२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनीका कोरोना अस्पताल भरिए

उपचार नपाई फर्कन्छन् बिरामी

दाङस्थित कोरोना विशेष अस्पतालमा कोरोनाका दुई बिरामी भुइँमै उपचाररत छन्। उनीहरूलाई त्यहीँ राखेर अक्सिजन दिइएको छ। अस्पतालमा रहेका शय्या कोरोनाका बिरामीले भरिभराउ भइसकेका छन्। अस्पताल व्यवस्थापन पक्ष भन्छ, ‘बेडमा राख्ने ठाउँ नै नभएपछि गल्ली (प्यासेज) मै अक्सिजन दिएर राखेका छौं।’ 

प्रदेश सरकारले स्थापना गरेकाे काेराेना अस्पताल २५ शय्याको रहेको छ। अस्पताल आफैंले स्थानीय तहहरूसँग समन्वय गरेर थप १२ वटा शय्या थप्यो। हाल ३७ शय्याको यो अस्पतालमा शययाभन्दा बढी बिरामी भरिएका छन्। ‘३७ शय्या क्षमताको अस्पतालमा अहिले ४२ जना बिरामी हुनुहुन्छ,’ अस्पताल व्यवस्थापक द्रोण ओलीले भने, ‘भुइँमा समेत राखेर उपचार गरिरहनुपरेको छ। यो अस्पतालमा बिरामी राख्ने ठाउँ नै छैन। तर गम्भीर अवस्थाका बिरामी गेटमै आइपुग्छन्। ‘क्रिटिकल अवस्थाका बिरामी गेटमै छटपटाउन थाल्नुहुन्छ,’ व्यवस्थापक ओलीले भने, ‘अनि मानवताका हिसाबले पनि हामीले प्रतीक्षालय वा गल्लीमा राखेर उहाँहरूलाई अक्सिजन दिनुपरिरहेको छ।’

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामी गम्भीर अवस्थाका छन्। उनीहरू सबैलाई अक्सिजन दिएर उपचार गरिएको छ। अस्पतालमा अक्सिजन प्लान्ट छैन। नेपालगन्जबाट दिनहुँ ७० सिलिन्डर अक्सिजन आयात भइरहेको छ। तर खपत पनि उत्तिकै मात्रामा दिनहुँ भइरहेको छ। ‘अक्सिजन खपत गरौं, नत्र बिरामीको जति बेला पनि निधन हुन सक्छ भनेर मैले पटकपटक सरोकारवाला निकायलाई भन्दै आएको छु,’ उनले भने, ‘तर स्टक अक्सिजनको व्यवस्थापनका लागि कतैबाट पनि पहल भएन, यसो नहुनु उपचाररत बिरामीको ज्यानमाथि नै उच्च खतरा बन्दै गएको छ।’ दाङस्थित सो अस्पताल मात्र होइन, कोरोनाको उच्च संक्रमण बढिरहेको लुम्बिनी प्रदेशमा सरकारले सञ्चालन गरेका चारवटै सरकारी अस्पतालको अवस्थाको पनि यस्तै बिजोग छ। यस प्रदेशमा रहेका कुनै पनि सरकारी अस्पतालमा थप बिरामी राख्न सकिने अवस्था छैन। सबै अस्पताल बिरामीले भरिभराउ भइसकेका छन्।  

बुटवलस्थित धागो कारखाना अस्पतालले एक हप्तादेखि बिरामी राख्न बन्द गरिसक्यो। अस्पतालमा रहेका १५ वटा आइसियु शय्या भरिइसकेका छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा उपचारका लागि दिनहुँ आइरहन्छन्। तर अस्पतालमा बिरामी राख्न सक्ने अवस्थै छैन। अनि गम्भीर प्रकृतिका बिरामीलाई यो अस्पतालले भरतपुर चितवन तथा काठमाडौं पठाउँदै आएको छ। ‘हाम्रो अस्पतालमा कोरोनाका बिरामीका लागि छुट्याइएका १५ वटै आइसियु शय्या भरिइसकेका छन्,’ अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले भने, ‘गम्भीर प्रकृतिका बिरामी दिनहुँ उपचारका लागि आइरहनुभएको छ, तर हामीले उहाँहरूलाई राखेर उपचार गर्न सम्भवै छैन, उहाँहरूलाई फर्काउन बाध्य हुनु परेको छ।’ उनका अनुसार विगत एक हप्तादेखि यो अस्पतालले एकजना पनि नयाँ बिरामीलाई भर्ना गरेको छैन।  

भैरहवास्थित अर्को सरकारी अस्पताल भीम अस्पतालमा पनि दिनहुँ कोरोनाका बिरामी आइरहन्छन्। शुक्रबार पनि गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आए। तर अस्पतालले एकजना बिरामीलाई पनि अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था भएन। ‘तपाईसँग कुरा गर्दैगर्दै दुईजना कोरोनाका गम्भीर बिरामी अस्पताल परिसरमा आउनुभएको छ,’ अस्पतालका फोकलपर्सन डा. आरिफ हुसैनले भने, ‘उहाँहरूलाई पनि हामी फर्काउनुबाहेक अर्को विकल्पै छैन।’ उपचारका लागि शय्या अभावमा अस्पतालले विगत तीन दिनदेखि यसैगरी बिरामीलाई फर्काउनु परिरहेको छ। डा. हुसैनका अनुसार अस्पतालमा जम्मा २७ शय्या छन्। २७ मध्ये पाँचवटा आईसियु शय्या बिरामीले भरिएका छन्। अन्य २२ वटा शय्यामा पनि गम्भीर अवस्थाकै बिरामी छन्। उनीहरू सबैलाई अक्सिजन दिएर राखिएको छ। ‘हामी थप बिरामी राखेर उपचार गर्न सक्ने अवस्थामा छैनौं,’ डा. हुसैनले थपे, ‘अन्य अस्पतालमा जानुस् भनेर पठाउनुको विकल्पै छैन, शय्या खाली भएछ भने तपाईहरूलाई बोलाउँछौं भनेर पठाइरहेका छौं।’

नेपालगन्जस्थित भेरी अस्पतालमा पनि कोरोनका बिरामी राखेर उपचार गर्ने ठाउँ छैन। १ सय ४० शय्या रहेको यो अस्पतालमा सबै शय्या भरिएका छन्। त्यहाँ १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्यलाई अक्सिजन दिएर राखिएको छ। ‘सबै बिरामी गम्भीर अवस्थाकै हुनुहुन्छ,’ यो अस्पतालका फोकलपर्सन डा. संकेत रिसाल भन्छन्, ‘सामान्य अवस्थाका बिरामीलाई त हामीले होम आइसोलेसनमै बस्नुस् भनर पठाइरहेका छौं।’ उपचारका लागि ठाउँ अभावमा अब यो अस्पतालले थप बिरामी राख्न सक्ने अवस्था छैन। ‘तैपनि बिरामीको अवस्था कसैको सुधार भएको अवस्थामा उहाँहरूलाई घर पठाएर अन्यलाई उक्त शय्यामा राख्न सकिएला,’ उनले भने, ‘अन्यथा गम्भीर अवस्थाका बिरामीलाई पनि हामीले शय्या अभावमा उपचार गर्न सकिने अवस्था अब देखिन्न।’ शय्या अभावमा यो अस्पतालले पनि बिहीबारदेखि बिरामी फर्काउन थालिसकेको छ। अस्पतालले अन्य अस्पतालमा जान भन्दै बिहीबारदेखि केही बिरामीलाई फर्काउनुपरेको जनाएको छ। ‘अरू अस्पतालमा जानुस् भनेर बिहीबार पनि केही बिरामीलाई फर्काउन बाध्य भयौं,’ उनले भने, ‘शय्या अभावै अभाव छ कहाँ राखेर उपचार गर्ने ?’ यो अस्पतालले आएका बिरामीलाई कोहलपुर मेडिकल कलेजमा रेफर गर्दै आएको छ।  

एकातिर सरकारले सञ्चालन गरेका अस्पतालमा शय्या संख्या नबढाइनु, अर्कोतर्फ यिनै सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्ने सरकारी नियतका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको चिकित्सक बताउँछन्। यस्तो बेला अन्य अस्पतालमा समेत कोभिडको उपचार गर्ने गरी व्यवस्थापन नमिलाइए अहिलेको अवस्थाले भोलि झनै भयावह अवस्था आउने खतरा उनीहरूले देखिरहेका छन्। ‘सरकारी अस्पताल बिरामीले भरिइसके, अब बिरामी राखेर उपचार गर्नसक्ने अवस्थै छैन,’ भेरी अस्पतालका फोकलपर्सन डा.रिसाल भन्छन्, ‘यस्तो खतरनाक अवस्थामा बिरामी अक्सिजन नपाएरै मर्नुपर्ने खतरा बढ्न थालिसक्यो, फलतः अरू अस्पताललाई पनि कोरोना अस्पतालका रूपमा रूपान्तरण गर्न सरकारले पहल गर्नपर्छ, नत्र यो भयावहलाई रोक्न सकिने अवस्था मैले देखेको छैन।’

प्रकाशित: १२ वैशाख २०७८ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App