४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

झापामा सबैभन्दा ठूलो क्यान्सर अस्पताल सञ्चालनमा

अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ। स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो।  

यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ। बीएण्डसी अस्पताल परिसरमा ६ सय करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो। निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, 'अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन। पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ।'

तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिए। गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ। 

अस्पतालमा  पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उनले बताए। कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ।  

'यो क्यान्सर उपचारका लागि  सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन। उपकरण उही हो, ज्ञान उही हो।  अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो।' अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने। ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो। यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट  क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइएको छ।

 ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन्।  पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ। शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ। ‘पेट सिटीलाई  आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ। यो उपकरण काठमाडौं उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ। सरकारले  हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन। यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ।

नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ। क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन्। सत्तरी प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ। विकसित देशमा यो अवस्था ठीक उल्टो रहेको छ।

मुटु प्रत्यारोपणको तयारी  

कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिए। उनका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ। पूर्वाञ्चलमा पहिलोपटक ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ। अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ। रासस

प्रकाशित: १७ फाल्गुन २०७७ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App