१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो

अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा लुम्बिनी प्रदेशकै पहिलो बनेको छ। प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंकसहित लुम्बिनी प्रदेशमै प्रथम स्थानमा परेको हो। जिल्ला अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षा कार्यक्रममा मूल्यांकनको नतिजा सार्वजनिक गर्दै यो जानकारी गराईएको हो।

५० शैय्याको मान्यता पाईसकेको अस्पतालले न्युनतम मापदण्ड पूरा गर्नेमा नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा पर्न सफल भएको पनी अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए। ‘ एमएसएस मूल्याङ्कनमा लुम्बिनी प्रदेशकै पहिलो भएका छौं,उनले भने,‘त्यतिमात्र होईन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’ सबैको सहयोगले यो सम्भव भएको भन्दै उनले जिल्लावासी सबैलाई धन्यवाद दिएका छन्।

अस्पताल स्थापना भएको ३१ वर्षपछि पचास शैय्याको मान्यता पाउनुका साथै अस्पतालमा आईसियु सेवा, २४ घण्टे ल्याब र एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा, क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट सेवा थप भएका छन्। अब जिल्लावासीलाई उपचारका लागी बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष एवं सन्धिखर्कका मेयर कमलप्रसाद भुसालले बताए। ‘अस्पतालमा सबै कुराको अभाव थियो, धेरै जसो बिरामीलाई बाहिरी जिल्ला पठाउनु पर्ने बाध्यता थियो, मेयर भुसालले भने,‘अब जंगलमै ज्यान जाने अवस्था आउँदैन, पहिले उपचार गर्न बाहिर पठाउँदा बाटोमै ज्यान गएका थुप्रै घटना छन्।’

अस्पतालमा सुविधा थप भएपछि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी र प्युठानका बिरामी पनी लाभान्वित हुनेछन्। कार्यक्रममा अस्पतालको चौतर्फी विकासमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सकसहित स्टाफनर्स लगायत विभिन्न युनिटमा कार्यरत १५ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७७ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App