८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वैद्यखानाको च्यवनप्राश अर्को वर्ष पनि अभाव हुने सम्भावना

सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको र बजारमा सबैभन्दा बढी खपत हुने च्यवनप्राश अर्को वर्ष पनि अभाव देखिने सम्भावना बढेर गएको छ। कोभिड–१९ संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न प्रयोग गरिने आयुर्वेदिक औषधि च्यवनप्राश उपलब्ध गराउन नसकेको वैद्यखानाले अर्को वर्ष पनि च्यवनप्राशको उचित व्यवस्थापन गर्न नसक्ने अवस्था देखिएको हो।  

च्यवनप्राशका लागि आवश्यक पर्ने कच्चा पदार्थ जंगली अमलाको सिजन बित्न लाग्दा वैद्यखाना व्यवस्थापन र ठेकेदारको मिलेमतोमा बेलैमा जंगली अमलालगायत च्यवनप्राश उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापन नहुँदा अर्को वर्ष पनि अभाव हुने सम्भावना बढेर गएको सिंहदरबार वैद्यखानाको उत्पादन हेर्ने कर्मचारी बताउँछन्।  

नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक वैद्यखानाले उत्पादनमध्ये सर्वाधिक बिक्री हुने च्यवनप्राशको उत्पादन अहिले ठप्प छ। आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिनसक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादन तथा कच्चा पदार्थ व्यवस्थापनमा अहिले खासै चासो देखाएको छैन। वैद्यखानाको बदमासीको विषयमा चौतर्फी आलोचना भइरहेको अवस्थामा अर्को वर्षसमेत अभाव दोहोरिने सम्भावना बढेर गएको छ। यसको फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीले लिइरहेका छन्।  

सस्तो, भरपर्दो र गुणस्तरीय औषधि उत्पादन गर्दै आएको वैद्यखानाको पछिल्लो समय विशेष ब्रान्डको रूपमा रहेको च्यवनप्राश उत्पादन र कच्चा पदार्थ व्यवस्थापन गर्न नसक्दा अहिले झैं अर्को वर्ष पनि निजी उत्पादक कम्पनीले फाइदा लिने वैद्यखानाका उच्च अधिकारीको गुनासो छ। ‘च्यवनप्राश उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ जंगली अमलाको मुख्य सिजन पुसभित्र मात्र हुने भएकाले यो अवधिभित्र ठेकेदारले अमलालगायत कच्चा पदार्थ आपूर्ति नगरे अर्को वर्ष झन् वैद्यखानाको च्यवनप्राश उपभोक्ताले पाउने अवस्था आउँदैन,’ वैद्यखानाका एक उत्पादन अधिकारीले भने, ‘तर व्यवस्थापनमा रहेको उच्च अधिकारी, ठेकेदार र निजी क्षेत्रको मिलेमतोमा नियतवश समयमै अमलालगायत कच्चा पदार्थको आपूर्ति गर्न आलटाल गरिएको बुझ्न आएको छ। यो संस्था देश र उपभोक्तामाथि ठूलो बेइमानी हो।’ जंगली अमला पुसमा धैरै पाउने र माघ लागेपछि अभाव हुँदै जाने वैद्यखानाका कर्मचारी बताउँछन्। तर ठेकेदारले अहिलेसम्म पनि च्यवनप्राशलगायत आयुर्वेद औषधि उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ आपूर्ति गर्ने सुरसार नगरेको कर्मचारीको भनाइ छ।  

व्यवस्थापनकै कमजोरीका कारण संस्था धराशायी बन्दै गएको र विस्तारै वैद्यखानाले पनि च्यवनप्राश उत्पादन गर्छ र ? भन्नुपर्ने स्थिति आएको ती कर्मचारीको आरोप छ। सिंहदरबार वैद्यखानाले उत्पादन गर्ने आयुर्वेदिक औषधिको कच्चा पदार्थ आपूर्ति गर्ने ठेक्का कृष्णा ट्रेडर्सले पाएको थियो। तर व्यवस्थापन र ठेकेदारको मिलेमतोमा अहिलेसम्म पनि च्यवनप्राशलगायत आयुर्वेदिक औषधि उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ आपूर्ति नहुँदा उच्च माग भएको बेला चरम अभाव भएको च्यवनप्राश अर्को वर्षसम्म पनि त्यही अवस्थामा रहने सम्भावना बढेर गएको देखिन्छ।  

सिंहदरबार वैद्यखानाले आव २०७४/७५ मा करिब साढे ५ करोड रूपैयाँको आयुर्वेदिक औषधि बिक्री गरेको थियो। त्यसयता लगातार वैद्यखानाको व्यापार खस्कँदो छ। यो आव उत्पादन ठप्प हुँदा बिक्री मात्र ह्वात्तै घटेको छैन, कर्मचारी व्यवस्थापनमासमेत समस्या आउने अवस्था पैदा भएको छ। वैद्यखानाको प्रशासनिक खर्च नै करिब तीन करोड रहेको छ। अहिलेको दुई करोडको औषधि पनि वैद्यखानाले बिक्री गर्न नसकेकाले संस्था सञ्चालन र व्यवस्थापनमै धौधौ पर्ने देखिन्छ।  

उचित मूल्यमा गुणस्तरयुक्त औषधि उत्पादन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उचित मूल्यमा बिक्री वितरण तथा प्रचार प्रसार गर्ने लक्ष्य राखेको सिंहदरबार वैद्यखाना अहिले आफैं निजी तथा विदेशी आयुर्वेदिक औषधिबाट विस्थापित हुने अवस्थामा पुगेको हो।  

सिंहदरबार वैद्यखानाका औषधि उत्पादनको अवस्था र च्यवनप्राश उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति हुन नसकेको विषयमा कुरा गर्न खोज्दा सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेल सम्पर्कमा आउन चाहेनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिंहदरबार वैद्यखानाको अवस्थाको विषयमा मन्त्रालयले छिट्टै बुझने बताए। ‘वैद्यखानाको वियषयमा विभिन्न कुरा बाहिर आइरहेको छ, यो विषयमा मन्त्रालयले बुझेर मात्र भन्न सक्छ, अहिले नै मन्त्रालयले कुनै प्रतिक्रिया दिँदैन,’ उनले भने।

प्रकाशित: ३ पुस २०७७ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App