२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यको सुझावलाई बेवास्ता, अलमलमा अभिभावक

फाइल तस्बिर

नेपालमा कोभिड १९ को दोस्रो लहरको चपेटामा बालबालिका पनि पर्न थालेका छन्। तर विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिसिएमसीले ठोस निर्णय गर्न नसक्दा अभिभावकसमेत अन्योलमा छन्।

कोभिड व्यवस्थापन केन्द्र (सिसिएमसी) को शनिबारको बैठकमा स्वास्थ्य मन्त्रालये कोभिड संक्रमणको उच्च जोखिम भएका क्षेत्रका विद्यालय तीन सातासम्म बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने प्रस्ताव पेस गरेको छ। सिसिएमसीका सदस्यसचिव खगराज बरालले परीक्षा र बालबालिकाको शिक्षण सिकाइमा असर नपर्ने गरी वैशाख अन्त्यसम्मका लागि वैकल्पिक माध्यमबाट पठनपाठन गराउने प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट आएको बताए। उनले शनिबारको बैठकमा सो प्रस्तावमाथि छलफल भएको तर निष्कर्ष ननिस्केको जानकारी दिए।  

‘स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने शब्द प्रयोग गरेको छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयबाट आएको प्रस्तावमा कोरोनाको जोखिम उच्च रहेका मुख्य सहरमा तीन साताका लागि अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने उल्लेख छ। प्रदेश, स्थानीय तह र सीमा क्षेत्रका सहरका लागि नयाँ मापदण्डमा समेत छलफल भएको छ तर कुनै पनि निर्णय भएको छैन।’ हाल सुरु हुने भनी तय भएको मेडिकल प्रवेश परीक्षामा बाधा नपर्नेतर्फ सिसिएमसीको ध्यान गएको छ।

यसैगरी कुनै पनि परीक्षा नरोकिने गरी शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भनेर छलफल भइरहेको बरालले बताए।यसअघि काठमाडौं महानगरपालिकाले कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा सम्बन्धित विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्न शुक्रबार निर्देशन दिइसकेको छ। 

यसैबीच शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट संक्रमण फैलिएको वा संक्रमणमको जोखिम उच्च भएको भनी पहिचान भएका जिल्ला, सहर वा स्थान विशेषका विद्यालय स्थानीय तहको निर्णयअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले उच्च जोखिममा रहेका जिल्लाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा खोल्ने काम गर्नुपर्ने निर्देशन जारी गरिएको जानकारी दिए।  

‘कोभिडलाई लिएर कसैले पनि जथाभावी त्रास नफैलाऔं’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उच्च जोखिममा राखेका जिल्ला तथा सहरका विद्यालयमा आलनइन वा वैकल्पिक विधिबाट पठनपाठन अघि बढाउने र विद्यालय बन्द नै गर्नुपरेमा स्थानीय तहको निर्णयअनुसार जानुपर्ने निर्देशन जारी भइसकेको छ। बन्द गरिएका विद्यालय पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ मा तोकिएका विधि तथा प्रकृया पालना गनुपर्नेछ।’ 

भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवं संस्थाको पूर्वाधार, संक्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय तथा परामर्शमा उपयुक्त विधि अपनाई विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन, परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता कृयाकलाप नगर्न÷नगराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अति प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्। स्वास्थ्यले यी जिल्लामा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न सुझाव दिइको छ।

यसैबीच काठमाडौं महानगरपालिकामा क्रियाशील शिक्षकका पेसागत संगठन अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ति निकाली कोरोनाको बढ्दो संक्रमणबीच विद्यालयमा पठनपाठन गराउने अवस्था नहरेको जनाएका छन्। त्रासका कारण विद्यालयमा विद्यार्थीको संख्या पनि घट्दै गएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App