१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप

फाइल तस्बिर

भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। यहाँका अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्। बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।

 त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण अस्पताल नेपालगन्जमा ११ जना संक्रमितले उपचार गराइरहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए। 

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबले सार्वजनिक गरेको पिसिआर रिपोर्टअनुसार तीन दिनयता संक्रमित हुने दरमा पहिलाको तुलनामा केही कमी आएको छ। ‘जिल्लामा कोरोना संक्रमित हुनेको संख्या अलिकति घटेको छ तर होम आइसोलेसनमा बसेका र बाहिरी जिल्ला अस्पतालमा उपचार गराएर निको नभएका बिरामी आइरहेकै छन्,’ पाण्डेले भने, ‘अस्पतालमा अब सिरियस खालका बिरामी धेरै छन्, त्यसकारण मृत्युदर पनि रोकिएको छैन।’

नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेठ पनि शिक्षण अस्पतालमा विशेषगरी सिकिस्त बिरामीको चाप परेको बताउँछन्। ‘हाम्रो यहाँ जिल्लाबाहिरका अस्पतालले रेफर गरेका र होम आइसोलेसनमा धेरै दिनसम्म बसेर निको नभएका संक्रमित आइरहेका छन्, बचाउने कोसिस गर्दागर्दै पनि केही बिरामीको मृत्यु भइरहेको छ,’ उनले भने। अस्पतालमा अक्सिजन र जनशक्ति कमी भइरहेको डा. श्रेष्ठले बताए। ‘संक्रमित हुनेको संख्या कम भए पनि सिकिस्त बिरामी आउने चाप कत्ति घटेको छैन,’ उनले भने।

दिनमा भन्दा रातमा बढी मृत्यु

अस्पतालहरूमा दिनमा भन्दा रातको समयमा संक्रमितको मृत्यु बढी हुने गरेको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दैनिक रूपमा सार्वजनिक गर्दै आएको तथ्यांक हेर्दा मृतकमध्ये धेरैको मृत्यु रातमा भएको देखिन्छ। रातिको समयमा धेरैको मृत्यु हुन थालेपछि नागरिक स्तरबाट चासो व्यक्त गर्न थालिएको छ। नागरिक अगुवाले यस्तो हुनुमा उपचारमा कतै प्राविधिक गडबढी त होइन भनी प्रश्न उठाएका छन्।

अस्पतालहरूले यसबारे आधिकारिक रूपमा बताएका छैनन्। केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पताल र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप १७ जनाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको रातको समयमा मृत्यु भएको हो। भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। यसअघिका रिपोर्टमा पनि दिनमा भन्दा रातमा बढी मृत्यु भएको देखिन्छ। रातमा एउटै समय र ५ देखि १० मिनेटको फरकमा धेरैको मृत्यु भएको पाइएको छ। केन्द्रको तथ्यांकअनुसार संक्रमणबाट अहिलेसम्म बाँकेका २ सय ५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ सय ९ जनाको मृत्यु भएको छ।

संक्रमितको रातमा मात्र किन धेरै मृत्यु भइरहेको छ ? भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे अस्पतालमा अहिले सिकिस्त बिरामी धेरै भएकाले उनीहरूलाई बचाउन कठिन भइरहेको र अर्को कुरा दिनभन्दा रातमा उपचार गर्न केही कठिन हुने भएकाले मृत्यु धेरै भएको हुनसक्ने अनुमान गर्छन्। उनले भने, ‘रातमा मान्छे बढी थकित हुन्छ, स्वास्थ्यकर्मी पनि मान्छे नै हुन्, दिनभरको कामले उनीहरू थाक्छन्, बिरामीको हेरचाह दिनमा भन्दा रातमा स्वाभाविक रूपले कम हुन्छ।’ डा. पाण्डेले दिवाभन्दा रात्री बस बढी दुर्घटनामा पर्नुको कारण पनि यस्तै भएको बताए।  

बिरामीका कुरुवा पनि रातको समयमा चिकित्सक र नर्सको उपस्थिति कम हुने बताउँछन्। भेरी अस्पतालमा बुवाको उपचार गराइरहेका एक कुरुवाले भने, ‘रात परेपछि स्वास्थ्यकर्मी वार्डमा कमै मात्र देखिन्छन्, रातको समयमा बिरामीले स्वास्थ्यकर्मीबाट त्यति केयर पाउँदैन।’

प्रकाशित: ६ जेष्ठ २०७८ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App