२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु, स्थिति भयावह

अस्पतालको बरण्डामा उपचार गरिँदै। तस्बिर: योगेश/ नागरिक

कैलालीको टीकापुर अस्पतालमा पाँच जनाको उपचारका क्रममा ज्यान गएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका ३ र जानकी गाउँपालिकाका २ जना रहेका छन्। अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष  र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्यान गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्यान गएको छ।  

चिकित्सकका अनुसार कोरोना परीक्षण नगरेका व्यक्तिहरुमा समेत कोरोना जस्तै लक्षण देखिएको थियो। अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। अनियन्त्रित रुपमा बिरामीको चाप बढेपछि अस्पतालमा उपचारको निकै समस्या भएको कोरोना फोकल पर्सन डा.रमेशप्रसाद उपाध्यायले जानकारी दिए। उनले थुप्रै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गैरहेको बताए।

‘स्थिति हाम्रो नियन्त्रण भन्दा धेरै बाहिर गैसक्यो’ उनले भने –‘स्रोतले नभ्याउने अवस्थामा पुगेका छौं।’अस्पतालमा अहिले ५०/६० जना उपचाररत छन्। उनीहरु सबैलाई अक्सिजनको आवश्यकता छ। अस्पतालका अनुसार कतिपय बिरामीलाई अक्सिजन दिन सकिएको छैन। धेरैजसो बिरामीलाई अब दोस्रो पटक अक्सिजन थप्न सकिने अवस्था छैन।  अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन्। 

उनले सामाजिक सञ्जाल मार्फत अपिल गर्दै अस्पतालको अवस्था भयावह बन्दै गैरहेको उल्लेख गरेका छन्। दोस्रो चरणको कोरोना फैलिएपछि अस्पतालमा हालसम्म १३ जनाको ज्यान गएको छ। अस्पतालमा एकपछि अर्को व्यक्तिको ज्यान जान थालेपछि त्रास फैलिएको छ। अस्पतालमा फिजिसियन र एनेस्थेसिया चिकित्सकको अभावमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित: २६ वैशाख २०७८ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App