१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

सांकेतिब तस्बिर।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा बस्ने यो साता एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार यो साता बेलायतमा बस्ने १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार  शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका  ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।  

यस्तै, कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना छ भने  २ लाख ६९ हजार ६ सय १९ जना अर्थात ९८।७ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

यसैबीच, स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन्। स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परिक्षण पश्चात  खोपहरु प्रयोगमा ल्याइएकोले ति प्रयोगका लागि सुरक्षित छन्। हाल कोरोनाको विभिन्न ४ नयाँ भेरियन्ट देखा परेको बताउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन्।

बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरियन्ट पूरानो भाइरसका तुलनामा बढी संक्रामक छन्।  स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ।

विभिन्न दीर्घ रोगको औषधी सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ। तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समेत समितिले सुझाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०८:३७ आइतबार

कोरोना संक्रमण गैरआवासीय नेपाली संघ