२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन अभावले उपचारमा बाधा

त्रिवि शिक्षण अस्पताल परिसरमा अक्सिजन लिँदै कोरोना संक्रमित । बिरामीको चापसँगै अस्पतालमा शड्ढया अभाव भएपछि गल्ली र पेटीमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता आएको छ । पछिल्ला दिनमा त अक्सिजन अभावले पनि उपचारमा बाधा पुगेको छ । तस्बिर : केशव थोकर/नागरिक

अक्सिजन अभावले राजधानीका कोभिड अस्पतालहरूमा भर्ना भएका कोरोनाका बिरामीको उपचारमा संकट थपिएको छ । सरकारले बनाएको संकट व्यवस्थापन समिति (सिसिएमसी) ले मंगलबारदेखि एकद्वार प्रणालीबाट अक्सिजन सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि सरकारी र निजी दुवै अस्पतालको उपचार प्रभावित भएको छ । यसअघि उनीहरूले उत्पादक कम्पनी तथा बिक्रेताबाट सिधै अक्सिजन सिलिन्डर खरिद गरी सेवा दिएका थिए ।  

सरकारले तोेकेको कोटाअन्तर्गत बिरामीलाई अक्सिजन अपुग भएको गुनासो अस्पतालहरूको छ । राजधानीका धेरैजसो निजी अस्पतालहरूले बुधबार पे्रस विज्ञप्तिमार्फत अक्सिजन अभावमा कोभिड १९ का नयाँ बिरामी भर्ना लिन नसकिने स्थिति आइलागेको जनाएका छन् । सरकारी अस्पतालहरूले पनि बिरामीको चाप अनुसार अक्सिजन अपुग भएको जनाएका छन् ।

अक्सिजन अभावले चाहिने मात्रामा बिरामीलाई दिन नसकेको कोरोना अस्पताल भक्तपुरले जनाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमका अनुसार अहिले अस्पतालमा ७५ जना बिरामी छन् । ती बिरामीका लागि दैनिक २ सय ५० भन्दा बढी अक्सिजन सिलिन्डर चाहिन्छ । तर सिसिएमसीले उक्त अस्पतालका लागि ५० मात्र सिलिन्डर दिने निर्णय गरेको छ । सरकारले तोेकेको सिलिन्डर त ६ वटा आइसियुका लागि मात्र पुग्ने र बाँकी बिरामीको लागि अपुग हुने उनको भनाइ छ । चाहिने मात्रामा अक्सिजन नपाउने भएपछि नयाँ बिरामी भर्ना लिन छोडेको डा. गौतमले बताइन् । ‘अक्सिजन अभावका कारण कोरोनाका नयाँ बिरामी भर्ना लिने अवस्था छैन । अक्सिजनबिना भर्ना गरेर बिरामीलाई टुलुटुलु हेरेर बस्न सकिँंदैन’, उनले भनिन् । उनले अक्सिजन अभावमा बिरामी पनि तड्पिन थालेको बताइन् ।

वीर अस्पतालले अक्सिजन अभावकै कारण थप शड्ढया बिस्तार गर्न नसकेको जनाएको छ । निर्देशक डा. शान्ता सापकोटाका अनुसार अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट उत्पादनबाहेक दैनिक ५ सय ५० सिलिन्डर खपत हुन्छ । तर सरकारले वीर अस्पताललाई हालका लागि दैनिक ३ सय सिलिन्डर अक्सिजन दिने भनेको छ । ‘हाम्रो अस्पतालको अक्सिजन प्लान्टको क्षमताभन्दा माग बढी छ’, उनले भनिन् ।

अस्पतालको क्षमताभन्दा बढी बिरामी हुनुले व्यवस्थापनमा सकस परेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले अक्सिजन व्यवस्थापनकै विषयले तनाव भएको बताए । ‘अक्सिजनको हाहाकार छ, हाम्रो उत्पादनले सामान्य बिरामीलाई पनि पुग्दैन, अहिले कोभिड १९ का पनि बिरामी दिनदिनै थपिएका छन्,’ उनले भने । सरकारले तोकेको कोटाअनुसार बुधबार सिलिन्डर नपठाएपछि हम्मे परेको उनले बताए । ‘करिडोरमा रहेका बिरामीलाई पालैसँग पाइपलेटको आउटलेटबाट अक्सिजन दिएका छौं’, उनले भने । अधिकारीका अनुसार भर्नाका लागि पालो कुरेर बसेका बिरामीले अक्सिजन नपाएमा कुनै पनि बेला मर्ने स्थिति छ । सिलिन्डरसमेत सर्भिसिङ गर्नु परेकाले थप संकट परेको अस्पतालले जनाएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप ४ सय शड्ढया बिस्तार गर्न नसकेको जनाएको छ । अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले नपुगेपछि दिनहुँ बाहिरबाट ल्याएर बिरामीलाई दिनुपरेकोे छ ।  

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको लिक्विड प्लान्ट ट्रमा सेन्टरलाई आधा दिएपछि थप संकट परेको हो । ‘अक्सिजन पुर्‍ययाउन पापड बेल्नु पर्छ’, उनले भने ।

कोभिड १९ संकट व्यवस्थापन समितिको अक्सिजन आपूर्तिसम्बन्धी निर्णयसँगै निजी अस्पतालहरू बयोधा, नेपाल मेडिसिटी, ग्रान्डीलगायतले प्रेस विज्ञप्ति जारी गरी कोरोनाका नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएका छन् । यस बिषयमा कोभिड १९ संकट व्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्य मन्त्रालयका विज्ञ महेन्द्र श्रेष्ठले सरकारले सबै अस्पतालमा पहुँच पुर्‍ययाउन कोटा सिस्टम लागु गरेको जनाए ।  

नेपालको उत्पादन क्षमताभन्दा दोब्बर माग भएकाले अक्सिजन अभाव भएको हो । अहिले बजारमा १५ हजार सिलिन्डर अक्सिजन माग छ तर उत्पादन भने ८ हजार ५ सय सिलिन्डर मात्र छ ।

प्रकाशित: ३० वैशाख २०७८ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App