२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जोखिम क्षेत्र बन्द गर्न अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ। 

मन्त्रालयअन्तर्गतको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको बैठकले कोरोना संक्रमण बढ्न नदिन नागरिकलाई समेत जिम्मेवार बन्न अपिल गरेको हो। निर्णयको पहिलो बुँदामा कोरोनाको असरबाट बच्न हरेक नागरिकलाई उच्च सतर्क हुन अनुरोध गरिएको छ। ‘कोभिड संक्रमणबाट जोगिन र जनस्वास्थ्य मापदण्ड पालना गरिदिनुहुन ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेबार बनिदिनु’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट अति प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत बारा र बाग्लुङका अति भीडभाड हुने क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था छ। मन्त्रालयले रेस्टुराँ, डान्सबारजस्ता स्थल राति ७ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। त्यसैगरी क्लबहरू, खेलकुद, जिमखाना, सार्वजनिक पूजाआजाका स्थल, सभासम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतका स्थलमा सहभागी नहुन अनुरोध गरेको छ।

सबै अस्पतालले अनिवार्य रूपमा फिभर क्लिनिक सञ्चालन गरी कोभिड १९ परीक्षण व्यवस्थापन गर्न, विदेशी पाहुनाको हकमा रजिस्ट्रेसन गरी पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र होटेलमा राख्न, सबै अस्पतालका कम्तीमा ५० प्रतिशत बेड छुट्याई तोकिएअनुसार निःशुल्क सेवा दिन पनि मन्त्रालयले निर्देशन दिएको छ। निजी अस्पतालले पिसिआर परीक्षण गर्दा २ हजार रूपैयाँभन्दा बढी लिन नपाउने, संक्रमितको हकमा औषधिबाहेक दैनिक उपचार सेवामा जटिलता हेरेर ३५ देखि १५ हजार रूपैयाँ नबढ्ने गरी लिन, बालबालिका, सुत्केरी महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको कोभिड १९ परीक्षण तथा उपचारमा प्राथमिकता दिन पनि मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमण दर १४.६१ प्रतिशत

नेपालमा कोरोना संक्रमण दर शुक्रबार थप २ प्रतिशतले वृद्धि भई १४.६१ पुगेको छ। यो दर बिहीबार १२.८ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण भएका ६ हजार १ सय ५८ नमुनामध्ये ९ सयजनामा संक्रमण पुष्टि भएको छ। यीसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ। गत २४ घण्टामा काठमाडौं उपत्यकामा परीक्षण भएका ४ हजार ४६ वटा नमुनामध्ये ४ सय २७ जना संक्रमित भेटिएका छन् भने नेपालगन्जमा १ सय ८३ नमुनामध्ये १ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। पोखरामा १ सय ३ वटा नमुनामध्येमा २९ जनामा कोरोना पुष्टि भएको छ। हाल देशभरिमा ५ हजार ८ जना आइसोलेसनमा छन्। तीमध्ये सयजना आइसियु र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

गत चौविस घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ भने अन्य ४ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ। संक्रमण तीव्र बनेको जनाउँदै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकार र हरेक नागरिक सचेत हुनुपर्ने अवस्था आएको प्रस्ट पारेको छ।

महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार मुख्य सहरहरू काठमाडौं, पोखरा र नेपालगन्जमा दैनिक २ सयभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको तथा केही जिल्लामा ५० देखि १ सय ५० जना दैनिक संक्रमित भइरहेकाले संक्रमणदर चौगुणा पुग्ने देखिएको छ। संक्रमितको संख्या बढ्दा जटिल संक्रमित पनि सोही अनुपातमा बढ्ने बताउँदै उनले लापरबाही भइरहेको गुनासो गरे।

प्रकाशित: ४ वैशाख २०७८ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App