दोस्रो लहरको कोराना संक्रमणको बढी प्रभाव काठमाडौं उपत्यकामा परेको छ। जनसंख्या धेरै भएको यो सहरमा दैनिक सयौंको संख्यामा सिकिस्त बिरामी अस्पताल पुग्छन्। आइसियु, अक्सिजन र बेडको अभावमा धेरै दिन गुज्रिए। यी दिनहरू बिरामीसँगै चिकित्सकका लागि निकै चुनौतीपूर्ण बनेका छन्।
सिभिल अस्पतालका श्वास–प्रश्वास तथा छातीरोग विशेषज्ञ डा. विदेश बिष्टका लागि गत वर्षको भन्दा यो वर्षको भोगाइ फरक महसुस भइरहेको छ। कोभिड आइसियुमा खटिरहेका उनका लागि हरेक दिन चुनौतीपूर्ण बनेका छन्। दैनिक सयौं फोन आउँछ। तीमध्येमा ८/९ वटा फोन साथीभाइको हुन्छ, उनीहरू आइसियुका लागि गुहार लगाइरहेका हुन्छन्। यता अस्पतालमा आइसियु भरिएको हुन्छ। उपचारमा रहेको बिरामीलाई निकाल्ने कुरै भएन। एक दिन बुवालाई कोभिड लागेको भन्दै एक साथीले गुहार मागे। तर डा. बिष्टसँग कुनै उपाय थिएन। त्यसको दुई दिनपछि साथीको बुवाको निधन भएको खबर पाए। यो अवधिमा उनीसँग यस्ता धेरै तीता अनुभव छन्।
‘आइसियु चाहियो भनेर फोन आउँछ, खोज्दाखोज्दै बिरामीको मृत्यु भइसकेको हुन्छ’, डा. बिष्टले भने, ‘आफैं डाक्टर भएर पनि हेल्पलेस हुँदा मनमा धेरै पश्चात्ताप हुँदो रहेछ।’ बचाउँछु भनेर मेहनत गरेका बिरामीलाई बचाउन नसक्दाको क्षण पनि पीडा बोकेर काममै खटिनुपर्छ। ‘तीनजना डाक्टर साथीले बुवा गुमाए’, उनले भने।
‘आइसियु चाहियो भनेर फोन आउँछ, खोज्दाखोज्दै बिरामीको मृत्यु भइसकेको हुन्छ’, डा. बिष्टले भने, ‘आफैं डाक्टर भएर पनि हेल्पलेस हुँदा मनमा धेरै पश्चात्ताप हुँदो रहेछ।’ बचाउँछु भनेर मेहनत गरेका बिरामीलाई बचाउन नसक्दाको क्षण पनि पीडा बोकेर काममै खटिनुपर्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाका लागि गत वर्षभन्दा यो वर्ष पीडादायी बन्दैछ। गत वर्ष मृत्यु हुने संक्रमितमा वृद्धवृद्धा बढी हुन्थे। यो वर्ष अस्पताल पुगेर पनि धेरै युवाको आँखै अघि कोरोना संक्रमणका कारण मृत्यु भयो। गत वर्षभन्दा कडा लक्षण लिएर बिरामी आउनु, आएका जति सबैलाई अक्सिजन चाहिने, भेन्टिलेटर चाहिने तर सबै भरिभराउ हुने। एक्कासि धेरै संख्यामा बिरामी आउँदा अस्पतालमा स्वास्थ्यकर्मीसमेत थाकिसकेका छन्। थाकेकै बेला उनीहरू बिदा नलिईकन खटिनुपरेको छ। ‘जब आइसियु नै नपुगी युवाको आकस्मिक कक्षमै मृत्यु हुन्छ, मलाई असाध्यै दिक्क लाग्छ’, बास्तालाले भने।
राजधानीमा कोरोना संक्रमण एक्कासि बढेपछि अस्पतालहरूले गत वर्षभन्दा यो वर्ष ठूलो चुनौती झेल्नुप¥यो। ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेको अनुभव यस्तै छ। ‘अक्सिजनबिना मेसिनले मात्र चलेन, कोभिडका बिरामीलाई हाइफ्लोको अक्सिजन चाहिन्थ्यो, हामी बिरामी अन्तै पठाउन विवश थियौं, अन्त पनि ठाउँ थिएन’, निर्देशक डा. पाण्डेले भने, ‘केही गर्नै नसकिने स्थितिसँग जुध्नुपर्यो।’
यो अवधिमा अस्पतालप्रति पूरै विश्वास लिएर आएका बिरामीले विश्वास गुमाउनुपरेका क्षणहरू छन्, जसले उनलाई घरिघरि पीडा दिन्छ। आफन्तका परिवारमा पाँचैजना संक्रमित भए। तर अस्पतालमा एउटामात्र बेड खाली थियो। कसलाई प्राथमिकता दिने ? अप्ठेरो पर्यो। आइसियु पर्खिंदापर्खिंदै साथीका बुवाको मृत्यु भयो। यो कुराले डा. पाण्डेलाई असाध्यै पीडा भयो। महामारीको बेला कुनै एउटा अस्पताल, सरकारले मात्र व्यवस्थापन गर्न नसक्ने रहेछ भन्ने शिक्षा यो भोगाइबाट सिकेको उनी बताउँछन्। ‘परेपछि त्यसबाट भाग्न सकिन्न, सबै मिलेर काम गरेमा महामारी नियन्त्रण गर्न सकिन्छ’, उनले भने।
ह्याम्स अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार गरिरहेका डा. राजु पंगेनीको छुट्टै अनुभव छ। पहिलो लहरका बिरामीलाई थोरै अक्सिजन दिँदा पनि श्वास फेर्न सक्थे। तर यसपटक कम उमेरका बिरामी पनि धेरै अक्सिजन कम भएर उपचारमा आउँदा अस्पतालको क्षमताले न आइसियु दिन सक्थ्यो, न अक्सिजन। उनी भन्छन्, ‘यो पालिको कोरोनाले छिटो सिकिस्त बनाउँदोरहेछ। एकै पटक धेरैजना सिकिस्त भएर आउँदा सबैले पर्याप्त हेरचाह पाएनन्। समयमै हेरचाह नपाउँदा कतिको वार्डमै मृत्यु भयो।’
‘आइसियु र वार्डमा उस्तै सिकिस्त बिरामी हुँदा उमेर समूहअनुसार बिरामी प्राथमिकतामा पथ्र्यो, यस्तो बेला युवालाई प्राथमिकता दियौं’, उनले थपे। आफन्तै आउँदा पनि भेन्टिलेटर दिन नसकेपछि मृत्यु भएका धेरै घटना छन्। आफन्तलाई सहयोग गर्न नसक्दा साथीकै बुवा–आमाको मृत्यु भएको डा. पंगेनी बताउँछन्। ‘स्वास्थ्यकर्मीलाई नै बेड दिन नसक्दा हरेक दिन मनमा पश्चात्ताप लिएर काम गर्नुपरेको छ’, उनले भने। कति संक्रमित ढिलो अस्पताल पुग्छन्। उनीहरूलाई बचाउन नसक्दा डाक्टरको मन कुँडिन्छ। ‘अलिकति छिटो आइदिएको भए बचाउन सकिन्थ्यो’, उनले भने।
सशस्त्र प्रहरी बल अस्पतालका कोेभिड–१९ उपचार संयोजक डा. प्रविन नेपाल उपत्यकामा कोरोना महामारी सुरु भएयता हरेक दिन दुःखी छन्। एकातिर बिरामीको व्यवस्थापनमा दिनरात खट्नुपर्ने, अर्कोतिर खटेर खटेजस्तो नहुने। ‘अक्सिजन र आइसियु पाएका बिरामीको मृत्यु हुँदा त्यति दुःख लाग्दैन, पछुतो हुँदैन। तर आइसियु र अक्सिजन नपाएका कारण मृत्यु हुँदा मन दुख्छ, पीडा गहुँगो हुन्छ’, उनले भने, ‘सबैजसो चिनेकै मान्छे बाँच्ने आशा लिएर आउँछन्, उनीहरूलाई भनेकै बेला अक्सिजन दिन नसक्दा हरेक दिन नरमाइलो लागिरहन्छ।’
प्रकाशित: ६ जेष्ठ २०७८ ०१:१९ बिहीबार