८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना कहरले बढाउँदै मनोवैज्ञानिक समस्या

कोरोना कहरले सर्वसाधारणमा मनोवैज्ञानिक समस्या बढिरहेको पाइएको छ। जिल्लाको अधिकांश भागका सर्वसाधारणमा कोरोनाको कारणले मनोवैज्ञानिक समस्या बढिरहेको देखिएको चिकित्सकहरुले बताएका छन्।  

सामान्य रुघा लाग्दा पनि कोरोना पो हो कि? भनेर दैनिक दर्जनौँ फोन आउने गरेको चन्द्रनिगाहपुर अस्पताल प्रालिका प्रमुख चिकित्सक डा. सुबास चौधरी बताउँछन्। रुघा लाग्दा वा अन्य कारणले अलिकति टाउको दुख्दा पनि सर्वसाधारणले कोरोनाको लक्षण हो कि होइन भन्दै डराएर मानिसहरुले फोन गर्ने गरेको र कतिपय मानिस त उपचारको लागि पनि आउने गरेको डा. चौधरीको भनाइ छ।

कोरोनाको कहर बढिरहेको सबैजसो संचार माध्यममा आइरहेको कारण सर्वसाधारणमा यस्तो समस्या आएको चिकित्सकहरुको भनाइ छ। कतिपयले राती पनि डर लाग्ने, नराम्रो सपना देख्ने तथा खान मन लाग्ने , रिसाउने, झर्किने तथा आफैप्रति शंकाको दृष्टिले हेर्ने गरेको जस्तो समस्या लिएर चिकित्सककहाँ पुग्ने गरेको पनि देखिएको छ ।

मनोविमर्शकर्ता रेणु गुप्ताले सबै किसिमका संचार माध्यममा कोरोनाको बिरामी बढेको तथा मृत्यु भइरहेको समाचार आइरहँदा सर्वसाधारणको मनोविज्ञानमा नै डर उत्पन्न भइसकेको हुनुपर्ने बताएकी छन् । सामाजिक संजालहरु पनि दुःखद खबरले भरिएको र श्रद्धान्जलि तथा समवेदना दिएको फोटोहरु आइरहेको हुनाले सामाजिक संजालमा सक्रिय रहनेले पनि यस किसिमको समस्या भोग्नु परेको मनोविमर्शकर्ता गुप्ताको भनाइ छ ।

सकारात्मक चिन्तनतर्फ ध्यान दिने, मन परेको संगीत सुन्ने, साहित्यका किताबहरु पढ्ने तथा बूढापाकाशरुबाट लोककथा र तिनीहरुको जीवनी पनि सुन्ने हो भने धेरै हदसम्म ध्यान हटाउन सहयोग मिल्ने मनोविमर्शकर्ता गुप्ताको भनाइ छ । साहित्य सिर्जन तथा पठनमा समयको उपयोग पनि गर्न सकिने गुप्ताको कथन छ । मनोवैज्ञानिक समस्या हुनेलाई सबैभन्दा सजिलो उपाय योग र ध्यान भएको पनि गुप्ताको भनाइ छ ।  

जिल्ला अस्पताल गौरमा कार्यरत डा. घनश्याम ठाकुर अहिले अस्थायी कोभिड अस्पतालमा विरामी र विरामीका आफन्तमा मनोवैज्ञानिक त्रास देखिएको बताएका छन् । बिरामी नभएका मानिसले पनि दिनहुँ आफूलाई डर लागिरहेको भनी फोन गर्ने गरेको बताउँदै अन्य किसिमका बिरामीलाई पनि कोरोना नै पो हो कि भनेर आफन्तले फोन गर्ने गरेको स्वीकार्छन् ।  

अहिले कोरोना कहरको समयमा झन्डै सबै शिक्षितले पर्याप्त सतर्कता अपनाइरहेको र अलिकति कुनै समस्या देखिनासाथ अत्यधिक डराइरहेको डा. ठाकुरको अनुभव छ । कोरोनाको समयमा मनोविज्ञानलाई बलियो बनाइराख्नु पर्ने आवश्यकता रहेको पनि डा. ठाकुरको कथन रहेको छ ।  

रौतहटमा कोरोना संक्रमण र कोरोनाको कारण मृतकको संख्या हरेक दिन बढिरहेको कारण पनि सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको चिकित्सकहरुको भनाइ छ । यद्यपि रौतहटमा निषेधाज्ञालाई कडा पारिएकोले केही दिनमै रौतहटमा कोरोना नियन्त्रणमा आउने तथा सर्वसाधारणको मनबाट कोरोनाको त्रास विस्तारै कम भएर जाने डा. ठाकुरको अनुमान रहेको छ ।  

जिल्लाको सम्पूर्ण भागमा कोरोनाको कहर फैलिएको र कोरोना कहर सँगसँगै मनोवैज्ञानिक त्रास पनि फैलिएको छ । यस्तो विषम परिस्थितिमा हरेक व्यक्तिले आफ्नो मनोविज्ञानलाई सकारात्मक चिन्तनतर्फ लैजाँदै मनमनै आफूलाई बलियो बनाउनु परेको चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित: २ जेष्ठ २०७८ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App