८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना महामारीमा अब्बल साबित टेकु अस्पताल

‘सरकारी अस्पताल भए पनि यो अस्पतालका स्वास्थ्यकर्मीले रातदिन खटिएर काम गरे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मूलगेटअगाडिको चिया पसलकी कमला गैरेले नागरिकसँगको कुराकानीमा भनिन् । विगत पाँच वर्षदेखि उक्त खाजा घर चलाउँदै आएकी उनले पछिल्लो महिनामा अस्पतालमा उपचार तथा पिसिआर परीक्षण गर्ने सयाैंलाई चिया तथा खाजा खुवाएकी छन् ।  

‘चिया खान आउने सबैले यो अस्पतालका प्रशंसा गरेको सुनेकी छु, यो अस्पताल अन्त भन्दा राम्रो छ,’ उनी थप्छिन् । गैरेले भनेझैं कोरोना महामारीको सुरुवात भएयता सर्वाधिक चर्चामा रहेको अस्पताल हो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल । नेपालमा पहिलोपटक कोरोना संक्रमण भएका बिरामीको उपचारदेखि लिएर पिसिआर परीक्षण, आधुनिक अक्सिजन प्लान्टको स्थापना गरी हरेक बेडमा अक्सिजन, सघन उपचार कक्षका एक कोठाबाट अर्काे कोठामा हावा तथा जीवाणु फैलावट हुन नदिने हेपा फिल्टरको स्थापना, व्यक्तिगत सुरक्षा सामग्रीको यथेष्ट उपलब्धता तथा स्वास्थ्यकर्मीको उच्च मनोबल कायम गर्नमा यो अस्पतालले प्रशसनिय कार्य गरेकोछ । हुन त सरुवा रोगको नियन्त्रणका लागि प्रस्ट हिसाबले तोकिएका कारण यो अस्पतालले गरेको काम अपेक्षित र स्वाभाविक पनि मानिएला तर महामारीको कठिन अवस्थामा प्राविधिकदेखि मानवस्रोतको व्यवस्थापन त्यति सजिलो विषय होइन । 

‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए । 

नेपालमा पहिलोपटक महाभूकम्प गएकै वर्ष अर्थात् १९९० सालमा टेकुको पचलीमा रहेको रोपवेको टर्मिनलको प्रांगणमा ८८ वर्षअघि हैजाको उपचारका लागि धर्मशालाका रूपमा स्थापना भएको यो अस्पताललाई नेपालमा प्रजातन्त्र आएको वर्ष २००७ सालमा हाल कायम रहेको स्थानमा सारिएको थियो । २०१९ सालमा वीर अस्पतालअन्तर्गतको महामारी रोग व्यवस्थापन युनिटका रूपमा परिवर्तित गरिएको यो अस्पतालको भवनलाई सोही वर्ष पुनर्निर्माण (रिनोभेट) गरिएको थियो । २०३४ सालमा वीर अस्पतालबाट छुट्याएर महामारी रोग अस्पतालका रूपमा यसलाई पुनः विकास गरिएको थियो भने २०४२ सालमा आएर यसलाई टेकु अस्पताल भनेर नामकरण गरिएको थियो, यो नाम अझै पनि जनजिब्रोको नाम हो । २०५३ माघ ३० मा यो अस्पतालले अहिलेको नाम ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ पाएको हो । स्थापनाकालदेखि यो अस्पतलाले कुष्ठरोगको उपचार, रेबिज क्लिनिक, एचआइभी तथा एड्सको उपचार, मलेरिया, कालाज्वर, धनुष्टंकार, सर्पको टोकाइको उपचारलगायत विभिन्न स्वास्थ्य सेवा दिँदै आएको छ ।  

चीनको वुहानबाट २०१९ को अन्तदेखि कोरोना महामारी विश्वव्यापी रूपमा फैलियो । त्यसको लपेटमामा नेपाल पनि पर्‍यो । २०७६ माघको दोस्रो साता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण लिएर ३२ वर्षीय युवक टेकु अस्पताल भर्ना भएका थिए । सामान्य रुघाखोकीको लक्षण र श्वासप्रश्वासको समस्या रहेका ती बिरामीमा स्वस्थ्य सुधार भएपछि अस्पताल डिस्चार्ज भएका थिए । ती युवक भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा अध्ययनरत एक विद्यार्थी रहेकाले उनको स्वाब परीक्षणका लागि हङकङ पठाइएको थियो । नेपालमा पहिलोपटक कोभिड–१९ अधिकारिक रूपमा पुष्टि भएको यो नै पहिलो केस थियो ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा ती युवकको उपचारमा सलग्न स्वस्थ्यकर्मीहरू आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नलगाईकनै बिरामीको उपचारमा खटेका थिए । सौभाग्यवश ती बिरामीसँग सम्पर्कमा रहेका साथी, नातेदारमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएन । झन्डै दुई महिनापछि दोस्रो केस पुष्टि भएको थियो, दोस्रो केसमा फ्रान्सबाट फर्केकी एक विद्यार्थी थिइन् । त्यसपछि नेपालमा बिरामीको संख्या लगातार बढ्ने क्रममा रह्यो । कोरोनाले चीनमा हजारौं मानिसको मृत्यु हुँदै गर्दा नेपालमा भने त्रास हुनु स्वाभाविक थियो । महामारी चीनबाट इटालीलगायत युरोपका विभिन्न देशमा फैलिसकेको थियो । चीनबाट फर्केकालाई समाजले अछुतजस्तै मान्न थालिसकेको थियो । टेकु अस्पताले अस्पतालले चीनबाट फर्केका सयांैलाई परामर्श दिएको थियो । ‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । 

उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए । त्यो समय कोरोना फैलिएकोभन्दा पनि डर अनि त्रासले परीक्षण गर्न आएकाको संख्या अत्यधिक थियो । त्यतिबेला अन्य अस्पतालले रुघाखोकीजस्तो लक्षणहरू देखिए टेकु अस्पताल पठाउने गर्थे । देशको एक मात्र सरुवा रोग अस्पताल भएकाले टेकु अस्पताल भौतिक र मानसिक रूपमा त्यस्ता संक्रमितहरूलाई परामर्श दिन र आवश्यक परे उपचारका लागि तयार थियो । कोरोनाका लागि आइसियु तथा भेन्टिलेटर थपी अस्पताल भौतिक तथा जनशक्तिको हिसाबले पनि महामारीसँग लड्न लगभग तयारी अवस्थामा थियो । कोरोनाकालअघि टेकु अस्पताल लगभग आइसियुविहीन नै थियो । हाल अस्पतालको सघन उपचार कक्षमा २२ शड्ढया छन् । महामारीअघि दुईवटा मात्र भेन्टिलेटर रहेकोमा यो अवधिमा थप ६ वटा भेन्टिलेटर थपेर यसको संख्या अहिले आठ पुगेको छ ।  

२०७६ चैत ११ गते देखि तीन महिना लामो लकडाउन गरिएको थियो । त्यसले राजधानीमा कोरोना संक्रमण विस्तारमा रोक लगाएको थियो । तर लकडाउनपछि भारत तथा कोरोनाका अन्य हटस्पटबाट संक्रमित नेपाल आउन सुरु भएपछि काठमाडौंमा संक्रमितको संख्या ह्वात्तै बढेको थियो । लक्षण नभएकालाई परीक्षण गर्नुपर्ने नभएकाले लक्षण नभएको ‘साइलेन्ट कोरोना’ भाइरस काठमाडौं भित्रिने र फैलने क्रम सुरु भएको थियो ।  

कोरोना उपचारको सूक्ष्म व्यवस्थापनमा खटिएका अस्पतालका प्रमुख कन्सलट्यान्ट तथा कोभिड–१९ उपचारका संयोजक डा. अनुप बास्तोला अन्य अस्पतालमा चिकित्सकले कोठाबाहिर अथवा टाढैबाट कोभिड–१९को उपचार गर्ने गरेकोमा टेकु अस्पतालले बिरामीसँगै रहेर चिकित्सकीय सेवा दिएको बताउँछन् ।

‘औषधि र उपचारमा मात्रै होइन, बिरामीको मनोवैज्ञानिक पक्षलाई सशक्त हिसाबले हामीले सम्बोधन गर्‍यौं,’ उनी भन्छन्, ‘बिरामीसँगको भावनात्मक सम्बन्ध, निरन्तर संवाद तथा परामर्शसहितको एकीकृत उपचार पद्धति (होलिस्टिक एप्रोच) लाई हामीले प्रमुखता दियौं ।’ अस्पतालले बिरामीका लागि निःशुल्क वाइफाई र मोबाइल नभएका बिरामीलाई मोबाइलको समेत व्यवस्था गरेको थियो ।

२०७६ फागुनदेखि अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेका डा. सागर राजभण्डारीका अनुसार अस्पतालले २०७७ मसान्तसम्म १ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ । ५१ जनाको उपचारका क्रममा दुःखद मृत्यु भएको छ । यसैगरी भाइरसको उपचारका क्रममा पाँच दर्जन कर्मचारी संक्रमित भएका थिए । तर उनीहरू संक्रमित भएको सात दिनमै कार्यस्थल फर्केका थिए । राजभण्डारीका अनुसार अस्पतालले पछिल्लो एक वर्षमा दिनहुँ २ देखि ५५ जनालाई नियमित उपचार गरेको छ ।  

सुरुमा कोरोनाको परीक्षण गर्ने सुविधा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा मात्र भएकाले अस्पतालले जेठ २ गतेदेखि पिसिआर परीक्षण गर्ने प्रयोगशाला निर्माण गरेको थियो । प्रयोगशालको स्थापना महत्वपूर्ण उपलब्धि (माइलस्टोन) भएको ठान्छन्, निर्देशक डा. राजभण्डारी । २०७७ चैत मसान्तसम्म अस्पतालको प्रयोगशालाले ५८ हजार ४ सय ७७ जनाको पिसिआर परीक्षण गरेको छ, जसमध्ये ८ हजार ३ सय ९१ मा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड–१९ को बिरामीका लागि श्वासप्रश्वासमा समस्या हुँदा अक्सिजन दिनुपर्ने अपरिहार्य आवश्यकता हुन्छ । अस्पतालले गत वर्षको लकडाउनको बेला लिक्युड अक्सिजन प्लान्टको स्थापना गरेको थियो र अस्पतालका ५५ वटै बेडमा अक्सिजनको पाइप जडान गरेको थियो । यसैगरी रोगको संक्रामकता रोक्न सघन उपचार कक्षका एक कोठाबाट अर्काे कोठामा हावा तथा जीवाणुको प्रसार नहोस् भन्ने उद्देश्यले हेपा फिल्टर जडान गरिएको थियो । नेपालमा कोरोनाको उपचारमा रेमडेसिभिर औषधि र प्लाज्मा विधिबाट उपचार गर्नेमा यो अस्पताल पहिलो रहेको बताउँछन्, निर्देशक राजभण्डारी ।

कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० देखि १०० प्रतिशतसम्म इन्सेन्टिभ, कोरोना तथा स्वास्थ्य बिमा, घरमा जान नमिल्नेलाई होटलमा बास बस्ने सुविधा अस्पतालले गरेको थियो । निर्देशक राजभण्डारी कोरोनाको भीषण महामारीका बेला पनि कुकुरको टोकाइ तथा एचआईभी–एड्सको उपचारलाई अस्पतालले निरन्तरता दियोे । त्यसो त नेपालका कुल एचआइभी संक्रमित जनसंख्याको एक तिहाइलाई यो अस्पताले उपचार सेवा दिँदै आएको छ भने हरेक दिन कुकुरले टोकेका २ सय ५० देखि ४ सयजनालाई उपचार गर्दै आएको छ । यसैगरी सर्पको टोेकाइ, कालाज्वरो, डेंगी, क्षयरोग, मलेरियालगायत अन्य स्वास्थ्य समस्याको उपचारमा यो अस्पताल नेपालमा अग्रपंक्तिमा छ । २०७६ सालमा नेपालको इतिहासमा पहिलोपटक देशव्यापी रुपमा डेंगीको महामारी हुँदा काठमाडाैंमा ठूलो संख्यामा मानिस संक्रमित भएका थिए । त्यो बेला यही अस्पतालले डेंगी परीक्षण, उपचार तथा परामर्शमा अग्रण भूमिका खेलेको थियो ।  

‘अस्पतालका २ सय ७९ कर्मचारी एकबद्ध भएर जुटेकाले यो संकटसँग जुट्न सजिलो भएको हो,’ निर्देशक राजभण्डारी भन्छन् । सरुवा रोगको उपचारमा प्रशिक्षित स्वास्थ्यकर्मी, रोगबारे सही जानकारी तथा परामर्श सेवा, उपचारमा खट्दा व्यक्तिगत सुरक्षा सामग्रीको यथेष्ट जोहो एवं सबै कर्मचारीको उच्च मनोबल कायम राख्न सक्नु अस्पतालको महत्वपूर्ण पक्ष रह्यो । यो अस्पताललाई सरकारले महामारी अवधिमा साढे १२ करोड उपलब्ध गराएको थियो ।

सरकारी सेवाबाट केही महिनामै सेवा निवृत्त हुन लागेका डा. राजभण्डारी यो अस्पतालको ऐतिहासिक महत्वलाई कायम राख्न हाल रहेका ६० शड्ढयालाई बढाएर ३०० शड्ढयाको अस्पतालमा विस्तार गर्न आवश्यक देख्छन् ।

‘अस्पताललाई अन्त सार्न आवश्यक छैन, धेरै तलाको भवन (मल्टिस्टोरी) निर्माण गरेर यही स्थानमा यो अस्पतालाई बृहत् रूप दिन सकिन्छ,’ उनी भन्छन् । यसैगरी ट्रपिकल संक्रामक सरुवा रोगको मास्टर्स लेभलको अध्यापन अस्पतालले गर्न सक्ने र अन्य प्रशिक्षण तथा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर संक्रामक रोगसम्बन्धी अनुसन्धानमा यो अस्पताललाई दक्षिण एसियामै अब्बल बनाउन सकिने तर्क उनको छ ।

प्रकाशित: ११ वैशाख २०७८ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App