१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा एक सातामा ४० जनाको मृत्यु

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दोस्रो लहर एक सातायता तीव्र रुपमा फैलिएको छ। संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीको संख्या र मृत्युदर पनि बढेको छ। गम्भीर प्रकृतिका संक्रमितलाई अक्सिजनसहितको शड्ढया पाउन मुस्किल भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाको दोस्रो लहरको संक्रमणले पछिल्लो एक सातामा ४० जनाको मृत्यु भएको छ।  

सुदूरपश्चिममा ०७६ चैत १४ गते पहिलो संक्रमित देखिएका थिए। त्यसको दुई महिनापछि २०७७ जेठ १८ मा एक संक्रमितको मृत्यु भएको थियो। यो नै सुदूरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु थियो। दोस्रो लहर सुरु हुनुअघिसम्म कोरोनाबाट सुदूरपश्चिममा ५७ जनाको मुत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक छ। यो सुदूरपश्चिमका अस्पातलमा मात्र मृत्यु भएको संक्रमितको संख्या हो।  

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख १ देखि १८ गतेसम्म ४३ जनाको मृत्यु भएको जानकारी निर्देशनालयका हेमराज जोशीले दिए। वैशाख ४ र ९ गते एकएकजनाको मृत्यु भएको थियो। पछिल्लो एक सातामा ४० जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ। पछिल्लो ३ दिनमा २६ जनाको ज्यान गएको छ। शनिबार १०, शुक्रबार ७ र बिहीबार ९ जनाको मृत्यु भयो। आइतबार (दिउँसोसम्म) पाँचजनाको मृत्यु भयो।  

सुदूरपश्चिममा अहिलेसम्म १८ हजार ८ सय ९८ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ हजार ८ सय ५२ सक्रिय संक्रमित छन्। १६ हजार ९ सय ४६ जना निको भएका छन्। यो प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म १ सय जनाको मृत्यु भएको छ। दोस्रो लहरको संक्रमण सुरु भएपछि संक्रमितमा निमोनिया, श्वासप्रश्वासको समस्या बढी देखिएको छ। अक्सिजन चाहिने खालका बिरामी अस्पताल आउने गरेको सेती प्रादेशिक अस्पताल कोराना उपचार विभाग प्रमुख शेरबहादुर कमर बताउँछन्। कम उमेरका मानिसमा पनि जटिल लक्षण देखिएका छन्। संक्रमण तीव्र रुपमा फैलिएसँगै अस्पतालमा अक्सिजन, आइसियु र भेन्टिेलेटरसहितका शड्ढयाको अभाव हुन थालेको छ। अस्पतालका शड्ढया संक्रमितले भरिभराउ छन्।

कैलालीमा सक्रिय संक्रमित १ हजारभन्दा बढी

कैलालीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शनिबारसम्म कैलालीमा १ हजार ४६ सक्रिय संक्रमित देखिएका छन्। यस जिल्लामा गत सोमबार ३ सय १० जना सक्रिय संक्रमित थिए। ५ दिनमै ७ सयभन्दा बढी सक्रिय संक्रमित थपिए। कैलालीमा अहिलेसम्म संक्रमणबाट ४५ जनाको ज्यान गएको छ। कैलालीमा अहिलेसम्म ८ हजार ५ सय ३४ जना संक्रमित भएकोमा ७ हजार ४ सय ८८ जना निको भएका छन्।

प्रकाशित: २० वैशाख २०७८ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App