१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

परिवारभित्रै संक्रमण तीव्र

एकैदिन ५८ जनाको मृत्यु

दुई साताअघि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंका ७५ वर्षीय बाबु र ४० वर्षीय छोरा शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना भए। भर्ना भएको पाँच÷छ दिनमै बुवा र दुई सातामा छोरोको मृत्यु भयो। त्यो परिवारमा सबैजनालाई कोरोना संक्रमण भएको थियो। जटिल समस्या देखिएका बाबु–छोरा उपचारको लागि अस्पताल पुगेका थिए। चिकित्सकले निरन्तर प्रयास गर्दा पनि उनीहरूलाई बचाउन सकेनन्। उपचार गर्दागर्दै दुवैको किन मृत्यु भयो भन्ने प्रश्नमा यकिन जबाफ नभएको उपचारमा संलग्न डाक्टर किजन महर्जन बताउँछन्। ‘ढिला उपचारमा पुगेर हो या अन्य कारण, हामी केही भन्न सक्दैनौं, यो रोग नै यस्तै छ, कसैलाई गम्भीर बनाउँछ’, उनले भने।

दुई साताअघि पाटन अस्पतालमा उपचारका क्रममा ससुरा–बुहारीको मृत्यु भयो। दुवैमा कोरोना संक्रमण थियो। परिवारका अन्य सदस्यमा पनि संक्रमण थियो तर ससुरा–बुहारीमा जटिल समस्या देखिएको अस्पताल स्रोतले बतायो। यसै साता सुनसरीकी ८४ वर्षीया महिला र उनका ६५ वर्षीय छोराको पनि मृत्यु भयो। त्यो परिवारका ८ जनामा संक्रमण भएको थियो।

परिवारका सबै सदस्यमा संक्रमण भएर मृत्यु भएका यी प्रतिनिधि घटना हुन्। यसरी परिवार नै संक्रमित भएर ज्यान गुमाउने धेरै भएको चिकित्सक बताउँछन्। गत १७ गते संक्रमणबाट मृत्यु भएकी दोलाखाकी २९ वर्षीया महिलाका बुवाको वीर अस्पतालमा भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको छ। उनीहरूको परिवारका अन्य सदस्य पनि संक्रमित थिए। परिवारका संक्रमितमध्येमा दुईजनामा जटिल समस्या देखियो।

दोस्रो लहरको कोरोना संक्रमणबाट एकैपटक परिवारका धेरै सदस्य संक्रमित भएको चिकित्सक बताउँछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डे भन्छन्, ‘उपचारमा आएका सबैजसोमा परिवारभित्रैबाट संक्रमण भएको देखिन्छ।’

भक्तपुरमा पनि धेरै परिवारका सदस्यहरू संक्रमित भएको पाइएको भक्तपुर कोभिड अस्पताल संयोजक डा. सुमित्रा गौतमले बताइन्। नयाँ वर्षसंगै जात्रा, बिहे, भोजजस्ता गतिविधि बढेपछि परिवारै संक्रमित हुने दर बढेको उनको अनुभव छ। पहिलो लहरको तुलनामा दोस्रोमा अक्सिजन चाहिने बिरामी धेरै देखिएका छन्। अक्सिजन चाहिने अवस्थाका ९५ प्रतिशत अस्पताल भर्ना भएका छन्।

परिवारै संक्रमित भएर उपचारमा आउने धेरै रहे पनि यकिन तथ्यांक भने नभएको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका श्वासप्रश्वास रोग विशेषज्ञ डा. निरज बम बताउँछन्। चिकित्सकका अनुसार परिवारका सदस्यहरू खाना खाने तथा अन्य बेलामा नजिकको सम्पर्कमा रहँदा छिटो संक्रमण हुने गरेको छ। पाटन अस्पतालका कोभिड १९ उपचार संयोजक डा. पाण्डे भन्छन्, ‘हामीकहाँ पनि भारत र युकेमा जस्तै गरी परिवारै संक्रमित भइसकेका छन्, यो थप डरलाग्दो हुन सक्छ।’

परिवारै संक्रमित भएर थप क्षति हुन नदिन हरेक सदस्यले हरेकलाई शंकास्पद संक्रमितको रुपमा व्यवहार गर्न आवश्यक रहेको उनी बताउँछन्। नयाँ भेरियन्ट छिटो सर्ने भएकाले परिवारभित्रै पनि भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, सफाइमा ध्यान दिनेजस्ता सुरक्षा मापदण्ड अपनाउनु आवश्यक छ।

यसैबीच, कोरोना संक्रमणबाट नेपालमा पछिल्लो चौबिस घन्टामा ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार भएको मृत्यु संख्या अहिलेसम्मकै उच्च हो। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ। अहिले नेपालमा मृत्युदर १.९ प्रतिशत छ। यो दर गत वर्षको भन्दा दोब्बर हो।

गत चौबिस घण्टामा परीक्षण भएका २१ हजार ३ सय ७२ नमुनामा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हिसाबले संक्रमण दर ४०.५१ प्रतिशत देखिन्छ। मुलुकमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर भने ८०.६ प्रतिशत छ।

हाल देशभर ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्। तीमध्ये ६१ हजार ५ सय ८८ जना होम आइसोलेसन र ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन्। ६ सय जनाको आइसियु र १ सय ५६ जनाको भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको छ।

गत चौबिस घण्टामा काठमाडाैं उपत्यकामा ३ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्। मन्त्रालयको तथ्यांकअनुसार २ सयदेखि ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ३९ पुगेका छन्। नियन्त्रणको उत्तम उपाय समयमै संक्रमितको पहिचान र आइसोलेसन भएको इपिडिमियोलोजिस्ट डा. अर्चना श्रेष्ठ बताउँछिन्।

५० भन्दा बढी जिल्लामा संक्रमण फैलिएपछि निशेषधाज्ञा जारी भइसकेको, भेन्टिलेटर, आइसियु तथा अन्य बेडको अभाव हुन थालेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनले सामूहिक गतिविधि हुने क्षेत्रमा नै संक्रमण तीव्र भएकाले सुरक्षा मापदण्ड पालना गर्न सुझाए।

प्रकाशित: २३ वैशाख २०७८ ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App