१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप १३९ को मृत्यु,स्वास्थ्य संकटकाल घोषणाको तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका पे्रस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए। उनका अनुसार प्रस्तावमा स्वास्थ्य संटकाल घोषणा गरी केही समयका लागि देशैभरि लडकाउन गर्ने उल्लेख छ। ‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भने। प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषद्मा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोरोनाबाट थप १३९ जनाको मृत्यु

कोरोना संक्रमणको कारण थप १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यिनको मृत्यु कहिले कहिले भएको भन्ने भने मन्त्रालयले खुलाएको छैन। यीमध्ये ७४ जनाको मृत्यु बितेको २४ घण्टामा भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। मृत्यु भएमध्येमा धेरैजसो काठमाडौं उपत्यकाभित्रका रहेको उनले जानकारी दिए।

गत २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको छ। गत २४ घण्टामा १८ हजार ४ सय ११ वटा नमुना परीक्षण भएका थिए। यो हिसाबले संक्रमणदर ५० दशमलव ३५ प्रतिशत पुगेको छ। सोमबारको संक्रमणदर अहिलेसम्मकै उच्च हो।

थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ४ लाख ३७ हजार ९४ पुगेको छ। तीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ८६ हजार ४ सय २६ जना होम आइसोलेसनमा र ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी ९ सय १० जना आइसियुमा र २ सय ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

चैतको अन्तिम सातायता कोरोनाबाट ८ सय ६५ जनाको मृत्यु भइसकेको छ। दोस्रो लहरको कोरोना संक्रमण हवात्तै बढेपछि समुदायमा रहेका वृद्ध, दीर्घरोगी र धेरै रोग भएका व्यक्तिको मृत्यु भएको केन्द्रका प्रमुख डा. पौडेलको दाबी छ। चिकित्सकले भने अस्पतालमा आइपुगेका बिरामीको समेत कोभिड निमोनियामा चाहिने आवश्यक अक्सिजन तथा हेरचाहको अभावमा मृत्यु हुने गरेको जनाएका छन्। वीर अस्पतालका फिजिसियन डा. धु्रव गैरेका अनुसार अस्पतालमा पुगेका ९० प्रतिशत बिरामी अक्सिजन चाहिने र धेरै आइसियु चाहिने अवस्थाका छन्। अक्सिजन र आइसियु दुवै नपुगेपछि उनीहरूको कुर्दाकुर्दै मृत्यु हुन्छ। यसरी मृत्यु हुनेमा रोग नभएका युवासमेत छन्। कोभिडले छोटो अवधिमै कडा निमोनिया बनाएर मृत्यु भएको उनले बताए। निमोनिया भएका बिरामीका लागि अस्पतालमा पर्याप्त अक्सिजन र  

आइसियु छैनन्। कोभिडको सुरुकै अवस्थामा अस्पताल पुगेमा धेरैलाई बचाउन सकिन्छ। कोभिड १९ नयाँ भेरियन्ट संक्रमण भएको ५ देखि ७ दिनभित्रमा निमोनिया हुन्छ। यो चरणमै अस्पताल पुगेर आफ्नो स्वास्थ्य परीक्षण गराएमा, खोकी, ज्वरोको लक्षण देखिन थालेको दुईतीन दिनमै स्वास्थ्यकर्मीको सुझावमा मात्र औषधी सेवन गरेमा धेरैलाई संक्रमणबाट बचाउन सकिने वीर अस्पतालका फिजिसियन डा. गैरे बताउँछन्। उनका अनुसार सुरुमै उच्च ज्वरो र अक्सिजन घट्न थालेको अवस्थामा स्टेरोइड औषधिले पनि निमोनियाँ घटाउनमा सहयोग गर्छ। त्यसैगरी कोरोनाको लक्षण देखिएमा छातीको एक्सरे गरेर निमोनियाँ भए/नभएको हेरेमा समयमै उपचार गर्न सकिन्छ। निमोनिया नभएको अवस्थामा ज्वरो घटाउन सिटामोल सेवन गर्न सकिन्छ।

प्रकाशित: २८ वैशाख २०७८ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App