१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हिउँले कोरोना खोप कार्यक्रम प्रभावित

कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएको छैन। कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका गाउँमा खोप पुर्‍याउनै समस्या भइरहेको छ। गाउँगाउँसम्म मोटरबाटो नजोडिएको र बोकाएर लानुपर्ने भएकाले समयमै खोप लगाउन नसकिएको हो। कर्णाली करिडोर क्षेत्रमा भने खोप लगाउने कार्यक्रम चलिरहेको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा आइतबार सुरु भएको खोप कार्यक्रम अवरुद्ध भएको जनाइएको छ। आइतबार रातिबाटै हिउँ र वर्षा भएर अत्यधिक चिसो बढेकाले खोप कार्यक्रम प्रभावित भएको हो। निर्देशनालयका अनुसार हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम रोकिएको छ।  

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा खोप कार्यक्रम हुन नसकेकोे बताए। ‘हिमपात रोकिएको खण्डमा बुधबारदेखि सुरु गर्छौं,’ उनले भने। पहिलो दिन कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन्। आठ स्थानीय तहबाट भने अझै रिपोर्ट आउन नसकेको चौधरीले बताए। कर्णालीका १० जिल्लामा २ सय ८८ खोप केन्द्र तोकेर कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको हो।

सडकमार्गको पहुँच सबै गाउँमा नभएकाले कर्णालीका दुर्गम गाउँमा खोप लैजान सकस भएको थियो। माथिल्लो कर्णालीका विशेष गरी कालिकोट, जुम्ला, हुम्ला डोल्पा र मुगुका दुर्गम गाउँमा सडकमार्ग नहुँदा खोप लैजान समस्या भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

फागुन २३ देखि २६ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाउने अभियान सुरु भए पनि सडक मार्ग नभएकाले खोप ढिलो पुग्यो। पुगेको खोप लगाउन मिलेको छैन। जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले जुम्लाका ३ हजार २ सय जनालाई कोरोना खोप लगाउने बताए। एक नगरपालिकासहित आठ स्थानीय तहमा ६२ वटा खोप केन्द्र निर्धारण गरिएको छ। २२ वटा खोप केन्द्रमा आइतबार खोप सुरु भइसकेको छ।

जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटी मुगुको भौगोलिक विकटता हेरेर खोप केन्द्र विस्तार गर्न र सहज रूपमा स्वास्थ्यकर्मी परिचालन गरेर नागकिरलाई खोप दिने लक्ष्य रहेको बताउँछन्। ‘मुगुका चारवटै स्थानीय तहका स्वास्थ्य संयोजकसँगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाइएको छ,’ उनले भने, ‘यसअघि मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाएका छन्। दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सहज वातावरणमा खोप लगाउँछौँ।’

मुगुमा ३ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए। हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण अभियान स्थानीयको पहुँचमा पुर्‍याउन नसक्दा समस्या आएको छ। मुगुमा कोरोना संक्रमित नहुनुले पनि खोपको प्रभावकारिता खासै उपयुक्त नरहेको जनाइएको छ।

प्रकाशित: २५ फाल्गुन २०७७ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App