१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धरानका दुई औषधि पसललाई २० हजारको दरले जरिवाना

वाणिज्य कार्यालयको नेतृत्वमा धरानको औषधी पसलमा अनुगमन गरिँदै । तस्बिर : रोहित राई

खरीद तथा बिक्री विल उपलब्ध गराउन नसकेपछि धरानका दुई वटा औषधि पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना गरेको छ। धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिर सञ्चालनमा रहेको सुनौलो औषधि पसल र टाटा नन्द फार्मेसीलाई उक्त कार्यालयले २० हजारको दरले जरिवाना गरेको हो। कोभिड १९ महामारीको दोस्रो लहरको बेला सर्जिकल मास्क र सेनिटाइजर अत्यधिक मूल्यमा बिक्री गरिरहेको भनेर उपभोक्ताले उजुरी गरेपछि धरानका ३ वटा औषधि पसलमा सोमबार दिउँसो उक्त कार्यालयले आकस्मिक अनुगमन गरेको थियो।  

वाणिज्य कार्यालयका प्रमुख सन्तोष पोखरेलका अनुसार सुनौलो फार्मेसीले सुगर जाँच गर्ने मेशिनलाई अत्यधिक धेरै मूल्यमा बिक्री गरेको उजुरी परेपछि एक साताअघि नै फोन मार्फत खरीद विल पठाइदिन भनिएको थियो। तर, उक्त औषधि पसलले नपठाएको उनले बताए। स्थलगत अनुगमनमा आउँदा पनि खरीद विल उपलब्ध नगराएको र सहयोग नगरेको भन्दै वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान बमोजिम २० हजार जरिवना गरिएको पोखरेलले जानकारी दिए।  

यस्तै, टाटा नन्द फार्मेसीले पनि मास्क र सेनिटाइजर अधिक मूल्यमा बिक्री गरेको उजुरी परेको थियो। उक्त फार्मेसीमा पनि खरीद गरेको औषधिजन्य, सर्जिकल वस्तुहरुको खरीद विल नराखेको र बिक्री विल पनि जारी नगरेको पाएकोले २० हजार जरिवाना गरिएको पोखरेलले जानकारी दिए। अर्को गार्जियन फर्मामा भने त्यस्तो नपाइएको उनले बताए।  

अनुगमनको क्रममा कतिपय सामानको खरीद मूल्य थोरै भएपनि ती सामानमा उपभोक्तालाई बिक्री गर्ने मूल्य(एमआरपि) भने अत्यधिक धेरै राखेको भेटिएको अनुमगन टोलीले जनाएको छ। त्यस्ता उद्योगहरुलाई मूल्य समायोजन गर्न लगाउने पनि उनको भनाइ थियो। कुनै पनि पसलहरुले खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी मूल्य लिएर उपभोक्तालाई सामान बिक्री गर्न नपाउने पोखरेलले बताए। वाणिज्य कार्यालयको नेतृत्वमा भएको अनुगमनमा ईलाका प्रशासन कार्यालय धरान, ईलाका प्रहरी कार्यालयको प्रतिनिधि पनि थिए।

प्रकाशित: २७ वैशाख २०७८ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App