१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मृतकका आफन्तलाई उचालेर पैसा असुल्न चिकित्सकमाथि हातपात

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा उपचारका क्रममा ६ दिनअघि गुल्मीका ६२ वर्षीय देवीराम गौतमको मृत्यु भयो। आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाए। आरोप मात्र होइन, उपचारमा संलग्न कोभिड आइसियूका क्रिटिकल केयर विशषेज्ञ डा.सविन भण्डारीमाथि मृतक गौतमका छोराले लात्ती प्रहार गरे। मृत्युको विषयमा छलफल हुँदाहुँदै डा. भण्डारीमाथि लात हानेपछि महाराजगन्ज प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्‍यो। अस्पतालको प्रशासनसँगको छलफलपछि ती आक्रमणकारीलाई सोही दिनको साँझ प्रहरीले छाडिदियो। पहिला क्षयरोगी गौतमले उपचारका क्रममा दाँत दुखाइ कम गर्ने औषधिसमेत प्रयोग गरिरहेका थिए।

उक्त घटना हुनभन्दा चार दिनअघि पनि सोही अस्पतालको आइसियूमा उपचार गराइरहेका ५४ वर्षीया बिरामीको मृत्यु भएपछि ड्युटीमा खटिएका आवासीय चिकित्सक दिलीप बरालमाथि कुटपिट भयो। ती चिकित्सकमाथि चक्रपथतिरबाट आएको एक समूहले हातपात गरेको अस्पतालमा खटिएका प्रहरी पदम पन्तले बताए। बिरामीको मृत्युलाई लिएर पटकपटक चिकित्सकमाथि आक्रमण भएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकले दोषीलाई कारबाही माग राखेका छन्। आक्रमणकारीलाई कारबाही नभए काम गर्न सहज नहुने चिकित्सक बताउँछन्।  

डा.भण्डारीले बिनाकारण लात प्रहार गरिएपछि आफूलगायत चिकित्सकले तनावमा काम गरिरहनुपरेको आइतबार नागरिकलाई सुनाए। उनले आफूले सुदेखि नै बिरामीको अवस्थाबारे आफन्त पक्षलाई जानकारी दिइरहेको तर मृत्युको विषयलाई लिएर आक्रमण गरिएकोमा दुःख लागेको बताए। ‘उपचारका क्रममा अरू बिरामीको मृत्यु भयो भने फेरि पिट्न आउँछन् कि जस्तो लाग्छ,’ उनले भने। बिरामीको उपचारमा खटिएका निर्दोष चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नहुँदा समस्या बल्झिँदै गएको बताइन्छ।  

बिरामीको मृत्यु भएपछि उपचारमा खटिएका चिकित्सकमाथि विभिन्न आरोप लगाएर कुटपिट गर्ने र अस्पतालमा तोडफोड गर्ने क्रम बढ्दै गएको छ। जेठमा पनि नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा उपचारका क्रममा ५४ वर्षीय बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै झ्यालढोका तोडफोड गरे। श्वासप्रश्वासमा समस्या भएका ती बिरामीको आकस्मिक कक्षमा भर्ना गरिएको केही घण्टामै मृत्यु भएको थियो। अस्पतालको सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेको थियो।

गत वर्ष युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ५० वर्षीया यामकुमारी बुढाको मृत्यु भएपछि आफन्तले अस्पतालका चिकित्सक असीम घिमिरेमाथि हातपात गरेका थिए। चिकित्सकले ती बिरामीको मृत्युको कारण मस्तिष्क घात बताएका थिए। आफन्तले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको दाबी गर्दै हातपात गरेका थिए।

चिकित्सकमाथि भएका यी प्रतिनिधिमूलक घटना हुन्। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्त पक्षबाट चिकित्सकमाथि हातपात र अस्पतालका संरचना तोडफोड भएका दर्जनौं घटना छन्। तर यकिन तथ्याक नेपाल मेडिकल काउन्सिलसँग छैन। काउन्सिलका रजिस्टार डा। कृष्ण अधिकारीका अनुसार काउन्सिलमा उपचारमा लापरबाही भएकाले बिरामीको मृत्यु भएको भन्दै उजुरी पर्छन् तर चिकित्सक र अन्य स्वास्थ्यकर्मी कुटिएका घटनाको उजुरी पुग्दैनन्। कुटपिटसँग सम्बन्धित भएकाले यस्ता घटना प्रहरीकहाँ पुग्छन्। ‘कतिपय यस्ता घटना अस्पतालमै मेलमिलाप गर्दा प्रहरीसमक्ष पनि पुग्दैनन्,’ उनले भने।

बिरामी निको नभए वा मृत्यु भएका कतिपय घटनामा आफन्त पक्षले चिकित्सकमाथि विभिन्न आरोप लगाएर हातपात गरेका दर्जनौं उदाहरण छन्। अस्पताल गएपछि निको हुनुपर्छ भन्ने बिरामी पक्षको सोच हुन्छ। तर सधैं सोचेजस्तो हुँदैन। सोचेजस्तो नभएपछि आफन्तले चिकित्सकमाथि आक्रमण गर्छन्, जुन गलत हो। ‘चिकित्सा विज्ञानले हरेक बिरामी निको हुने ग्यारेन्टी गरेको छैन तर हामीकहाँ अस्पताल लगेपछि निको हुनैपर्छ भन्ने गलत सोच छ। यही गलत सोचका कारण पनि चिकित्सकमाथि हातपात हुने गरेको छ ,’ रजिस्टार अधिकारीले भने।

चिकित्सकमाथि हातपात भएका कतिपय घटनामा दोषीलाई राजनीतिक संरक्षण हुँदा पनि यस्तो घटनाले प्रश्रय पाइरहेको चिकित्सक बताउँछन्। राजनीतिक हस्तक्षेपका कारण कतिपय घटनामा प्रहरीले दोषीलाई कारबाही गर्न नसक्दा पनि हातपातको क्रम दोहोरिरहेको रजिस्टार अधिकारीको को भनाइ छ। चिकित्सकबाट उपचारमा लापरबाही भएको लागेमा कानुनी उपचारको बाटो हुँदाहुँदै पनि आक्रमणमा उत्रिनु अराजकता हो छ।

त्रिवि शिक्षण अस्पताल क्रिटिकल तथा इन्टेन्सिप केयर युनिटका प्रमुख डा। सुवास आचार्यका अनुसार सो अस्पतालमा १० दिनको अन्तरमा हातपात र दुव्र्यवहारका तीनवटा घटना भएका छन्। हातपात र दुव्र्यवहारका कारण चिकित्सकले त्रासमा काम गर्नु परेको उनले बताए। यस्ता घटनाले चिकित्सकको मनोबलमा ह्रास ल्याउने गरेको छ। चिकित्सकमाथि पटकपटक कुटपिट हुँदा निजी अस्पतालमा कार्यरत चिकित्सकको कतिपय गम्भीर अवस्थाका बिरामीको उपचार नगरी सरकारी अस्पतालमा रेफर गर्ने चलन पनि बढेको छ।  ‘कतिपय अवस्थामा चिकित्सकले जोखिम मोलेर उपचार गर्न छोडेका छन्, आक्रमण हुने डरले गम्भीर रोग लागेका बिरामीलाई अन्यत्र रेफर गर्नेतिर चिकित्सक लाग्छन्,’ उनले भने। गम्भीर अवस्थाका बिरामीलाई सरकारी अस्पतालमा रेफर गर्ने चलनले त्यस्ता अस्पतालमा बिरामीको चाप पर्दै गएको छ।

कानुनमै कमजोरी

नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीका अनुसार समाजमा अरू पेसाकर्मीलाई कुटपिट भएपछि कारबाही गर्ने कडा कानुन भए पनि चिकित्सकमाथि कुटपिट हुँदा गर्ने कानुनी कारबाही कमजोर भएकाले बारम्बार आक्रमण हुने गरेको हो। ‘चिकित्सक पिट्नेलाई कारबाही गर्ने दरो कानुन नेपालमा छैन,’ उनले भने, ‘बर्दीमा रहेका प्रहरी, न्यायाधीश पिटिएमा कारबाही हुन्छ, उनीहरूका लागि कानुन छ तर हाम्रा लागि छैन।’ चिकित्सकले उपचारमा लापरबाही गरेमा उजुरी गर्ने निकाय भए पनि त्यसतर्फ नलागी बिरामी पक्ष हातपातमा उत्रिनु दुखद भएको उनले बताए।

मेडिकल पत्रकारितामा गलत शीर्षकका समाचारले पनि कुटपिट गर्ने समूहलाई पे्ररित गरेको डा.कार्कीको भनाइ छ। ‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु जस्ता समाचार शीर्षकले चिकित्सकमाथि शंका गर्ने ठाउँ दिइरहेको छ,’ उनले भने। कुनै पनि चिकित्सकको लापरबाहीको छानबिन गर्ने निकाय मेडिकल काउन्सिल र अदालत हुन् तर यहाँ छानबिन नुहँदै आउने समाचार र शीर्षकले उल्टो अर्थ दिइरहेको उनको तर्क छ। ‘अनुसन्धान ठहर भएपछि भनिने कुरा पहिल्यै समाचार बनेको हुन्छ,’ उनले भने।

कार्कीैका अनुसार नेपालमा माओवादी द्वन्द्वपछि चिकित्सकमाथि कुटपिटका घटना बढ्न थालेका हुन्। यस्ता घटनाले २०६२ सालसम्म चरम रूप लिइसकेको उनको भनाइ थियो। २०६६ सालमा चिकित्सक सुरक्षा ऐन आएपछिको केही अवधिमा चिकित्सकमाथि हातपातमा कमी आएको थियो। पछिल्लो समयमा बिरामीको मृत्युको विषयलाई उचालेर पैसा असुल्ने बिचौलिया समूह सक्रिय भएकाले पनि यस्ता घटना बढेको उनको बुझाइ छ। ‘अस्पताल वरिपरि घुम्ने यो समूह मृत्युका घटना थाहा पाउनेबित्तिकै बिरामी पक्षलाई उचालेर तोडफोडमा उतार्छ, उत्रिन्छ र पैसा असुल्छ,’ उनले भने।

प्रकाशित: १२ माघ २०७७ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App