१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदूषणबाट जोगिन के गर्ने ?

डा.नीरज बम,
छातीरोग विशेषज्ञ

काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित हुनुको पहिलो कारण त यसको भौगोलिक बनावट हो। यो कचौराजस्तो छ, अन्यत्रभन्दा यहाँ हावाको आवागमन कम हुन्छ। त्यसकारण यहाँ प्रदूषण बढ्ने गर्छ। त्यस्तै, यहाँ चल्ने अधिकांश सवारीसाधन पुराना छन्, जसले धुँवा बढी फाल्ने हुँदा यहाँको वातावरणलाई प्रदूषित बनाउँछ। 

अर्को, यहाँ मान्छेको चाप पनि छ, यसले गर्दा अक्सिजनभन्दा कार्बन डाइअक्साइडको मात्रा बढी हुन्छ। त्यस्तै, घरभवन बन्ने, कलकारखानाबाट धुँवा निस्कने हुँदा पनि यहाँ प्रदूषण बढिरहेको छ। यहाँ धुम्रपानको नियमित सेवन गर्नेहरू बढिरहेछन्। यसले पनि वातावरणलाई निकै असर पारेको छ। पेट्रोल र डिजेलको धुँवाले भन्दा यसले वातावरणलाई बढी प्रदूषित पार्छ। यसमा पाइने हाइड्रोजन साइनाइड वायुमण्डलमै गएर बस्छ र वातावरणलाई झन् खतराजनक बनाइदिन्छ।  

प्रदूषणका कारण लाग्ने रोग

वातावरणीय प्रदूषणका कारण श्वासनली खराब हुन पुग्छ। प्रदूषणका कणहरू फाेक्सोमा गएर बसिदिन्छन् र क्रोनिक ब्रोङ्काइटिस्, सिओपिडी (दम खोकी), ब्रोङ्केलाहरूमा एलर्जी हुन सक्छ। त्यस्तै, क्षयरोग बढाउने, फाेक्सोमा विभिन्न किसिमका दाग र क्यान्सर लगायत फाेक्सोसम्बन्धी रोग लाग्न सक्छन्। फाेक्सोको क्यान्सर हुनलाई धुम्रपान गरिरहनुपर्दैन। वातावरणीय प्रदूषण पनि काफी हुन सक्छ। १० पिपिएमभन्दा साना धुलोका  कण, २ र २.५ पिपिएमभन्दा साना ग्यासजन्य कण अल्भोलाइका माध्यमबाट रगतमै प्रवेश गरेर रगतका नलिकालाई साँघुरो बनाइदिन्छन् र त्यसले गर्दा रक्तचाप बढ्छ। हृदयघातको जोखिम १४ गुणा बढाइदिन्छ। त्यस्तै यसले पक्षघातको सम्भावना पनि १५ गुणासम्म बढाइदिन्छ। हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न अक्सिजन चाहिन्छ। जब प्रदूषित हावाका कण हामीभित्र प्रवेश गर्छन्, त्यो फाेक्सो हुँदै शरीरका विभिन्न अंगमा प्रवेश गर्छन्। यदि हावा स्वच्छ भए मस्तिष्कले स्वच्छ हावा पाउँछ, दूषित हावाले गर्दा स्मरण शक्ति गुम्ने समस्या देखिन सक्छ।

सावधानी

प्रदूषणबाट बच्न हामीलाई कोरोनाले नै ठूलो पाठ सिकाएर गएको छ, त्यो हो मास्कको प्रयोग। म त भन्छु, यसको प्रयोग घरभित्र बाहेक सबै ठाउँ गरौँ। सँगै आफूले सक्ने जति सरसफाइ गरौँ। धुलो उड्न नदिने, घरबाट निस्कने फोहोरको व्यवस्था गर्ने, टोलको सफाइमा अग्रसर हुने, हरियाली बनाउन रुख–बिरुवा रोप्ने, प्लास्टिकजन्य प्रदार्थलाई नजलाउने आदि नै प्राथमिक सावधानी हुन्। वातावरणलाई स्वच्छ बनाउन मापदण्ड तोकिएको छ, तर लागू भएको छैन। सरकारको भूमिका प्रदूषण नियन्त्रणमा धेरै छन्। सर्वप्रथम त सरकारले कडा पोलिसी बनाउनुपर्छ। पुराना सवारीसाधनलाई अब चलाउन दिनुहुँदैन। 

किनकि त्यसबाट निस्किएको धुँवाले वातावरणलाई निकै प्रदूषित बनाउँछ। त्यस्तै घर बनाउँदा मापदण्ड कडाइका साथ तोक्ने, सकेसम्म घर बनाउँदा रुखलाई काट्न नदिने  गर्नुपर्छ । सर्वसाधारणले मुख्यतः धुम्रपानको सेवन कम गर्नुपर्छ। धुम्रपान सेवनले आफ्नो साथसाथै अरूको पनि स्वास्थ्यसँग खेलवाड भइरहेको छ। त्यस्तै, सवारी चालकले आफूले हाँकिरहेको गाडी रोकिएका बेला इन्जिन चलाएर बस्नु हुँदैन, त्यसले गर्दा वातावरण प्रदूषित हुन्छ। त्यस्तै जहाँ पाए त्यहीँ नथुक्ने, बाटोघाटोमा फाेहोर नफाल्ने आदि सावधानीले पनि प्रदूषण रोक्न सकिन्छ।

(निमेष पौडेलसँगको कुराकानीमा आधारित)

प्रकाशित: २९ फाल्गुन २०७७ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App