coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव

भरिभराउ अवस्थामा रहेको भेरी अस्पतालको कोभिड वार्ड। तस्बिर : सामाजिक सञ्जालबाट

कोरोना संक्रमितको संख्या अत्यधिक रुपले बढ्दा नेपालगन्जको अवस्था झन् भयावह बन्दै गएको छ। कोरोना संक्रमणको अवस्था निकै भयावह हुँदा पनि जिल्लामा कोभिड वार्ड विस्तार गरिएको छैन। कोरोना नियन्त्रण र व्यवस्थापनको काम नेतृत्व कस्ले गर्ने भन्नेमै अलमल देखिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल अलमलमा परिरहेका छन्। बाँके जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले पनि यसमा कुनै चासो देखाएका छैनन्। अघिल्लो वर्ष कोरोना नियन्त्रण र व्यवस्थापन कार्यमा सक्रिय रहेका स्थानीय तहका जनप्रतिनिधि यसपटक भने बेवास्ता गरिरहेका छन्। 

यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन्। तर, उनीहरुको आग्रह अहिलेसम्म, संघ, प्रदेश र स्थानीय सरकार कसैले पनि नसुनेको गुनासो बढ्दै गइरहेको छ।  जिम्मेवार निकाय मौन बसेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आक्रोश समेत पोखेका छन्। 

उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ५० बेड क्षमताको कोभिड वार्ड पनि खाली छैन। अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको संख्या बढ्ने मृत्यदर थपिने गरेका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र थप ६ जनाको मृत्यु भइसकेको छ। नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यान वनगाड–३ का ५६ वर्षीय पुरुष, जानकी गाउँपालिका वडा नम्बर १ बाँके निवासी ७१ वर्षीया महिला, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष, नेपालगन्ज १७ निवासी ८६ वर्षीया महिला, नेपालगन्ज १ की ६५ वर्षीया महिला, नेपालगन्ज ११ का ४२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

पछिल्लो समयमा यहाँका प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। कुल ४ सय ८२ जनाको स्वाब परिक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यस्तै भेरी अस्पतालको प्रयोगशालामा २ सय ७६ वटा स्वाब परीक्षण गर्दा २ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १ सय ७ वटा स्वाब परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको छ। बागेश्वरी ल्याबमा ७४ वटा परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ। जमुनाहास्थित हेल्थडेस्कमा २५ को परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको ओलीले जानकारी दिए।

बाँकेका अस्पतालमा कोभिड वार्ड थप गर्न संघ, प्रदेश र स्थानीय सरकार अहिलेसम्म मौन बसेको स्वास्थ्यकर्मीले बताएका छन्। नेपालगन्जमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल बाँकेका सबै स्थानीय तहमा कम्तिमा ५० बेड क्षमताको अक्सिजनसहितको कोभिड आइसोलेशन वार्ड स्थापना गर्नुपर्ने, भेरी र मेडिकल कलेजसहितका अस्पतालमा पनि कोभिड वार्ड बिस्तार गर्नुपर्ने माग गरेका छन्।  

नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा.दिनेश श्रेष्ठका अनुसार कलेजसँग बिहिवारसम्म १५ बेड क्षमताको आईसियु र ३५ बेड क्षमताको कोभिड जनरल वार्ड रहेकोमा संक्रमितले पुरै भरिएको छ। ‘बिरामीको चाप बढेपछि ३० बेडको आईसियु र ७० बेड क्षमताको कोभिड जनरल वार्ड आज बनाउँदैछौं, सबै बेडमा अक्सिजनको पाइप लाईन जडान कार्य भइरहेको छ,’ उनले भने ‘बेड खाली नहुँदा संक्रमितको उपचार गर्न निकै समस्या भएको छ।’ बेड खाली नहुँदा कतिपय बिरामीलाई भर्ना गर्न समेत नसकिएको बताए।

बेड नपाएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राङगणमा अलपत्र सक्रमित। 

यता भेरी अस्पतालको अवस्था पनि उस्तै छ। अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डे अस्पतालमा कोभिड वार्ड पुरै भरिदाँ उपचार गर्न कठिनाई भइरहेको बताउँछन्। ‘अस्पतालको कोभिड वार्ड पुरै भरिएको छ, एक जना स्वास्थ्यकर्मीले २५ देखी ३० जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ, एनेस्थेसियन चिकित्सकको त्यतिकै आवश्यकता छ,’ उनले भने ‘चाँडो भन्दा चाँडो कोभिड बेड थप्नुपर्छ, कोरोना संक्रमणलाई नियन्त्रण गर्न अब सबै डाक्टरले कोभिडका बिरामी जाँच्ने र सबै अस्पतालले कोभिडका बिरामी भर्ना गर्ने नीति बनाउनुपर्छ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले कोरोना संक्रमणले स्थिति नियन्त्रण बाहिर गइसकेको बताएका छन्। भेरी अस्पतालका कोभिड वार्डका सबै १ सय ४२ बेड पूर्ण रुपमा भरिभराउ भइसकेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जटिल प्रकारका संक्रमित बिरामी आउने क्रम जारी छ, हामी मूकदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था छैन, हरेकले आफ्नो ठाउँबाट महत्वपुर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ, आउँदा दिनहरु अझै भयावह हुने देखिन्छ।’

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल कोरोना संक्रमण नियन्त्रणमा जिम्मेवार कोही बन्न नसकेको बताउँछन्। कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परिरहँदा बेड खाली छैन भनेर जवाफ दिनु बाध्यता भएको उनको भनाई छ।

राप्तीसोनारी गाउँपालिका शील

जिल्लाको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय नै शील  गरिएको छ। उक्त गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई तीन दिनअघि मात्र संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसिरहेका थिए। गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीको पनि स्वाब परीक्षण गर्दा १७ जना कर्मचारीलाई बिहिवार संक्रमण देखिएको हो। गाउँपालिकाका अन्य जनप्रतिनिधि तथा कर्मचारीलाई पनि कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७८ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App