६ वैशाख २०७८ सोमबार
स्वास्थ्य

संक्रमितको ग्राफ घट्दै दुई जिल्ला कोरोना शून्य

बहुआयामिक गरिबीको हटस्पट प्रदेश २ कोरोना महामारीको पनि हटस्पट बन्यो। वैशाख र जेठमा सुरु भएको पहिलो लहरको संक्रमणले कसैको ज्यान नलिए पनि साउन पहिलो सातादेखि फैलिएको दोस्रो संक्रमणबाट प्रदेशमा २०९ जनाले ज्यान गुमाए ।

४० दिन बढी निषेधाज्ञा भयो। सांसद, मेयर, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित १७ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भयो।प्रमुख व्यापारिक नाका, दुई ठूला भन्सार र नेपालको एक मात्र भारतीय रेलवेले जोडिएको सुक्खा बन्दरगाह रहेको वीरगन्ज सहरले कोरोनाको मार सबैभन्दा बढी खेप्यो।मुलुकमा आयातनिर्यातको लाइफलाइन नै कोरोनाको हटस्पट बनेपछि सर्वत्र त्रास फैलिएको थियो।

महानगर, प्रशासन र स्वास्थ्यकर्मीको कुशल प्रयासपछि बल्ल वीरगन्जमा संक्रमणको ग्राफ ओरालो लाग्न थाल्यो।वीरगन्जसँगै यस प्रदेशका हटस्पट जिल्लाहरू सिरहा र सप्तरीमा पनि कोरोना संक्रमित घट्न थाल्यो।सिरहा र सप्तरीमा त अहिले कोरोना संक्रमितको संख्या शून्यमै झरेको छ। बाँकी धनुषामा १०, महोत्तरीमा ४, सर्लाहीमा ६, रौतहटमा २, बारामा ३ र पर्सा जिल्लामा १ जना संक्रमित रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

लक्षणसहितको संक्रमण तीव्र रूपमा फैलिएपछि प्रदेश २ को वीरगन्ज, सिरहा र रौतहटमा झन्डै दुई महिनासम्म एक किसिमको सन्नाटा छायो। दैनिक एक जना कोरोना संक्रमितको मृत्यु भइरहेको थियो। अस्पतालमा बेड खाली नहुँदा संक्रमित घरमै बस्न बाध्य थिए। 

चैत ३० मा चारजना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वैशाख अन्तिम साता छप्कैयाका एकै परिवारका १७ जनामा संक्रमण देखिएपछि वीरगन्ज भयभीत बनेको थियो। सिरहा कारागारका ५ सयभन्दा बढी कैदी बन्दी संक्रमित भएका थिए। इलाका प्रहरी कार्यालय लहानका २० भन्दा बढी प्रहरी संक्रमित भएका थिए । त्यसबेलाको संक्रमणको ‘चेनब्रेक’ गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिक सफल भएका थिए।जेठको मध्यपछि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरूमा मात्र संक्रमण देखिन थाल्यो।

सहरमा चाहिँ ‘कन्ट्याक्ट ट्रेसिङ’ बाहेकको परीक्षण बन्द थियो। त्यही बेला सरकारले पैसा तिरेर पिसिआर परीक्षण गर्न सकिने घोषणा गरेपछि संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीको पहलमा महानगरले आफ्नै खर्चमा पिसिआर मेसिन खरिद गरी नारायणी अस्पतालमा स्वाब परीक्षण सुरु गरिसकेको थियो।वीरगन्जलाई ग्रिन जोन बनाउने नीतिमा काम अघि बढिरहेको थियो।

 मास टेस्टिङ, एक घर एक पिसिआर परीक्षण र समयमै कोरोना अस्पताल सञ्चालनले कोरोना नियन्त्रणमा छिट्टै सफलता मिल्यो।व्यवस्थित क्वारेन्टिन, आइसोलेसन सेन्टर, व्यापक परीक्षण, आफ्नै प्रयोगशालालगायत नीतिले रोकथाममा सहयोग पुर्‍यायो।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कोरोना नियन्त्रणका लागि तीनवटा रणनीतिमा केन्द्रित रहेर काम गरेको बताए।

‘परीक्षण, संक्रमितको व्यवस्थापन र उपचार यी तीनवटा रणनीति कार्यान्वयनमा ल्यायौं,’ उनले भने, ‘निषेधाज्ञाले आवतजावत कम गर्‍यो, जसले कोरोना भाइरसलाई घेराबन्दी गर्न मद्दत गर्‍यो।’ सिरहाका प्रजिअ प्रदीपराज कँडेलले पनि यही नीतिमा काम अघि बढाएर जिल्लालाई कोरोना संक्रमित शून्य जिल्ला बनाउन सफल भए।प्रजिअ कँडेलको पहलमा पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाएका कारण जिल्ला कोरोना संक्रमण शून्य बन्न सफल भयो।

प्रकाशित: १६ फाल्गुन २०७७ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?