१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा भरिएका संक्रमित बिरामी। तस्बिर:अर्जुन/नागरिक

नेपालगन्जस्थित भेरी अस्पतालसँग अहिले २ सय बेड क्षमताको कोभिड वार्ड छ। तर, अस्पतालमा शनिबार बेलुकासम्म ३ सय २६ जना कोरोना संक्रमित भर्ना भएका छन्। अस्पालमा भर्ना भएका मध्ये ६० जना आइसियु र १० जना भेन्टिलेटरमा उपचाररत छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार थुप्रै संक्रमितहरू पालो कुर्दै होम आइसोलेसनमा बसिरिहेका छन्।  

अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्। संक्रमितको चाप ह्वात्तै बढेपछि अहिले अन्य वार्डहरू पनि पुरै भरिएको अस्पताल प्रशासनले जनाएको छ। भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.संकेत रिसाल भन्छन्, ‘दिनप्रति दिन बिरामीको चाप बढ्दो छ, अहिले यस्तो अवस्था आयो कि स्त्रीरोग विभागदेखि कुनै पनि इण्डोरको विभाग, इमरजेन्सी लगायत सबैमा कोभिड पोजेटिभ बिरामी खचाखच भरिएका छन्।

’अस्पतालले गतवर्ष ७२ बेडबाट बढाएर कोभिड वार्डको क्षमता १ सय ४२ वार्ड  पुर्‍याएको थियो। नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट बिरामीको चाप बढेपछि अस्पतालले कोडि वार्डको क्षमता अहिले २ सय बेडमा पुर्‍याएको छ। अस्पतालले धान्नै नसक्ने गरी संक्रमित दिनहुँ थपिदै गएपछि जटिलता देखिएको छ। अस्पताल विकास समितिका सदस्य धनीराम ओली भेरीमा कोरोना संक्रमितको चाप कत्ति पनि नघटेको बताउँछन्। ‘बिरामीको चाप कत्तिपनि घटेको छैन, बरु संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने ‘कोभिड वार्डमा भर्ना गर्न पनि सहज छैन, भर्ना हुनका लागि बाहिर ५/६ जनाले पालो कुर्नुपर्छ।’ 

कोभिड वार्डमा भर्ना हुनका लागि थुप्रै संक्रमितले घरमा पालो कुरेर बसिरहेको ओलीले सुनाए। ‘कोभिड वार्ड, आईसियुमा बिरामी राखिदिन धेरैको फोन आउँछ, तर भर्ना गर्न नसकेर माफी माग्नुपर्ने स्थिति छ,’ उनले भने। जिल्ला बाहिरबाट गम्भिर प्रकृतिका बिरामी ल्याएर भर्नाका लागि बारम्बार फोन आउने गरेपनि तत्कालै भर्ना गर्ने अवस्था नरहेको उनी बताउँछन्। ‘आइसियु र भेन्टिलेटरमा उपचार गराइरहेको बिरामीलाई निकालेर नयाँ बिरामी भर्ना गर्ने सम्भवै भएन, नयाँ बिरामीलाई कहाँ राखेर भर्ना गर्ने ?’ ओलीले थपे।  

बाँकेमा भेरी अस्पतालपछि कोरोना संक्रमितको उपचार गर्ने ठूलो अस्पताल हो, नेपालगन्ज मेडिकल कलेज। मेडिकल कलेजले शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा संक्रमितको उपचार गर्दै आएको छ। मेडिकल कलेज प्रशासन अन्तर्गत शनिबार बेलुकीसम्म शिक्षण अस्पताल कोहलपुरमा ८० र शिक्षण अस्पताल नेपालगन्जमा २६ जना संक्रमितको उपचार भइरहेको छ। कलेजले ‘लिक्विड’सहितको अक्सिजन अभावका कारण नयाँ संक्रमित बिरामीलाई भर्ना गर्न रोकेको छ।  

मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठ अक्सिजन अभावका कारण अहिले नयाँ बिरामीलाई भर्ना गर्न नसकिएको बताए। ‘अहिले कुनैपनि कोरोना संक्रमितलाई भर्ना लिने गरेका छैनौं,’ डा. श्रेष्ठले भने, ‘बिरामी भर्ना गरिदिनुपर्यो भनेर धेरैको फोन त आउँछ, तर भर्ना गर्ने स्थिति नै छैन।’ लिक्विड अक्सिजन अभावका कारण कलेजले तयारी अवस्थामा राखेको ३ सय बेड क्षमताको कोभिड वार्ड सञ्चालनमा आउन नसकेको उनले सुनाए। अस्पतालले अहिले १ सय ३५ बेड क्षमताको कोभिड वार्ड सञ्चालन गरिरहेको छ। उनले थपे, ‘धेरै जिल्लाबाट गम्भीर प्रकृतिका संक्रमित आउँछन्, तर हामीले उनीहरूलाई भेरी अस्पतालमा पठाइरहेका छौं।’ 

प्रकाशित: २६ वैशाख २०७८ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App