१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्। आपूर्तिमा समस्या भएपछि चैत ३ देखि नेपालले खोप अभियान स्थगित गरेको छ।

पहिलो चरणअन्तर्गत फागुन १० सम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायत गरी ४ लाख ३८ हजारलाई खोप लगाइएको थियो।  उनीहरूलाई सरकारले वैशाख ७ देखि ११ सम्म दोस्रो डोज उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि केही खोप मौज्दात छ। त्यस्तै फागुन २३ पछि चैत २ सम्म ६५ वर्ष उमेर माथिका वृद्धवृद्धा र सुरुको चरणमा छुटेका जोखिम समूहका सहित १३ लाखलाई खोपको पहिलो डोज दिइएको छ। खोप लगाइएको छ। 

पहिलो डोज लगाएको ८ देखि १२ सातामा अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउनुपर्ने प्रावधान अन्तर्गत यो समूहलाई जेठको पहिलो सातादेखि दोस्रो डोज उपलब्ध गराउने सरकारी योजना छ। तर अपेक्षा गरिएको मितिमा खोप उपलब्ध नहुँदा यो समयसारिणी प्रभावित हुन देखिएको छ।  

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध ३ लाख ४८ हजार डोज खोप गरी नेपालले साढे २३ लाख खोप प्राप्त गसिसकेको छ। मे महिनासम्म कोभ्याक्सले झण्डै १९ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने अपेक्षा गरिएको थियो। 

कोभ्याक्सले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने ३ प्रतिशत जनसंख्यालाई लक्षित गरेर ३ चरणमा नेपाललाई झण्डै साढे २२ लाख डोज खोप नेपाललाई उपलबध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार डोज मात्र दिएको छ। अप्रिलमा कम्तीमा ६ लाख डोज खोप नेपालले पाउन सक्ने अपेक्षा थियो।

‘हामीले कोभ्याक्सको ६ लाख र सेरमसँग खरिद गरेको १० लाख डोज समयमै उपलब्ध हुने अपेक्षासहित दोस्रो डोज दिने योजना बनाएको छौं’, राष्ट्रिय खोप कार्यक्रममका प्रमुख डा। झलक गौतमले भने। उनले अपेक्षा गरेको मितिमा खोप आएन भने समस्या पर्ने बताए। ‘पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका वृद्धा तथा अन्यलाई जेठको पहिलो सातादेखि दोस्रो डोज दिने हाम्रो योजना अप्ठेरोमा पर्न सक्छ,’ गौतमले भने।

डा. गौतम वैशाखको मध्य तथा तेस्रो सातासम्म थप खोपको जोहो हुन सकेमा १० दिनको तयारी गरेर जेठ पहिलो सातादेखि पहिलो डोज खोप लगाएका सबैलाई दोस्रो खोप दिन सकिने बताउँछन्। ‘सुरुमा अपेक्षा गरेभन्दा धेरै अघि खोप आएको हो, त्यसैले हामी आशावादी हुनैपर्छ,’ उनी भन्छन्। तर खोपको अन्तर्राष्ट्रिय माग, भारतले निर्यातमा लगाएको बन्देजलगायतका कारण नेपालले खोप प्राप्ति सुनिश्चित गर्न थप प्रयास गर्नुपर्ने देखिएको छ। ‘यो उच्च स्तरको राजनीतिक प्रयासबाट मात्र सम्भव छ,’ उनी भन्छन्।  

खोप सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेती मे महिनासम्म कोभ्याक्स खोप अथवा सेरमसँग खरिद गरिसकेको १० लाख डोज खोपको जोहो हुन सक्ने बताउँछन्। खोपको जोहो भए दोस्रो डोज खोप योजना प्रभावित नहुने उनको भनाइ छ। ‘पहिलो डोज पाएकाले दोस्रो डोज पाउँदैनन कि भन्ने चिन्ता गर्न आवश्यक छैन। यसका लागि विभिन्न सम्भावना छन्’, उनी भन्छन्।  

खोप निर्यातमा भारतले लगाएको बन्देजसँगै संयुक्त राष्ट्रसंघले सहकार्य गरेको खोप सञ्जाल गाभीले यो निर्णयले विश्व स्वास्थ्य संगठनलगायत संस्थाको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स खोप सुविधा प्रभावित हुने जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत सन् २०२१ सम्म न्यून आय भएका देशलाई २ अर्ब डोज खोप उपलब्ध गराउने योजना छ।

प्रकाशित: १३ चैत्र २०७७ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App