८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमणको दोस्रो लहर: तीन दिनमा ७२ जनाको मृत्यु

दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो। त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो। यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ। हाल नेपालमा दैनिक मृत्युदर १.०५ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ। यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो। गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए। नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ। देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ। संक्रमित हुनेमा सबैभन्दा बढी युवा उमेरका छन्। मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके, रूपन्देही र पर्सा गरी नौ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

दैनिक संक्रमण दर वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित बजेटअनुसार हाइडिपेन्डेन्सी युनिट तयार गरेनगरेको तस्बिरसहित जानकारी गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। काम नभएको अवस्थामा बजेट फिर्ता लैजाने मन्त्रालयले जनाएको छ।

पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत वर्ष कोरोना संक्रमण दैनिक ४ देखि ५ हजार पुगे पनि मृत्यु हुनेको संख्या कम थियो।

यसपटक युके भेरियन्टको भाइरसका कारण पनि बिरामीमा सिकिस्त हुने दर बढेपछि मृत्यु हुनेको संख्या पनि बढेको गौतमले बताए। ‘ हामीले भनिरहेका छौं, अहिलेको नयाँ भेरियन्टको स्वरूप पहिलेको भन्दा कडा देखिन्छ, यो कारण पनि संक्रमण भइसकेपछि निको हुन सजिलो छैन’, उनले भने।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. विमल पाण्डेले भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएबाट सिकिस्त बिरामीको संख्या बढेको र सोही अनुसार मृत्युदर बढ्ने स्थिति रहेको बताए। गत वर्ष दैनिक १५ हजार परीक्षण गर्दा ५ हजारसम्म संक्रमित हुने गरेकोमा यो वर्ष आठ÷नौ हजार परीक्षणमै तीन हजारभन्दा बढी संक्रमित भेटिएको उनले बताए।  

‘नयाँ भेरियन्ट चाँडो फैलिरहेको देखिन्छ’, उनले भने। दुई सातामै संक्रमण दर उच्च भएसँगै आइसियु र भेन्टिलेटरमा बिरामी पुगेको उनले बताए। ‘भेन्टिलेटरमा पुग्नु भनेको जीवनमरणको दोसाँध हो’, उनले भने।

सरकारले जनस्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गर्न आदेश दिए पनि उल्लंघन हुनाले संक्रमणदरमा दैनिक वृद्धि भइरहेको डा. गौतमले बताए। खुला नाकाको कारणभन्दा पनि दैनिक भइरहेका सभा, सम्मेलन, गोष्ठी, बिहेभोजजस्ता गतिविधिका कारण संक्रमण बढिरहेको गौतमको विश्लेषण छ।

‘आफ्नो जीवन आफैं बचाउनू’

चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाको जोखिमबाट बच्न हरेक व्यक्तिले आफ्नो जिम्मेवारी आफैंले लिनुपर्ने स्थिति आएको बताएका छन्। संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको हुनाले हरेक व्यक्तिको जीवन जोखिममा रहेको उनीहरूले संकेत गरेका छन्। ‘बाँच्नु छ भने भोलिदेखि घरैमा बसौं, अन्यत्र बचाउन सकिने स्थिति छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। सरकारको बलमा लकडाउन गर्नुभन्दा हरेक व्यक्ति स्वयं लकडाउनमा बस्नु अहिलेको समस्याको समाधान भएको डा. गौतमले बताए।

अहिलेको जोखिमबाट बच्न हरेक व्यक्तिले आफ्नो जीवनको रक्षा आफैं गर्नुबाहेक उपाय नभएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पाण्डेले बताए। ‘अब यति सचेत हुनुपर्‍यो कि आफूले आफैंलाई बचाउनुपर्‍यो’, उनले भने।

मन्त्रालयका अनुसार संक्रमणको चक्रलाई नरोके अस्पतालमा उपचारका लागि ठाउँसमेत नहुने स्थिति छ। यो स्थिति रोक्न खबरदारी, भौतिक दूरी कायम गर्न र मास्क लगाउन तथा सभा, सम्मेलन, समारोह नगर्न अनुरोध गरेको छ। मन्त्रालयले सबै मिडियाकर्मीलाई पनि कार्यक्षेत्रमा अनिवार्य मास्क लगाएर काम गर्न आग्रह गरेको छ। ‘समाचार पढ्दा होस् या अन्तर्वार्ता लिँदा होस्, मास्क लगाएर मात्र गर्नुहोला’, आइतबार मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ वैशाख २०७८ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App