१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

छटपटाउँदै संक्रमित, बेपर्वाह मन्त्री

सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहको पछिल्ला गतिविधिबाट उनी कोरोना संकटप्रति बेपर्वाह देखिएको पुष्टि हुन्छ। साह बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई लिएर दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थल घुमफिरमा व्यस्त भए।

मन्त्रीद्वयको व्यस्तता सप्तरीस्थित बैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षणमा देखियो। प्रदेशको स्वास्थ्य अवस्थाको जिम्मेवारी समालेका सामाजिक विकासमन्त्री साहको गृहजिल्ला सप्तरीमा कोरोना संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको छ। संक्रमितको एकमात्र सहारा गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था बेहाल छ। आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने जनशक्ति संक्रमित भएर आफैंं उपचारमा छन्। 

संक्रमितले अक्सिजनको भरमा जेनतेन सास फेरिरहेका छन्। तर मन्त्री साहले यो बेहाल यस प्रदेशमा मात्रै हो र भन्दै निरीहता प्रदर्शन गरिरहेका छन्। ‘हामीले आफ्नो औकातले भ्याएसम्म सबै गरेका छौं,’ उनले नागरिकसँग भने, ‘तीनवटा भेन्टिलेटरबाट ६५ वटा भेन्टिलेटर जोड्न सफल भयौं। एउटै पिसिआर नभएको अवस्थामा सबै जिल्लामा पिसिआर मेसिन जोड्यौं। अस्पतालहरूको स्तरवृद्धि गरेका छौं।’ उनले भनेका यी कार्य प्रदेश सरकारले गत वर्ष नै गरेको हो। अस्पतालहरूको स्तरवृद्धिको निर्णय भयो तर जनशक्ति छैन। भेन्टिलेटर थपियो तर सञ्चालन गर्ने जनशक्ति छैन।

कोरोनाको पहिलो लहरमै मनिपाल अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएको थियो तर सामाजिक विकास मन्त्रालयले अहिलेसम्म पनि निर्णय कार्यान्वयन गर्न सकेको छैन। मन्त्री साह भन्छन्, ‘रातारात अस्पताल निर्माण गर्ने र जनशक्ति पैदा गर्ने हाम्रो औकात छैन। तीन वर्षमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायौं,’ उनले भने, ‘अब बिस्तारै मेडिकल जनशक्ति पैदा हुन्छ।’ प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य संरचना, सामग्री र जनशक्ति अभावका कारण उपचारमा बाधा पुगेको छ। समस्या समाधानतर्फ सम्बन्धित मन्त्रीहरूको चासो पनि देखिँदैन। उनीहरू मन्दिर र पोखरी सौन्दर्यीकरणकै शिलान्यासमा व्यस्त देखिन्छन्।

मन्त्री साहको गृहजिल्ला सप्तरीमा पछिल्ला तीन दिनमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार तीन दिनमा अस्पताल लैजाने क्रममा ११ जनाको मृत्यु भएको हो। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि सप्तरीमा २० जनाको मृत्यु भएको तथ्यांक छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरीमा बिहीबार ७३ जना संक्रमित थपिएका छन्। योसमेत जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ८३ पुगेको छ। दोस्रो लहरमा संक्रमित भएकामध्ये अहिलेसम्म ९ जनामात्र निको भएका छन्।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक साताअघि जडान गरिएको भेन्टिलेटर बिरामी नराख्दै बन्द भएको छ। प्राविधिक समस्या र स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उक्त सेवा तत्कालका लागि बन्द भएको हो। अस्पतालमा ४ वटा भेन्टिलेटरसहित २५ शय्याको एचडियु (हाई डिपेन्डेन्ट युनिट) वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याइएको हो। अहिले ती सबै शय्यामा संक्रमित रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले बताए। उनीहरूलाई ‘हाईफ्लो’ अक्सिजन दिनुपरेको छ। उनले तत्काल भेन्टिलेटर सञ्चालन नहुने बताए। भेन्टिलेटर बन्द हुँदा गम्भीर प्रकृतिका बिरामी फेरि विराटनगर र धरानकै अस्पतालमा भर पर्नुपर्ने भएको छ।  

निषेधाज्ञाको अवज्ञा

कोरोना संक्रमण र मृत्युदर रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामै बिहीबार सप्तरीको सुरुंगा नगरपालिका–१० सिसवामा पोखरीको मध्य भागमा काठको स्तम्भ (जाइठ) राख्न गाउँभरिका मानिस भेला भए। सिसवाका नथुनी यादवले ४१ वर्षअघि गाउँमै खनाएको पोखरीको मध्य भागमा काठको स्तम्भ राख्न बिहीबारको तिथि तय गरेका थिए। पूजापाठ गरी पोखरीमा स्तम्भ राख्न उनका नाता कुटुम्ब र गाउँवासी ओइरिएका थिए। स्तम्भ राखिएपछि नथुनीले आफ्नो घरमा बृहत् भोजसमेत लगाए।

जनकपुरमा बन्दै कोभिड अस्पताल

जनकपुरधामको मुजेलियास्थित १५ वर्ष पुरानो मनिपाल शिक्षण अस्पताललाई मनिपाल कोभिड विषेश अस्पताल बनाउन काम भैरहेको छ। भवनको भौतिक संरचना सुधार, रङरोगन र झयाल ढोकाको काम सुरु भएको छ। प्रमुख इन्जिनियर भगवान झाका अनुसार अबको १३ दिनमा भौतिक संरचना निर्माणको काम पूरा हुन्छ। सय बेडको अस्पतालमा भेन्टिलेटर, आइसियुसहितको सुविधा हुने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ७७५१ छ। दैनिक संक्रिय संक्रमित पाँच सय माथि छ। निको हुने दर ५० छ।

प्रकाशित: ३१ वैशाख २०७८ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App