भेरी अस्पतालमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके, बर्दिया र कैलालीका रहेका छन्। नेपालगन्ज उपमहानगरपालिका ७ घर भएकी ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको आज (शुक्रबार) बिहान साढे ३ बजेतिर मृत्यु भएको हो।
भेरी अस्पतालमा यही बैशाख १४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको हो ।
यस्तै कैलाली, गोदावरी नगरपालिका ११ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यही बैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी सोहीदिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि बिहीबार राती साढे ९ बजेतिर मृत्यु भएको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका ७ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत चैत २५ गते भर्ना भएकी उनलाई चैत २६ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि बिहिवार ५ः३० बजेतिर मृत्यु भएको हो।
यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।
प्रकाशित: १७ वैशाख २०७८ ०३:५१ शुक्रबार