२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणको संकट समाधान गर्न नागरिक अगुवाको गम्भीर ध्यानाकर्षण

नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकट समाधान गर्न नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाले गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल पत्रकार महसंघ बाँकेको संयोजनमा शुक्रबार बसेको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो।

कोरोना संक्रमणका कारण देशले भोग्दै आइरहेको संकट र यसको समाधानका लागि सबै क्षेत्रको दायित्व र भूमिका महत्वपुर्ण हुने भन्दै बैठकले १३ बुँदे सार्वजनिक अपील समेत जारी गरेको छ। बैठकले एक अपीलमार्फत केन्द्रबाट तत्काल दक्ष जनशक्ति खटाउने ब्यवस्था मिलाउनु पर्ने, गम्भीर र सामान्य बिरामी राख्न छुट्टा–छुट्टै आईसोलेसन केन्द्रको ब्यवस्था मिलाउनुपर्ने, अक्सिजनको अभाव हुन नदिने, एकद्वार प्रणालीबाट बिरामीको भर्ना र उपचारको ब्यवस्था मिलाउने, कोभिड हटलाईन नम्बर राखी सूचना प्रणालीलाई प्रभावकारी बनाउने, कोभिड फोकल पर्सनको भूमिका प्रभावकारी हुनुपर्ने, ब्यवस्थापन पक्ष प्रभावकारी हुनुपर्ने सुझाव दिएको छ।

यस्तै सेन्ट्रल कोभिड कमाण्ड प्रणालीको बिकाश गरिनुपर्ने, पीसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसिआर परीक्षणको ब्यवस्था मिलाउने, महामारीको बेलामा स्थानीय सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने, सीमा नाका हुँदै नेपाल भित्रिएका नागरिकहरुको कोभिड-१९ को संक्रमण भए र नभएको सुनिश्चितताका लागि आवश्यक परीक्षण गर्नुपर्ने, स्थानीय तहमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्डसहितका क्वारेन्टिन र आइसोलेसन केन्द्रहरु निमार्ण गर्ने, सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने तथा वृद्धवृद्धा, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, दीर्घरोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरु तथा अति विपन्न वर्गलाई क्वारेन्टिन तथा आइसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि पहल गर्न बैठकले अपील गरेको छ।

अपील गर्नेमा नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महत, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठ, एड्भोकेसी फोरमका प्रमुख बसन्त गौतम, नेपालगन्ज मेडिकल कलेजका सहायक प्राध्यापक डा. आसिम किदवाई, नेपालगन्ज मेडिकल कलेजका उप-निर्देशक डा. नितेशकुमार कनोडिया, वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापा, उच्च अदालत बार नेपालगन्जका निवर्तमान अध्यक्ष विकाश आचार्य र भेरी अस्पताल ब्यवस्थापन समितिका सदस्यप्रसाद कृष्ण श्रेष्ठ रहेका छन्।

बैठकमा सहभागी नेपालगन्ज मेडिकलका उप-निर्देशक डा. कनोडियाले मेडिकल टिम र बिरामी व्यवस्थापनको अभावमा संक्रमितको मृत्यु भइरहेको बताएका थिए।  

कोरोना भाइरस संक्रमणका लागि मेडिकल कलेजमा बेड थप्न सक्ने बताउँदै त्यसका लागि प्रयाप्त मेडिकल टिम नभएको उनको भनाइ छ।  

यस्तै मेडिकल कलेजका सहायक प्राध्यापक डा. किदवाईले बाँकेमा कोरोना संक्रमितलाई बचाउन काठमाडौंबाट मेडिकल टिम ल्याउनुपर्नेमा जोड दिए। ‘यहाँका स्वास्थ्यकर्मीले सकिरहेका छैनन्, दिनहुँजसो स्वास्थ्यकर्मी संक्रमित समेत भइरहेका छन्, काठमाण्डौंबाट मेडिकल टिम आयो भने सम्भव छ, हामी बेड थप्न सक्छौं,’ उनले भने।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले कोरोना संक्रमित बिरामीको उपचारमा जिल्लामा रहेका अस्पतालसंग समन्वय समेत नगरिरहेको बैठकमा सहभागीहरुले गुनासो गरेका थिए।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ। तर, दिनहुँ कोरोना संक्रमित फेला पर्दा अस्पतालका सबै बेड भरिभराउ भइसकेका छन्। कुनै पनि अस्पतालमा थप संक्रमितलाई बेडमा राखेर उपचार गराउने ठाउँ छैन।

प्रकाशित: १० वैशाख २०७८ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App