न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने। हात धुने स्टेसनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ। साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ। कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन अर्थात् हातले छोइरहनु नपर्ने हात धुने स्टेसन धादिङ जिल्लाको सात वटा स्थानीय तहहरुका प्रत्येक वडा र स्वास्थ्य संस्थाहरुमा जडान गरिएको छ।
कोरोना भाइरस लगायत अन्य सरुवा रोगहरु हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले नछोइकन हात धुन मिल्ने प्रविधि जडान गरिएको गंगाजमुना गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फैसिङ तामाङले बताए। ‘अझै पनि कोरोना भाइरसको संक्रमणको दर कायमै छ, हामीले सरसफाइमा विशेष ध्यान दिनुपर्छ’, वडाध्यक्ष तामाङले भने, ‘हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन।’
विश्वभर नै कोरोना भाइरसको संक्रमण बढ्दो छ। कुनैै पनि भाइरसबाट जोगिन सरसफाइमा विशेष ध्यान जान आवश्यक हुन्छ। त्यसमाथि पनि कोरोना भाइरसको महामारीबाट बच्न चिकित्सकले पटकपटक हात धुन सुझाव दिइरहेका छन्। कहिले काहीँ हात धुने तरिका नजान्दा पनि भाइरसको जोखिम हुने गर्छ। नियमित रुपमा हात धोइरहेपछि धुने तरिकाको बारेमा जानकारी नहुँदा जोखिम बढ्न सक्छ।
ड्रममै हात धुने स्टेसनबारे जानकारीका साथै हात धुने विधिबारे पनि वर्णन गरिएको छ। नयाँ प्रयोगकर्ताले त्यहाँ राखिएको निर्देशिका पढेर हात धुन सक्नेछन्। एउटा स्ट्याण्डमा दुई वटा धारा जडान गरिएको छ। एउटा ठूला व्यक्तिहरु र अर्को साना बालबालिकाहरुका लागि जडान गरिएको छ। हात धोएको फोहोर पानी जम्मा हुने छुट्टै ठाउँ व्यवस्था गरिएको छ।
हात धुने स्टेसन जडानका लागि डीसीए नेपाल र एक्सन नेपालले सहयोग गरेको छ। सात स्थानीय तहको ५४ वटा वडा, ५५ वटा स्वास्थ्य संस्था, दुई वटा स्थानीय तह (बेनिघाट रोराङ र ज्वालामुखी गाउँपालिका) र एउटा कोभिड अस्पताल (ज्वालामुखी) मा निर्माण गरिएको छ। एक सय १२ ठाउँमा हात धुने पेडल स्टेसन निर्माण गरिएको एक्सन नेपालका हाउजिङ रिकन्स्टक्सन तथा वास कार्यक्रम अन्र्तगत वास कार्यक्रमका कार्यक्रम संयोजक रन्जन पौडेलले बताए। ‘बढी भीडभाड हुने वडा कार्यलय, स्वास्थ्य संस्थामा जडान गरिएको हो’ उनले भने, ‘एक खुट्टाले दबाउँदा पानी झर्ने, अर्को खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेसन निर्माण गरेका हौँ।’
हात धुने स्टेसनसँगै निमुर्लिकरणका सामानहरु पनि प्रदान गरिएको छ। निमुर्लिकरणका सामान पहिलो पटक प्रयोग गर्न पाउँदा खुसी लागेको गजुरी गाउँपालिका वडा नं ४ चिउरीखर्कमा रहेको आभारभूत स्वास्थ्य इकाईमा कार्यरत कार्यलय सहयोगी कल्पना तामाङले बताइन्। ‘सरसफाई गर्दा कुचो लगाउने पानीले पुछ्ने मात्र गर्दै आइरहेका थियौँ,’ उनले भनिन्, ‘क्लोरिनको झोल बनाएर सरसफाइ गर्न पाउँदा खुसी छौँ, संक्रमणको जोखिम कम हुने आशा गरेका छौँ।’
प्रकाशित: २१ पुस २०७७ ०४:११ मंगलबार