१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुधबारदेखि चिनियाँ खोप

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप बुधबारदेखि नागरिकलाई लगाइने भएको छ। चिनियाँ कम्पनी सिनोफर्मद्वारा निर्मित ८ लाख डोज खोप गत साता नेपाल ल्याइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गतेदेखि काठमाडौंका तोकिएका अस्पतालबाट लगाउने प्रबन्ध मिलाइएको जानकारी दिए।  

राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ। चिनियाँ सरकारको स्वामित्वमा रहेको उक्त कम्पनीले सिफारिस गरेका कारण उक्त उमेर समूहलाई यो खोप दिन लागिएको हो।  

यो खोप तत्काल काठमाडौंबाहिर उपलब्ध हुनेछैन। यो खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिए पनि आयतन (भ्याक्सिन भोलुम) अत्यधिक भएका कारण भण्डारणमा चुनौती छ। यो खोपको हरेक डोज सिरिन्जमा अथवा भायलमा आउने भएकाले समग्र सिरिन्ज तथा भायललार्ई कोल्ड चेनमा राख्नुपर्ने हुन्छ।

नेपालमा उपलब्ध भएको खोप सिरिन्जमा नभई भायलमा छ। यो चिनियाँ खोप एक भायलमा एक डोजमात्र हुन्छ। नेपालमा प्रयोग भएको अक्सफोर्ड र अस्ट्राजेनेकाको प्रतिभायल खोपमा १० डोज हुन्छ। ‘भण्डारणका लागि धेरै ठाउँ चाहिने भएकाले पनि चिनियाँ खोप अहिले काठमाडौेंमा मात्र उपलब्ध गराउन लागिएको हो,’ गौतमले भने।

एउटा भ्याक्सिन क्यारियर (बाकस) मा अक्सफोर्ड र अस्ट्राजेनेकाको एक सय खोप डोज राख्न सकिन्छ भने चिनियाँ खोप १५ देखि २० सिरिन्जमात्र अट्छ। चिनियाँ खोप चार लाख जनालाई दिइनेछ। पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज दिइनेछ। ‘चिनियाँ खोपको सुरक्षा र प्रभावकारिता राम्रो छ। यो अरबका विभिन्न देशमा ठूलो मात्रामा लगाइएको छ,’ डा. गौतमले भने।  

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत नेपालले १८ लाख ५ हजार जनालाई पहिलो डोज खोप उपलब्ध गराइसकेको छ। सरकारले अक्सफोर्ड–अस्ट्राजेनेकाको खोपको पहिलो डोज लगाएकालाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज दिने तयारी गरेको छ।  

यसैबीच पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्ला दिनमा नेपालमा दिनहुँ संक्रमितको सख्या बढ्दो क्रममा छ। भारतमा संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली घर फर्कने क्रम बढेकाले यहाँ पनि संक्रमणदर बढेको विज्ञको भनाइ छ।

प्रकाशित: २३ चैत्र २०७७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App