उनीहरुको उपचारमा समेत समस्या भइरहेको छ।

स्थानीय तहहरुमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका संक्रमितको पनि स्थानीयस्तर मै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाख  रुपैयाँ बजेटमध्ये स्थानीय तहहरुले पाँच लाख बेड लगायतका सामग्री खरिद, ५० हजार बराबरको औषधि खरिद र ४ लाख ५० हजार  रुपैयाँ जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने प्रावधान छ। बैतडीमा बुधबारसम्म ८ सय ९८  सक्रिय संक्रमित छन् भने १० जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App