६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा होम आइसोलेसनले फैलाउँदै संक्रमण

जुम्लाका कोरोना संक्रमित होम आइसोलसनमा बस्न थालेपछि गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिइएको छ।

अहिले यहाँका अधिकांश संक्रमित होम आइसोलेसनमा नाममा घरमै बसेका छन्। कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होम आइसोलेसनका कारण जुम्लाका कोरोनाको उच्च जोखिममा रहेको बिषयमा छलफल भएको थियो।  

संविधान सभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए। उनले भने, ‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन।’

संविधानसभा सदस्य शाहीले चन्दननाथ नगरपालिकाको संक्रमणदर उच्च रहेको र  संस्थागत आइसोलेसन बनाउन आनकानी गरेको देखिएकोले यथासिघ्र संक्रमण रोक्न संस्थागत आइसोलेसन बनाउन सुझाव दिए। उनले नागरिकको ज्यानमा खेलवाड नगर्न आग्रह गरेका थिए।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसजन निर्माणका लागि अन्य स्थानीय तहभन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताए। जनघनत्व बढी भएको र भीडभाड बढी हुने क्षेत्र भएकोले सक्रमण दर पनि उच्च नै छ।

प्रमुख सार्कीले भने, ‘बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा तथा प्रदेश सरकारलाई बजेट व्यवस्थाको लागि आग्रह गरौँला। तर नगरपालिकाभित्र मापदण्ड सहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ। यो अहिलेको आवश्यकता पनि हो।’

बैठकमा सहभागी सबैले होम आइसोलेसनले संक्रमण तीव्र रुपमा फैलदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिएका थिए। जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेको स्थानीय तहमा संस्थागत आइसोलेसन बनाउनुपर्ने बताएका थिए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि संस्थागत आइसोलेसनमा जोड दिएका थिए। उनले भने, ‘कोरोना संक्रमण रोक्न सबै तह र तप्काको सहयोगको खाँचो छ। होम आइसोलेसनमा जोड दिएर नागरिकको स्वास्थ्य अधिकारमाथि खेलबाड नगरौँ। संस्थागत आइसोलेसन बनाऔँ। संक्रमित राखेर कोरोनामुक्त भएपछि घर पठाउने व्यवस्था गर्नु उपयुक्त हुनेछ।’

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकताअनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया शुरु गर्ने बताइन्। उनले भनिन्, ‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला।’    

यसैबीच बैठकले जुम्लाको चन्दननाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निणय भएको छ। त्यसका लािग चन्दननाथ १ र चन्दननाथ ९ वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। यसअघि जुम्लामा शवघाटको अन्योलताले संक्रमितको मृत्यु भएको खण्डमा कहाँ लैजाने भन्ने समस्या थियो। अब त्यो समस्या यो निर्णय भइसकेपछि समाधान भएको छ।  

बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाणिज्य संघको हलमा आवश्यकताअनुसार संस्थागत आइसोलेसन तयार गर्ने  निर्णय गरेको छ। उद्योग वाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणको लागि हल खाली रहेको यसअघि बसेको डिसीसीएमसीको बैठकमा जानकारी गराएको थियो। 

प्रकाशित: ४ जेष्ठ २०७८ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App