१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

लङ कोभिड बिरामीलाई ध्यान दिन जरुरी

कोरोना महामारी दोस्रो वर्षमा प्रवेश गर्दा मूलतः दुईवटा संकट देखा परेका छन्। तीमध्ये सबैभन्दा जटिल समस्या भनेको भारतजस्तो गरिब देशमा कोभिड–१९ ले राज्यलाई चुनौती दिएको छ। भारतमा दिनहुँ ३ लाख ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने कतिपय संक्रमितको पहिचान हुन सकेको छैन। भारतमा अहिले अत्यन्त पीडादायी स्थिति छ। 

अस्पतालमा अक्सिजन अभाव छ भने शवदाहगृहले चाप थेग्न सकेका छैनन्।अर्काे जटिल समस्या भनेको रोगका लक्षण दीर्घकालसम्म रहिरहने ‘लङ कोभिड’ को हो। अधिकांश जनसंख्यालाई खोप उपलब्ध गराइसकेका अमेरिका, बेलायत र इजरायलमा मात्र होइन, गरिब देशमा समेत यो चुनौतीको विषय बनेको छ। कोभिड–१९ को संक्रमणपछि तीन महिनासम्म शरीरको कुनै भागमा रोगका लक्षण देखिरहनुलाई पोस्ट कोभिड सिन्ड्रोम भनिएको छ। 

यी लक्षणमा मुख्य गरी सास फेर्न समस्या हुने, थकान, सम्झना शक्ति र एकाग्रतामा आउने ह्रास (ब्रेन फग) छन्। बेलायतमा लङ कोभिडबाट प्रभावित ५ जनामध्ये ३ जनाले आफ्नो नियमित क्रियाकलाप केही हिसाबले सीमित भएको र ५ मध्ये एकजनाले नियमित क्रियाकलापमा अत्यधिक प्रभाव परेको बताएका छन्। आंशिक रूपमा काम गर्ने र डेस्कअगाडि बसेर काम गर्नेलाई समेत यस्तो असर देखिएको छ।

लङ कोभिडबाट प्रभावित हुनेको संख्या झन् डरलाग्दो छ। बेलायतमा ५ लाखभन्दा बढीलाई ६ महिनाभन्दा बढी समयसम्म असर देखिएको छ। यी बिरामी पूर्ण निको हुने सम्भावना अत्यन्त कम छ। लङ कोभिडबाट प्रभावितमध्ये अत्यधिक कामकाजी उमेरका छन्। दोस्रो लहरका कारण प्रभावित बिरामीलाई नसमेटिएको एक पछिल्लो तथ्यांकअनुसार बेलायतको १ दशमलब १ प्रतिशत जनसंख्यामा कम्तीमा ३ महिनासम्म लङ कोभिडको लक्षण देखिएका छन्। त्यतिबेला बेलायतको कुल जनसंख्याको १५ प्रतिशतलाई संक्रमण भएको थियो। 

बेलायतको यही तथ्यांकलाई आधार मानेर विश्वभरको तथ्यांक हेर्ने हो भने हालसम्म १ अर्ब २० करोड संक्रमित भएका हिसाबले ८ करोड जनसंख्या लङ कोभिडबाट प्रभावित भइसकेका छन्। यो अवस्थाका कारण चुकाउनुपर्ने मूल्यको हिसाबकिताब हुन बाँकी नै छ तर निश्चित के छ भने यसको मूल्य निकै ठूलो हुनेछ। बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ रिसर्चले गरेको एक अध्ययनअनुसार ८० प्रतिशत लङ कोभिडका बिरामीको काम गर्ने क्षमतामा प्रभाव परेको थियो। एकतिहाइले आफ्नो नियमित आयमा कमी आएको बताए।

अझैसम्म लङ कोभिडको उपचार छैन। वैज्ञानिकलाई जानकारी भएअनुसार लङ कोभिडमा भाइरस संक्रमणका विभिन्न लक्षण देखिन्छन् र रोग लागेको खास अवस्थामा यसको उपचारका लागि औषधि उपलब्ध हुन सक्छ। यसैगरी सघन हिसाबले प्रतिरक्षा प्रणालीमा हुने ह्रास, जोर्नीमा हुने दुखाइ, खास तन्तु तथा दिमागमा हुने दीर्घकालीन नोक्सानीको उपचार महँगो र जटिल हुन्छ। यस्तो जटिल उपचारका लागि अमेरिकाले १ अर्ब १५ करोड अमेरिकी डलर खर्च गर्न लागेको छ। तर तत्कालीन रूपमा पीडितले यो अवस्था सामना गर्न महिनौंको पुनस्र्थापना आवश्यक पर्छ।

स्वास्थ्य उपचार प्रणाली र सम्बद्ध कर्मचारीले लङ कोभिडका बिरामीको उपचारका लागि आफूलाई तयार राख्नुपर्छ। भाइरस परीक्षण नभएका कारण संक्रमणको प्रमाण नभएका मानिस पनि यो वर्गमा पर्छन्। तत्काल गरिने पुनस्र्थापना उपचारले व्यक्तिगत स्वास्थ्य तथा आर्थिक स्थितिलाई नराम्ररी बिग्रनबाट जोगाउन सकिन्छ। यसैगरी लङ कोभिडका लागि तोकिएका क्लिनिकले पनि यसमा सहयोग गर्न सक्छन्। हाल बिरामीहरू रोगको निदानका लागि एक चिकित्सकबाट अर्काे चिकित्सको ढोकामा पुग्न बाध्य छन्।

यसैगरी रोजगारदाताले पनि यसप्रकारका रोगीलाई विशेष ध्यान दिन जरुरी देखिन्छ। सरकारले यस्ता रोगीले निरन्तर काम जारी राख्न सहयोग पु¥याउन र रोजगारदाताले उनीहरूको अवस्थालाई सम्बोधन गर्न उत्तिकै आवश्यक हुन्छ। सरकारले यसो गर्न नसकेमा लाखौं युवा तथा मिड–क्यारियर कामदार श्रमशक्तिबाट स्थायी रूपमा बाहिरिन सक्छन्। यो विषयमा नेदरल्यान्डले गरेको सुरुवाती प्रयास उदाहरणीय छ। 

नेदरल्यान्डका रोजगारदाता र जागिरेले सामान्य अवस्थामा काम गर्न असमर्थ भएमा संयुक्त योजना बनाएर कसरी बिरामी काममा फर्कन सक्छन् भन्ने सुनिश्चित गर्ने प्रयास थालेका छन्। घरबाटै काम गर्ने सुविधा र लचिलो समयसारिणीले पनि लङ कोभिडका बिरामीलाई सहयोग पुग्छ। यसले केही महिना लागे पनि अधिकांश बिरामीमा सुधार आउन सक्छ। महामारी तीव्र रूपमा फैलिएका बेला धेरै गल्ती भएका छन्। तर अब लङ कोभिडलाई समयमै सम्बोधन नगर्ने छुट हामीसँग छैन। हामीसँग खेर फाल्ने समय पनि छैन। (इकोनोमिस्ट)

प्रकाशित: २१ वैशाख २०७८ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App