१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिन्धुपाल्चोकमा पनि कोरोनाविरुद्ध खोप लगाउन सुरु

तस्बिर : ध्रुव/नागरिक

कोरोना भाइरसबाट मुलुकमै पहिलो पटक संक्रमितले ज्यान गुमाएको सिन्धुपाल्चोकमा बुधबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँलाई पहिलो डोज दिँदै जिल्लामा भ्याक्सिन लगाउन थालिएको हो । स्वास्थ्य कार्यालयमा खोप लिँदै उनले अभियान सुभारम्भ गरे । पहिलो चरणमा संक्रमण रोकथाममा अग्रपंक्तीमा खटिने जनशक्तिलाई भ्याक्सिन लगाइने बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जानकारी दिए ।  

उनका अनुसार चौतारा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाइएको छ । बाह्रविसे केन्द्रबाट भने शुक्रबारदेखि खोप लगाइने कार्यालयले जनाएको छ । पहिलो दिन १०/१० स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोपको पहिलो डोज दिइयो । अग्रपंक्तिमा खटिने एक हजार पाँच सय ८३ जनशक्तिलाई पहिलो चरणमा खोप दिने कार्यालयको तयारी छ । खोप लगाउनेको सूचीमा आठ सय ८२ स्वास्थ्यकर्मी, ६ सय ८५ महिला स्वास्थ्य स्वयम्सेविका, ३६ एम्बुलेन्स चालक र शब व्यवस्थापनमा खटिने २० सुरक्षाकर्मी छन् ।  

स्वास्थ्य मन्त्रालयबाट एक हजार सात सय ८० डोज कोभिशिल्ड भ्याक्सिन प्राप्त भएको बरिष्ठ स्वास्थ्य अधिकृत चापागाईँले जनाए । उनका अनुसार पहिलो चरणमा पाँच दिन खोप अभियान चलाइने छ । ‘प्राप्त डोजका आधारमा अन्य चरणमा क्रमशः मन्त्रालयले तोकेको प्राथमिक सूचीअनुसार अभियान चल्छ,’ उनले भने ।  

कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा १७ को मृत्यु भइसकेको छ । गएको वैशाखमा संक्रमणबाट पहिलो पटक जिल्लाकी एक महिलाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट ज्यान गएको यो मुलुककै पहिलो घटना थियो । बाह्रविसे नगरपालिका घर भएकी नौ दिने सुत्केरी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि मात्र कोरोना संक्रमणबाट उनको ज्यान गएको पुष्टि भएको थियो ।  

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा आठ सय ६८ लाई संख्या संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये आठ सय ४८ उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रिय संक्रमित तीन मात्र आइसोलेसनमा उपचाररत छन् । ६ हजार सात सय तीनको पिसिआर परीक्षण गएिको थियो । ‘भ्याक्सिन कोरोना संक्रमण रोकथाममा सहयोगी बन्ने विश्वास छ,’ पहिलो खोप लगाएपछि बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले भने । खोप लिनेलाई पहिलो डोज लगाएको चार हप्तापछि दोस्रो मात्रा दिइने उनले जनाए । 

प्रकाशित: १४ माघ २०७७ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App