१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य विज्ञकाे चेतावनी : जाडोमा रक्सी नपिउनुस्, ज्यान जाला !

भारतको मौसम विभागले दिल्लीसहित उत्तर भारतका धेरै क्षेत्रमा बुधबारदेखि केही दिन शीत लहर चल्ने र तापक्रम निकै कम हुने सूचना जारी गरेको छ।  

दिल्ली एनसिआर, हरियाण, पन्जाब र चन्डीगढमा केही दिनयता तापक्रम शून्य डिग्री आसपास रहेको छ।  

मौसम विभागको चेतावनी  

भारतको मौसम विभागले निर्देशिका जारी गर्दै त्यहाँका नागरिकलाई रक्सी नपिउन सुझाव दिएको छ। किनकि रक्सी पिउँदा शरीरको तापक्रम झन् घट्छ।  

यस विषयमा बिबिसीले भारतीय मौसम विभागका क्षेत्रीय पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवसँग जिज्ञासा राखेको छ।  

जवाफमा उनले भनेका छन्, ‘दिल्ली एनसिआर क्षेत्रमा अहिले पनि शीतलहर जारी छ। तापक्रम ४ डिग्री वा योभन्दा कम देखिएको छ। यस्तो स्थितिमा सकेसम्म घरबाट बाहिर निस्कन हुँदैन। बिहानै यात्रामा निस्कियौं भने पारदर्शिता (भिजिबिलिटी) पनि कम हुन्छ। यस्तो बेला गाडी बत्ती बालेर विस्तारै चलाउनुपर्छ। साथै यस्तो मौसममा रक्सी पनि पिउन हुँदैन, किनकि यसले शरीरको तापक्रम झन् घटाउँछ।’  

रक्सी नपिउन चेतावनी किन?  

भारतीय मौसम विभागले गत २५ तारिखमा जारी गरेको निर्देशिकामा पनि रक्सी नपिउन चेतावनी दिइसकेको छ। यसमा प्रश्न उठ्छ– आखिर मौसम विभागले यस्तो चेतावनी किन दिइरहेको छ?  

बिबिसीले गरेको यो प्रश्नमा मौसमविद् श्रीवास्तवले अगाडि भने, ‘यस विषयमा स्वास्थ्य विज्ञले अनुसन्धान गरेका छन्। त्यही आधारमा यस्तो चेतावनी जारी गरेका हौं।’

आम धारणा के छ भने रक्सी पिउँदा शरीर झन् तात्तिन्छ।  

यस्तो अवस्थामा मौसम विभागले रक्सी नपिउन जारी गरेको चेतावनी कतिको वैज्ञानिक छ त भन्ने विषयमा बिबिसीले स्वास्थ्य क्षेत्रका केही विशेषज्ञसँग कुराकानी गरेको छ।  

के भन्छ विज्ञान?  

मानिसको शरीरको मूल तापक्रम ३७ डिग्री हुन्छ। तर जब तपाईंको आसपासको तापक्रम घट्न थाल्छ, तब शरीरले आफ्नो मूल तापक्रम कायम राख्न ऊर्जाको व्यवस्था गर्न थाल्छ। तर जब शरीरको तापक्रम सीमाभन्दा तल झर्न थाल्छ तब तपाईं हाइपोथर्मियाको सिकार बन्नुहुन्छ।  

मौसम विभागको चेतावनीअनुसार दिल्ली एनसिआर, पन्जाब, हरियाणामा अहिले जुन तापक्रम छ, त्यस्तो वातावरणमा धेरै बेर बस्ने मानिसलाई हाइपोथर्मिया हुने जोखिम हुन्छ।  

सरल शब्दमा जब शरीरको मूल तापक्रम सीमाभन्दा धेरै कम हुन थाल्छ तब हाइपोथर्मिया हुन थाल्छ।  

अब प्रश्न उठ्छ– कम तापक्रम भएको स्थानमा रक्सी पिउँदा शरीरलाई के असर हुन्छ त?

दिल्लीस्थित एलएनजेपी अस्पतालका सीएमओ डा. ऋतु सक्सेना रक्सी र जाडोबीचको सम्बन्धबारे यसरी बताउँछिन्। उनी भन्छिन्, ‘जब तपाईं रक्सी पिउनुहुन्छ तब तपाईंको शरीरमा ‘भेजो डायलेसन’ हुन्छ। जसका कारण तपाईंका हात, खुट्टाका रक्तनलीको विस्तार हुन्छ र पहिलेभन्दा बढी मात्रामा रक्त प्रवाह हुन थाल्छ। जसले गर्दा तपाईंलाई गर्मीको महसुस हुन्छ। यसकारण हामीलाई लाग्छ, पश्चिमी मुलुकका मानिस रक्सी बढी पिउँछन्, जहाँ ज्यादै चिसो हुन्छ।’

तर वास्तवमा रक्सीका कारण हात, खुट्टामा रगतको मात्रा बढ्छ र गर्मीको महसुस हुन्छ र  मानिस आफ्नो शरीरका ज्याकेट, स्वेटरजस्ता न्याना कपडा उतार्न थाल्छन्। तर उनीहरूले कपडा फुकाल्छन् तब शरीरको मूल तापक्रम घट्न थाल्छ। तर हामीलाई थाहा हुँदैन कि यो हाम्रो शरीरका लागि निकै खतरनाक हुन सक्छ।’

रक्सीले तापक्रम बढाउँदैन भने गर्मी किन हुन्छ त भन्ने प्रश्नमा म्याक्स हेल्थकेयरको औषधि विभागका सहनिर्देशक डा. रोमेल टिक्कु भन्छन्, ‘अक्सर तपाईंले रक्सी ज्यादै पिउने मानिसको अनुहार रातो रातो भएको देख्नुभएको होला। किनकि रक्सीका कारण उसका बाहिरी अंग जस्तै ः अनुहार, हात, खुट्टाका रक्त नलीमा रगतको प्रवाह बढ्छ। यसले गर्मीको महसुस गराउँछ किनकि शरीरको भित्री रगतको मात्रा बाहिरी अंगमा सर्छ र शरीरको मूल तापक्रम घट्न जान्छ।’  

यसकारण चिसो मौसममा रक्सी पिउनुहुन्छ र धेरै पिउनु हुन्छ भने तपाईंको शरीरको तापक्रम कम हुन्छ। रगतको प्रवाह बढ्ने कारण तपाईंलाई पसिना पनि आउँछ, जसले शरीरको तापक्रमचाहिँ झन् कम गराउँछ। तसर्थ तपाईं चिसो मौसममा रक्सी पिउनुहुन्छ भने समस्या हुन सक्छ।’

अब प्रश्न उठ्छ– जाडोमा रक्सी पिउँदा ज्यानै पनि जान सक्छ?

डा. ऋतु सक्सेनाका अनुसार जाडोमा ज्यादै रक्सी पिइयो भने ज्यानै जाने खतरा पनि हुन्छ।  

उनी भन्छिन्, ‘यदि तपाईं चिसो मौसममा धेरै रक्सी पिउनुहुन्छ भने तपाईंले कपडा ठीकसँग लगाउनुहुन्न। रक्सीका कारण तपाईंको दिमागमा असर पर्छ। जसले गर्दा तपाईंलाई थाहा हुँदैन कि म कहाँ कुन अवस्थामा छु? यस्तो अवस्थामा जब तपाईंको शरीरको तापक्रम ३७ डिग्रीभन्दा तल झर्छ र बिस्तारै बिस्तारै तपाईंमा ‘हाइपोथर्मियाको असर देखिन थाल्छ। हाइपोथर्मियाले मानिसलाई कोमामा पुर्याउन सक्छ र ज्यानै पनि जान सक्छ।’ बिबिसी हिन्दीबाट भावानुवाद

प्रकाशित: १६ पुस २०७७ ०९:३१ बिहीबार

रक्सी जाडो