२० आश्विन २०७९ बिहीबार
स्वास्थ्य

उनले समाज जितिन् तर कोरोना जित्न सकिनन्

राजनीतिमा सक्रिय रहेका उनका श्रीमानकाे अल्पायुमै निधन भयो। त्यसपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनी निवासी मोहम्मदी सिद्धिकीका संघर्षका दिनहरू सुरु भए। श्रीमानकाे प्रेरणाकै कारण उनले समाजसेवा र राजनीतिको बाटो रोजेकी उनलाई त्यो बाटोमा हिँड्न उनलाई त्यति सहज चाहिँ भएन। जब उनी बाहिर निस्कन खोज्थिन्, परिवारले घरभित्रै आफ्नो बन्धनमा राख्न चाहन्थ्यो। घर र समाजभन्दा बाहिर निस्केपछि इस्लाम धर्मको ‘खिलाप’ हुने परिवारको बुझाई थियो। तर, घर परिवारको यस्तो बुझाई धेरै दिन टिकेन।  

निकै संघर्षपछि उनी २०४९ सालमा परिवार र समुदायको बन्धनबाट बाहिर निस्कन सफल भइन्। श्रीमान्ले छाडेर गएका अधुरो काम पूरा गर्नकै लागि राजनीति र विशेष गरी मुस्लिम महिलाको अधिकारका लागि समाजसेवालाई सँगै अगाडि बढाइन्। मानव अधिकार र समाज सेवाको क्षेत्रबाट उनले आफ्नो नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म लेखाउन सफल भइन्। राजनीतिक यात्राबाट वडाध्यक्ष, उप–मेयरको उम्मेदवार हुँदै संविधानसभा सदस्य जस्तो गरिमामय पदमा पुगिन्। तर, उनले विश्वव्यापी रूपमा नयाँ भेरियन्टका रूपमा फैलिएको कोरोना महामारीलाई भने जित्न सकिनन्। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी साढे ७ बजेतिर उनको निधन भयो।  

मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन। परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन्। राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्न सुरु गरेकी थिइन् उनले। ‘घरपरिवार र समाजबाट बाहिर आउन नमिल्ने मान्यता थियो, म बाहिर आएर केही गर्न चाहन्थ्ये, त्यसमा सासुको सहमति पाउन गाह्रो हुन्थ्यो, तरपनि म परिवारबाट बाहिर निस्कन सफल भएँ र समुदायमा पनि छिर्न सकेकी हुँ,’ उनले केही समयअघि नागरिकसँग यही कुरा भनेकी थिइन्।  

सिलाइकटाइसम्बन्धी सिप सिकेकी उनीसँग प्रमाणपत्र भने थिएन। तत्कालिन नारी विकास नामक सामाजिक संस्थाबाट प्रमाणपत्र लिएपछि मोहम्मदीले मुस्लिम महिलालाई प्रशिक्षण दिन थालिन्। हातमा सिप भएपछि मुस्लिम महिला आत्मनिर्भर बन्न सक्छन् र उनीहरू बाहिर निस्कन सक्छन् भन्ने सोचका साथ उनले प्रशिक्षण दिँदै गइन्। ‘घर बाहिर निस्कन नसक्ने धेरै मुस्लिम महिलालाई मैले प्रशिक्षण दिए, सिलाइकटाइको प्रशिक्षण पाएपछि धेरै जना आत्मनिर्भर बने र उनीहरू बिस्तारै बाहिर आए र मुस्लिम महिलाको पक्षमा आफैं वकालत गर्न थाले,’ उनले आफ्नो संघर्ष सुनाउँदै भनेकी थिइन्।

२०४९ मै उनले नारी कल्याण समाज बाँकेको सचिव भएर काम गरिन्। समाजसेवा र राजनीतिमा सक्रिय भइरहँदा मोहम्मदीलाई परिवारले सहमति दिए पनि समुदायले स्वीकार गर्न सकेन्। मुस्लिम समुदायभित्रैबाट उनीविरुद्ध विभिन्न षडयन्त्र सुरु भयो। डर, धम्की र त्रास दिएर उनको सामाजिक र राजनीतिक यात्रामा बारम्बार अवरोध पुर्‍याउन खोजियो। उनी बारम्बार समुदायबाट मानसिक हिंसामा परिन्। तर पनि उनले हिम्मत हारिनन्। ‘म आफै संघर्ष गरेर बाहिर निस्केको मुस्लिम महिला थिएँ, यो काम हाम्रै समुदायका पुरुषलाई मन परेन, झन् अरू मुस्लिम महिलालाई पनि बाहिर ल्याउन खोजेपछि मलाई डर, धम्की दिएर हतोत्साहित गर्न खोजियो, म निडर भएर अभियानमा लागिरहे।’  

इस्लाम धर्मको अपब्याख्या गरेर समुदायका केही व्यक्तिले उनलाई बहिस्कार सम्म गर्न भ्याए। तर, यहाँका आम नागरिक समाजको आँखा अगाडि उनी ‘चम्किलो तारा’ झै उदाउँदै अगाडि बढिन्। उनको संघर्षको मूल्यांकन स्वरूप नेपाली कांग्रेसले उम्मेदवार बनायो र २०४९ सालमा तत्कालीन नेपालगन्ज नगरपालिका वडा नम्बर ९ को वडाअध्यक्षमा निर्वाचित भईन्। त्यतिबेला मुस्लिम समुदायबाट चुनाव लड्ने सायद म देशकै पहिलो महिला थिए हुँला, मुस्लिम समुदायबाट महिलालाई अगाडि ल्याउनु हुँदैन, यिनीहरू इस्लामको खिलापमा जान्छन् भन्ने गलत मान्यता व्याप्त थियो,’ उनले स्मरण गर्दै भनेकी थिइन्, ‘मलाई हराउन चार जना मुस्लिम पुरुषहरू बागी उम्मेदवार बने पनि मैले उनीहरूलाई पराजित गरिदिए।’  

पाँच वर्षसम्म वडाध्यक्ष भएर काम गरेपछि उनको राजनीतिक उचाइ झन् माथि पुग्यो। २०५४ सालमा उपमेयरको टिकट पाए पनि चुनाव जित्न सकिनन्। राजनीतिसँगै समाजसेवाको क्षेत्रमा भने काम गरिरहिन्। २०५४ सालमा मानव अधिकारको क्षेत्रमा क्रियाशील एमनेष्टि इन्टरनेसनलको महिला गु्रपको केन्द्रीय सदस्य भइन्। यस्तै साउथ एसियन फर ह्युमन राइट्सको केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि पुगिन्।

नारी कल्याण समाजमार्फत महिला मानव अधिकारका क्षेत्रमा गरेको कामको अनुभवको आधारमाा मुस्लिम महिलालाई लक्षित गरेर २०६१ सालमा नेपालगन्जमा फातिमा फाउण्डेशन नेपाल नामक सामाजिक संस्था स्थापना गरिन्। मोहम्मदीले त्यसको संस्थापक अध्यक्षको जिम्मेवारी लिईन्। मुस्लिम महिलाको पक्षमा वकालत गर्ने उक्त संस्था सम्भवतः मुलुककै पहिलो भएको उनी बताउँथिन्। ‘यो संस्था स्थापना भएपछि मुस्लिम महिलाका घरेलु हिंसासम्बन्धी मुद्दा बाहिर आउन थाले, पीडितको न्यायका लागि हामीले वकालत गर्न थाल्यौं,’ उनले भनेकी थिइन्, ‘फिल्डमा गएर पीडित महिलाको पक्षमा बोल्दा थ्रेट आउँथ्यो, संस्था नै बन्द गरिदिने धम्की दिन्थ्ये, तर उनीहरूको केही सिप चलेन।’  

महिला अधिकारको क्षेत्रमा काम गरिरहँदा उनले नयाँ संविधान निर्माणका लागि तत्कालिन संविधान सभा २०६४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद भएर काम गरिन्। उनी सभासद रहँदा महिला र त्यसमा पनि मुस्लिम महिलाको अधिकारलाई संविधानमा स्पष्ट व्यवस्था गर्नुपर्ने मुद्दालाई स्थापित गराउन विशेष भूमिका खेल्न सफल भएकी थिइन्।  

फातिमा फाउण्डेसन नेपालको नेतृत्व गरेकी उनलाई कहिल्यै एक्लो भएको महसुस नै भएन्। उनलाई पहिले बहिस्कार गर्ने, डर, धम्की दिने व्यक्तीले पछिल्लो समयमा सम्मान गर्न थाले। उनले आफ्नो संस्थामा करिव १० हजार मुस्लिम महिलालाई अभियानसँगै जोड्न सफल भएकी छन्। आय आर्जनको कामसँगै महिलालाई हिंसामा पर्न नदिने र हिंसामा परेका महिलालाई न्याय दिलाउने काम हामीले गर्‍यौँ,’ ६५ वर्षीया मोहम्मदीले नागरिकसँग भनेकी थिइन्। महिलालाई सिपमूलक तालिम प्रदान गरेपछि उनीहरू आत्मनिर्भर बन्ने र स्वतः उनीहरूलाई समाजसेवासँगै राजनीतिमा ल्याउन सकिने मोहम्मदीको बुझाइ थियो। मुस्लिम महिलालाई परिवार र समुदायबाट बाहिर ल्याउन मोहम्मदीले गरेको संघर्षबाट प्रभावित भएपछि अहिले थुप्रै महिलाहरू बाँकेमा राजनीति र सामाजिक काममा लागेका छन्।  

मधुमेह र रक्तचापको समस्या भए पनि उनी यसअघि कहिल्यै अस्पतालमा भर्ना हुनु नपरेको बहिनी मैमुना सिद्दिकी बताउँछिन्। ‘दिदीलाई सुगर र रक्तचाप कम हुने सामान्य समस्या थियो, तरपनि उहाँ धेरै स्वस्थ हुनुहुन्थ्यो,’ मैमुनाले आइतबार नागरिकसँग भनिन्, ‘जब दिदीलाई कोरोना पोजेटिभ देखियो, अस्पताल भर्ना भएपछि श्वास–प्रश्वासको समस्या बल्झिदै गयो, धेरै प्रयास गर्दा पनि बचाउन सकेनौं।’ कोरोना पोजेटिभ भएपछि उनी गत चैत २८ गतेदेखि अस्पतालमा भर्ना भएकी थिईन्। संविधानसभा सदस्य सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार शनिबार राति नै अन्त्येष्टि गरिएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App