१ जेष्ठ २०७८ शनिबार
स्वास्थ्य

‘एलोप्याथीमा नभएको औषधि आयुर्वेदमा छ’

२०२७ सालमा गुल्मीको बोलीवाङमा एउटी हजुरआमा (नन्दकला अर्याल) दमले ग्रस्त हुनुभयो। त्योबेला म मात्र आठ वर्षको थिएँ। पिताजीको मार्गदर्शनमा हिँडेको मलाई जडिबुटीसम्बन्धी केही ज्ञान थियो। पहिलोपटक मैले उहाँकै निमित्त जडिबुटीका अनेक द्रव्य मिसाएर ओखती बनाएर उहाँलाई खुवाएँ। त्यसपछिका दिनमा सधैँ उहाँ मैले बनाएकै ओखती खानुहुन्थ्यो। १० वर्षको उमेर (२०२९ साल) मा म अध्ययनका लागि भारत पुगेँ। एक वर्षपछि घर फर्कंदा थाहा पाएँ कि, हजुरआमाको दमरोग पूर्ण निको भइसकेको थियो।

२०३३ सालमा गाउँका माइलादाइ (सार्की जातका) रोगले थला पर्नुभयो। उहाँ बिरामी पर्नुभएको दिन मेरो बुवा घरमा हुनुहुन्थेन। कामको सिलसिलामा उहाँ दिनभरि बाहिर हिँड्नुहुन्थ्यो। डाक्टरले माइलादाइलाई अन्तिम डेट दिइसकेको थियो। उहाँको दिसा–पिसाब सबै ओछ्यानमै हुन्थ्यो। १४ वर्षको मलाई माइलादाइको अवस्था देखेर दया लाग्यो, साथसाथै घीन पनि। मैले जुन दिन माइलादाइलाई देखेर फर्कीएँ, त्यो दिन मैले भनेका कच्चा कुरा सुनेर बुवाले भन्नुभयो, ‘हाम्रो पेसामा दुई शब्द हुँदैन– घीन र हार, यो कहिल्यै नभुल्नू। कुनै पनि बिरामीलाई देखेर नघिनाउनू र कुनै पनि बिरामीमाथि उपचार गर्न कठिन छ भनेर हार नमान्नू।’ 

त्यसपछि त्यही दिन मैले बुवासँग सल्लाह गरेँ, माइलादाइलाई उपचार गर्नेबारे। बुवाकै सल्लाहअनुसार ओखती बनाएर माइलादाइलाई खान दिएँ। केहीदिनमै उहाँको स्वास्थ्यमा सुधार आयो। गाउँभरि हल्ला चलेको थियो– डाक्टरले मर्छ भनेकोलाई बद्रीकेटोले निको पार्‍यो भनेर। त्यसपछि मलाई जडिबुटीमा काम गर्ने प्रेरणा जाग्यो।

यो औषधि आत्रयराज अत्रिले पत्ता लगाएका हुन्। मैले उनका संहिता अध्ययन गरेर कोरोनाको औषधि बनाएँ, जसको नाम ‘अर्क बटी’ राखेको छु।

२०४७ सालमा राष्ट्रिय गरिबी न्यूनीकरण, मानव सभ्यता विकास तथा स्थानीय कच्चा पदार्थजन्य उद्योगका सम्भावनामा मलाई जीवराज आश्रितले काम गर्न दिनुभएको थियो। दुर्भाग्यवश उहाँ रहनुभएन र यसलाई राष्ट्रियकरण गर्न पाइएन। तर, म उहाँको सोचबाट प्रभावित भएर त्यस दिनपछिका दश वर्ष भारतमा बसेर जडिबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरेँ। आयुर्वेद आचार्यको अगाडि डा. लेख्ने चलन छ, मैले आयुर्वेदमा बिएएमएस गरेकाले डा. लेख्ने गरेको छु।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षको चैत ८ गतेदेखि नेपालमा लकडाउन भयो। त्यसको ठीक साढे दुई महिनापछि भाइरसले पार्ने असर र यसको रोकथामबारे बुझ्न मैले मेची–महाकालीको भ्रमण गरेँ। टाटासुमो गाडीमा ‘जडिबुटी प्रशिक्षक’को ठूलो ब्यानर राखेर निस्केको थिएँ। त्यतिबेला विभिन्न किसिमका बिरामी र उनीहरू कसरी संक्रमित भए भन्नेबारे बुझेँ। भारतबाट नेपाल भित्रिएकालाई पनि कोरोना लाग्यो, तर उनीहरू कतिपय घरमै बसेर निको भए। काठमाडौं लगायत विभिन्न ठूला सहरमा बस्नेहरू भने अस्पताल पुगेर पनि मृत्युको भयमा बाँच्नुपरेको थियो। तराईका गरिब नागरिक कसरी यसलाई जित्न सफल भए, त्योबारे पनि मैले राम्रोसँग अध्ययन गरेँ।

नेपाल भ्रमणको दौरानमा मलाई कैयौँपटक पास पनि मागियो। सबै कुरा बुझाएपछि मलाई कतै रोकटोक भएन। नेपाल भ्रमणका बेला म काठमाडौं पनि आएँ। मलाई स्मरण छ, नक्सालको बृहस्पति होटल लकडाउनको अत्यतिर भर्खर–भर्खर पुनः खुल्न लागेको थियो। पहिलो चरण कुरा गर्दा मलाई त्यहाँ बस्न नदिने कुरा भयो। आफूले बोकेको औषधि देखाएपछि मलाई होटलमा बस्न दिइयो।

नेपाल भ्रमण गरिसकेपछि घर (भैरहवा) फर्किएर आफूले बनाएको औषधि बिरामीलाई खुवाएँ। बुटवल टुडेका पत्रकार दीपक घिमिरे, जो कोरोनाबाट संक्रमित थिए, उनलाई मैले बनाएको औषधि खुवाएँ। औषधि सेवन गर्नेबित्तिकै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो। त्यस्तै, कोरोना पोजेटिभ भएका एक सय ५३ जनाले मैले बनाएको औषधि सेवन गरे। तीमध्ये एक सय ३८ जना तुरुन्तै (सात दिनभित्रै) निको भए। त्यसपछि मैले जडिबुटीबाट बनाएको अर्कबटीप्रति शतप्रतिशत विश्वास लाग्यो।

यो औषधि आत्रयराज अत्रिले पत्ता लगाएका हुन्। मैले उनका संहिता अध्ययन गरेर कोरोनाको औषधि बनाएँ, जसको नाम ‘अर्क बटी’ राखेको छु। बिरामीलाई कुनै साइड इफेक्ट नदेखिई निको हुन थालेपछि मैले त्यो औषधिलाई आफ्ना छरछिमेक र बजारीकरण पनि गरेँ। तर, डब्लुएचओले मान्यता नदिएसम्म यसलाई कोरोनाको औषधि भन्न मिल्दैन, त्यसकारण मैले ‘यसको प्रयोग ज्वरो आउँदा, रुघा लाग्दा, खानाको स्वाद नपाउँदा र श्वास फेर्न गाह्रो हुँदा सेवन गरौँ’ भन्ने लेबल लगाई बजारमा पठाएँ।

मैले मेहनतका साथ बनाएको यो औषधिलाई अनुसन्धान परीक्षण गरेर अगाडि बढाइयोस् भनेर आवेदन दिँदा समेत सरकारबाट केही प्रतिउत्तर आएन। यो औषधि भेन्टिलेटरमा राखेको बिरामीलाई खुवाइयो। त्यस्तै, मैले यो औषधि आचार्य बालकृष्णलाई पनि पठाएँ। उहाँले यसमा भएको द्रव्य अनुसार नै औषधि निकाल्नुभयो र प्रयोग गर्नुभयो।

आयुर्वेद र त्रिदोष

आयुर्वेद आफैँमा एउटा बृहत् महासागर हो। जसबाट ससाना नदीजस्ता ओखती निस्कन्छन्। यही आयुर्वेदलाई राम्रोसँग बुझेरै मैले कोरोनाकालमा सयौँ बिरामीलाई निरोगी राखेँ, बचाएँ। आयुर्वेद आयु र वेद शब्द मिलेर बनेको छ। आयु भनेको जीवन र वेद भनेको ज्ञान हो। जीवनको विषय जान्नुलाई नै आयुर्वेद भनिन्छ।

आयुर्वेदमा जोडिने अर्को शब्द हो, त्रिदोष। आयुर्वेद महासागर हो भने त्रिदोष यही महासागरभित्र पाइने तत्व जस्तै हो। त्रिदोष विकृत भएपछि मात्र मानिसलाई रोग लाग्ने हो। शरीर पञ्चतत्वबाट बनेको हुन्छ, तिनै पञ्चतत्वलाई त्रिदोषले अधीनमा राख्छ।  

आयुर्वेद र त्रिदोषमा ठूलो फरक छ। आयुर्वेद भनेको विधा हो भने त्रिदोष भनेको एउटा तत्व। आयुर्वेदको देन थुप्रो छ। हाम्रो देशमा जडिबुटीबाट वार्षिक १६ अर्ब आम्दानी हुन्छ। आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म मात्र ७७ अर्बको कारोबार भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बताएको छ, यो मात्रा हरेक वर्ष बढ्दो छ।  

आयुर्वेदको सुरुवात धेरै वर्षपहिले भएको हो। युगको गणना गर्दा त १६ अर्ब वर्ष पुरानो भन्ने हुन्छ। तर, अहिलेको विज्ञानले त्यसलाई मान्यता दिएको छैन। वाग्भट्टका संहिताहरूमा आयुर्वेदबारे चर्चा पाइन्छ। हाम्रा ऋषिमुनिले तीन लाख ५० हजार वनस्पति पत्ता लगाए।  

मैले आफ्नो बाल्यकालमै आयुर्वेदलाई नजिकबाटै चिन्दै आएको छु। जसरी हाम्रा ऋषिहरूले अनुसन्धान गरे, हामीले त्यसरी नै अनुसन्धान गर्न अहिले सकेनौँ, त्यसैको कारण अहिले हामी निकै पछाडि छौँ। यदि यसको आधुनिकीकरण हुन्थ्यो भने यसको चर्चा एलोप्याथीभन्दा माथि हुन्थ्यो।

आजभोलि सबैजना एलोप्याथीकै भरमा बाँचिरहेका छन्। हल्का ज्वरो आयो कि ‘साइनेक्स’, पेटमा गडबडी हुनेबित्तिकै ‘मेन्ट्रोन’ र टाउको दुख्नेबित्तिकै ‘निम्स’ लिइहाल्छौँ। तर, हाम्रा ऋषिमुनिले पत्ता लगाएको आयुर्वेदबारे हामी चर्चा पनि गर्दैनौँ। आयुर्वेदिक औषधिले ढिलो काम गर्ने र जीवनभरि खाइरहनुपर्ने भन्ने अफ्mवाहका कारण हामीकहाँ आयुर्वेद पछाडि छ।

आयुर्वेदलाई विश्वास गर्ने धेरै आधार पाइन्छन्। हाम्रा ऋषिमुनिहरूले विषाणु, जीवाणुलाई मार्न सयौँ प्रकारका सूत्र बनाइसकेका थिए। जुन आजसम्म एलोप्याथीले बनाएको छैन। हामीले जुन भ्याक्सिन लगाएका छौँ, त्यो पनि शरीरको रोगसँग लड्ने क्षमता बढाउने भ्याक्सिन हो, भाइरस मार्ने होइन। तर, हाम्रा ऋषिहरूले यस्ता कैयौँ सूत्र लेखेर औषधि पनि तयार पार्नुभयो। आयुर्वेदको भरपर्नाले नै हामीलाई फाइदा छ, किनकि जुन चिज एलोप्याथीबाट पत्ता लागेको छैन, त्यो आयुर्वेदबाट सयौँ वर्षअगाडि पत्ता लागिसकेको छ। जन्डिस रोगको उदाहरण लिऊँ। यो रोग आयुर्वेदिक पद्धतिबाट तीन खुराकमै निको हुन्छ। जन्डिसलाई पिलिया भनेर चिन्छौँ, यसको एलोप्याथी औषधि छैन। त्यसैले हामी नेपालीले आयुर्वेदमा विश्वास गर्नुपर्छ र यसको महिमा साराले बुझ्न जरुरी छ।

आयुर्वेदलाई सबैले पत्याउँछन्। तर यसको विकास हुन सकेको छैन। भारतका रामदेव बाबाले पतञ्जलीबाट केही चर्चा–परिचर्चा कमाए पनि आयुर्वेदिक औषधि मान्छेले हत्तपत्त दिइहाल्दैनन्। सामान्य बिरामी हुँदा मात्र यसको प्रयोग गरेको पाइन्छ। जसरी एलोप्याथीले अनुसन्धान र अध्ययनलाई जोड दिइरहेको छ, त्यस्तै अनुसन्धान र अध्ययन आयुर्वेदमा पनि आवश्यक छ।  

आयुर्वेदको विकास तब मात्र सम्भव छ, जबसम्म यसको ज्ञान घरको हरेक सदस्यलाई हुन्छ। एलोप्याथीको विकास पनि यसैका आधारमा भएको हो। अहिले नर्सरीमा पढ्ने बच्चाले पनि आफूले खाने एलोप्याथी औषधि नामले नचिने पनि डब्बा वा खोलले चिन्छन्। यसरी नै आयुर्वेदबारे पनि घरघरमा बुझाउन आवश्यक छ। देशको २७६ ठाउँमा मैले प्रशिक्षण दिइसकेको छु। कतिपय ठाउँ यस्ता छन्, जहाँ हामीले तालिम दिएर, बुझाएर सिकाएर आएपछि त्यहाँका बासिन्दाले एलोप्याथीका डाक्टरसामु चेकअपका लागि पनि गएका छैनन्। जुन महिलालाई सेतो पानी बग्ने, रातो पानी बग्ने जस्ता समस्या हुन्थ्यो, उनीहरू अहिले वरिपरिका वनस्पति खोजेर सेवन गर्न थालेका छन्। हाम्रो अभियान गाउँघरहरूतिर सफल पनि भएको छ। यो अभियानमा सरकारको साथसँगै यसको व्यापक प्रचार–प्रसार हुन आवश्यक छ।

(निमेष पौडेलसँगको कुराकानीमा आधारित।)

प्रकाशित: १५ फाल्गुन २०७७ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?