७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नेपालकै पहिलो श्वासप्रश्वास केन्द्रमा उपचार सुरु

भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ। अथक प्रयासपछि नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालन गर्न सफल भएको भक्तपुर नगरपालिकाले दाबी गरेको छ। केन्द्रको बिहीबार एक समारोहबीच उद्घाटन गरी उपचार पनि सुरु गरिएको छ।  

भक्तपुर नगरपालिका–९ तुमुचो डुगुरेमा सो केन्द्र स्थापना गरिएको छ। भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको हो। नेपालमा दिनप्रतिदिन दीर्घरोगी बिरामीको संख्या बढ्दै गइरहेकाले न्यूनीकरण गर्न पुनस्र्थापना केन्द्र स्थापना गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। दीर्घ दमखोकी भएका व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी सेवा प्रदान गर्न केन्द्र सञ्चालनमा ल्याएको बताएको छ। सेवा मात्र नभई सेवासम्बन्धी तालिम दिने र देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्थाको क्षमता वृद्धि योजना रहेको बताइएको छ। केन्द्रको स्थापनाका लागि जापान सरकार, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र स्थानीय एकीकृत विकास समाज नेपालबाट सहयोग प्राप्त भएको जनाइएको छ।

केन्द्रले दीर्घ दमखोकी भएकाको रोगको निदान गर्ने र ती व्यक्तिलाई श्वासप्रश्वास पुनस्र्थापना सेवा प्रदान गर्ने, दीर्घ दमखोकी भएका व्यक्तिको प्रारम्भिक निदान, उपचार र पुनस्र्थापनाका लागि सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने, सामुदायिक परिचालन, सूचना, शिक्षा र सञ्चारका गतिविधिको माध्यमबाट दीर्घ दमखोकी रोगको रोकथाम र नियन्त्रणबारे जनचेतना जगाउने, श्वासप्रश्वास पुनस्र्थापनासम्बन्धी विशेषज्ञता, तालिम र मानव संशाधनहरू उपलब्ध गराउने उद्देश्यले केन्द्र राखेको जनाएको छ। केन्द्रमा भक्तपुरका विभिन्न स्वास्थ्य संस्थाहरूबाट रेफर भई वा आफैं आएका दीर्घ दमखोकीका बिरामीहरूका लागि सेवा प्रदान गर्ने जनाएको छ।  

यो रोगका कारण विश्वमा वार्षिक करिब ३० लाख र नेपालमा १६ हजार व्यक्तिको ज्यान गइरहेको तथ्यांक छ। धूमपान, सवारीसाधन, खाना पकाउन प्रयोग गरिएको आगो, इँटाभट्टा आदिबाट निस्केको धुवाँका कारण फोक्सोमा दीर्घ असर परी दमखोकी हुने गर्दछ। केन्द्रको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक विशेष समारोहबीच उद्घाटन गरेका थिए। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्वासप्रश्वास पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गरे।

श्वासप्रश्वास पुनस्र्थापना भनेको दीर्घ दमखोकीका बिरामीलाई सास फेर्न सजिलो बनाउन दिइने फोक्सोको अभ्यास र शिक्षासम्बन्धी कार्यक्रम हो। यसले बिरामीलाई सास फेर्न सजिलो बनाउँछ। शरीरलाई फूर्तिलो राख्न मद्दत गर्छ। साथै खाइरहेको औषधिको मात्रा घटाउन मद्दत पुर्‍याउँछ। समग्रमा दीर्ध दमखोकीका बिरामीको दैनिकी सजिलो हुन्छ। जीवनको गुणस्तरमा सुधार ल्याउन सकिन्छ।

प्रकाशित: ३० माघ २०७७ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App