२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

महिलामा अन्धोपना बढी

नेपालमा आँखा उपचारमा पहुँचको कमीले पुरुषको तुलनामा महिलामा अन्धोपना बढी भएको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गर्न आएका र नआएका महिलामा पुरुषको तुलनामा बढी अन्धोपन भएको अस्पतालको भनाइ छ। 

तथ्याकंअनुसार एकतिहाइ पुरुषमा र महिलामा दुई चौथाइ अन्धोपन रहेको छ। नेपालमा महिलाहरूमा आँखा उपचारको पहुँचको कमी तथा उपचार गर्न ढिला पुग्दा अन्धोनपन बढी भएकोले अस्पतालले केही वर्षदेखि ‘महिलाले आँखा देखे घरै उज्यालो’ नारा अघि सार्दै आइरहेको छ।  

यो वर्ष १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अस्पतालले ‘चुनौतीलाई रोजौं’ भन्ने नाराका साथ चुनौती सामना गरेरै भए पनि महिलाहरू समयमै उपचारमा आउन आग्रह गरेको छ। दिवसको अवसरमा प्रतिष्ठानअन्तर्गतका आँखा अस्पताल र केन्द्रबाट आँखा उपचारमा आएका महिलालाई ५० प्रतिशत परीक्षण शुल्क सहुलियत गरेको हो।  

प्रतिष्ठानकी प्रबन्ध निर्देशक डा. रीता गुरुङले पुरुषको तुलनामा महिलामा दृष्टिविहीन समस्या बढी भएपछि अस्पतालले महिलाहरूलाई आँखाको उपचारमा समयमै आउने वातवरण सिर्जना गर्ने सन्देश दिएको बताइन्।  महिलाहरू ढिला उपचारमा पुग्दा धेरैको मोतीबिन्दु हुने र मोतीबिन्दुको कारण दृष्टिविहीन हुन पुगेको डा.गुरुङ बताउँछिन्।

तथ्यांकअनुसार उपचारमा आएका मध्येमा ३ जना महिलामा मोतीबिन्दु छ भने १ जना पुरुषमा छ। तिलगंगा आँखा प्रतिष्ठानकी निर्देशक डा। गुरुङका अनुसार मोतीबिन्दु बाहेक मधुमेह, उच्चरक्तचाप,आँखामा लाग्ने अन्य रोगहरू, थाइराइड जस्ता रोगको कारण पनि महिलाहरूमा आाँखाको समस्या बढी हुने गरेको छ।  

चिकित्सकका अनुसार मोतीबिन्दु उमेर पुग्दै जाँदा पनि हुन्छ। पुरुषको तुलनामा महिलाहरू बढी उमेर बाँच्ने कारण पनि बढी उमेर पुग्दै गएका महिलाहरूमा मोतीबिन्दुको समस्या बढी छ। मोतीबिन्दु आँखाको लेन्समा आउने धमिलोपना हो। लेन्समा धमिलोपना आएपछि दृष्टि समस्या हुन्छ। लेन्स बिग्रिएको अवस्थामा आँखाको लेन्स परिवर्तन गरी नयाँ लेन्स राखेर मोतीबिन्दुको उपचार गरिन्छ।  

डा. गुरुङका अनुसार महिलाहरूको रोगको बिषयमा परिवारको प्राथमिकतामा नपर्नु, धेरै बिग्रेपछि मात्र उपचारमा पुग्ने, उपचार पहुँचमा नहुनु जस्ता कारणले पुरुषको तुलनामा महिलाहरूमा मोतीबिन्दु हुने समस्या धेरै छ। अस्पतालका डा. गुरुङ भन्छिन्, ‘मुख्य कारण सामाजिक पक्ष हो, अहिले पनि परिवारमा महिलाको उपचार प्राथमिकतामा पर्दैन,’ उनले भनिन्।  

परिवारले सहयोग नगर्नु, निर्णय प्रक्रियामा कमी हुनु, आर्थिक कुरामा महिलाहरूको निर्णय नहुनु, घरबाहिर टाढाको उपचारमा जानु पर्दौ एक्लै जान नपाउने जस्ता कारणले पनि उनीहरूको उपचारमा ढिलाइ हुने गरेको गुरुङले बताइन्। 

अस्पतालका अनुसार कोभिड १९ को कारणले समयमै उपचार गर्न नपाउँदा मोतीबिन्दु भएका व्यक्तिहरूमा दृष्टिविहीनको समस्या झन् बढेको छ। नेपालमा कुल जनसंख्याको ०.४ प्रतिशतमा दृष्टिविहीन समस्या रहेकोमा ५६ प्रतिशत मोतीबिन्दुको कारणले छन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App