१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पताल भवन : शिलान्यास भए, बनेनन्

त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले प्रारम्भिक स्वास्थ्य सेवा अस्पताल भवन निर्माणको लागि गत वर्षको मंसिर १५ गते तामझामका साथ भवनको शिलान्यास गरिन्। तर, भवन निर्माणको लागि शिलान्यास भएको ६ महिना बित्दासमेत भवन निर्माणको सुरसार भएको छैन।

सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि  सदरमुकामको अस्पतालमा जानुपर्ने बाध्यता सर्वसाधारणको छ।

अस्पताल निर्माणको लागि सुरसारसम्म नभएपछि सर्वसाधारण निरास बनेका छन्।

देशैभरका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने सरकारको लक्ष्यअनुसार २०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैंया उपलब्ध गराउने निर्देशन गरेको थियो। देशैभर रहेका स्थानीय तहले आधारभूत अस्पताल निर्माणको लागि एकैसाथ भवन शिलान्यास गरेका थिए।

हमाली जिल्ला डोल्पाका ८ ओटा स्थानीय तहमध्ये पहिलो चरणमा आधारभूत अस्पताल निर्माणको लागि यहाँका तीनवटा स्थानीय तह छनोट भएका थिए।

जिल्लाका आठवटा स्थानीय तहमध्ये डोल्पोबुद्ध गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा अस्पताल निर्माणका लागि छनोटमा परेका थिए।

सरकारले छनोट गरेपनि तीनवटै स्थानीय तहमा अस्पताल बनाउने जग्गा टुंगो नलाग्दा तीनवटै स्थानीय तहमा अस्पताल निर्माण कार्य यत्तिखेर अन्योलमा परेको छ।

स्थानीय समाजसेवी टंकप्रसाद उपाध्यायले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा गत वर्षको मंसिर १५ मा भवन निर्माणको लागि शिलान्यास गरिएपनि अझै दश रोपनी जग्गा नपुगेपछि निर्माण कार्य शुरु हुन नसकेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीले बताए।

ठेक्का भइ सकेपनि जग्गा नपुग्दा अस्पताल निर्माण प्रक्रिया अन्योलमा परेकाले छिट्टै जग्गाको टुंगो लगाएर निर्माण कार्य अघि बढाइने गिरीको भनाइ छ।

अस्पतालका लागि पहिलो चरणमा एक करोड रुपैयाँ समेत प्राप्त भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ। त्यसैगरि उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पनि अस्पताल निर्माण कार्य अन्योलमा परेको छ। गाउँपालिकाको केन्द्रमा बनाउने भनिएको अस्पतलाको अहिलेसम्म विस्तृत योजना प्रतिवेदन(डिपीआर) गर्ने कामसमेत हुन सकेको छैन।

सरकारको लक्ष्यअनुसार दश शय्याको अस्पताल निर्माण गर्ने भनेर पहिलो चरणमा ८५ लाख बजेट प्राप्त भएको तर जग्गा नपुग्दा निर्माण कार्यसमेत अन्योलमा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पज्ञांनीले बताए।

उनले अस्पतालको डिपीआरसमेत नभएकाले यसपटकको बजेट फ्रिज जानसक्ने सम्भावना रहेको बताए।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ मा बनाउने भनिएको पाँच शय्याको अस्पताल पनि जग्गा नपुग्दा शिलान्याससमेत हुन सकेको छैन।

सरकारबाट आधारभूत अस्पताल निर्माणका लागि पहिलो चरणमा ७४ लाख रकम प्राप्त भएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए। अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा नपाइएकाले ठेग्का प्रक्रिया नै नभएको शाहीको भनाइ छ।

प्रकाशित: २८ वैशाख २०७८ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App