१७ माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

चिसोमा कोरोना संक्रमण अझै बढ्ने, सचेत हुन चिकित्सकको आग्रह

चिसो बढेसँगै कोरोना भाइरसको संक्रमण अझै बढ्नसक्ने भन्दै चिकित्सकहरूले सचेत गराइरहेका छन्। त्यसमा पनि चिसोका कारण अन्य समस्याहरू पनि आउने भन्दै चिकित्सकहरूले यसबाट जोगिन सुझाएका छन्। चिकित्सकले जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। चिसो बढेसँगै दम, मुटुजस्ता दीर्घरोगका बिरामीलाई कोभिड–१९ को संक्रमण हुने उच्च सम्भावना रहेकाले स्वास्थ्यमा थप समस्या आउन सक्ने चिकित्सकको भनाइ छ। रुँघाखोकी, श्वासप्रश्वास, निमोनिया, फोक्सोको संक्रमण तथा हृदयाघात, जोर्नी दुख्ने, पिनास, एलर्जी र कार्बनमोनोअक्साइड पोइजनिङजस्ता स्वास्थ्य समस्या देखा पर्दैै आएको छ।  

जाडोमा हुने श्वासप्रश्वास समस्याका कारण वृद्धवृद्धालाई निकै मुस्किल पर्छ। श्वासप्रश्वास (दम) बढ्दै जाँदा त्यसले मुटुमा समेत असर गर्ने र ज्यान समेत जान सक्ने चिकित्सकहरूले जनाएका छन्। जाडोमा भाइरल संक्रमणले गर्दा मानिसमा रुँघाखोकीको समस्या देखा पर्दै आएको छ। पानी र तातो तरल पदार्थ कम सेवन र शरीरलाई न्यानो अवस्थामा राख्न नसक्दा चिसोले भाइरल संक्रमण हुने सम्भावना उच्च रहेको चिकित्सकहरू बताउँछन्। भाइरल फ्लु लागेका व्यक्तिसँग सकभर टाढा रहनु उपयुक्त हुने अधिकांश चिकित्सकको सुझाव छ।  

वरिष्ठ छाती रोग विशेषज्ञ डा. शान्तकुमार दास सामान्य अवस्थामा भन्दा जाडो समयका १७ प्रतिशत बढी श्वासप्रश्वास (फोक्सो)को समस्या हुने बताउँछन्। जाडोमा छातीमा संक्रमण हुने उच्च जोखिम रहेकाले बालबालिका र पाको उमेरका मानिसलाई निमोनिया हुने उच्च जोखिम रहेको उनको भनाइ छ। डा. दासका अनुसार जाडोमा भाइरस एक्टिभ हुने र प्रदूषण तथा चिसोले गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले श्वासप्रश्वास, रुँघाखोकीसँगै निमोनिया हुने सम्भावना उच्च रहन्छ। एकसाथ धेरै स्वास्थ्य समस्याले च्याप्ने अवस्था बढी भएकाले स्वास्थ्यमा झन् जटिल समस्या पैदा हुने बताउँदै यसबाट जोगिन विशेष सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ। कोभिड–१९ संक्रमणका कारण धैर बिरामीको फोक्सोमा लामो समयसम्म असर पुगेको अनुभव सुनाउँदै उनले निको भएपछि पनि फोक्सोमा असर रहिरहने भएकाले यसबाट भरसक जोगिन डा. दासको सल्लाह छ।  

भिटामिन–सी ्युक्त मौसमी फलफूल खाने, तातो झोलिलो खानेकुरामा जोड दिने तातोपानी सेवन गर्ने, सकभर घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने उनको सुझाव छ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की जाडो मौसममा रुघाखोकी, श्वासप्रश्वास, निमोनिया, सिजनल फ्लु फोक्सोको संक्रमण तथा हृदयाघात, जोर्नी दुख्ने, सुक्खा छाला हुनेजस्ता मुख्य स्वास्थ्य समस्या देखा पर्ने बताउँछन्। श्वासप्रश्वासका बिरामीलाई कोभिड–१९ को संक्रमणसमेत हुन सक्ने सम्भावना भएकाले स्वास्थ्य समस्या अझ जटिल बिरामी अस्पताल भर्ना हुने अवस्था आउन सक्ने भएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन उनको सुझाव छ। श्वासप्रश्वासका मुख्य कारण धूमपान, प्रदूषणसँगै चिसो भएकाले यो समस्याबाट जोगिन ध्यान दिनुपर्ने उनको भनाइ छ।

चिसो मौसममा भाइरस बढी सक्रिय हुने भएकाले रुँघाखोकीसहित एलर्जीको समस्याले सताउने खतरा रहेको डा. कार्कीको भनाइ छ। जाडोमा जोर्नीको दुखाइ पनि अर्को स्वास्थ्य समस्या भएको बताउँदै उनले न्यानो कपडा लगाएर बस्न सुझाव दिएका छन्। जोडोमा देखिने स्वास्थ्य समस्या कोभिडसँग मिल्दाजुल्दा हुने भएकाले कतिपय अवस्थामा चिकित्सक नै झुक्किने स्थिति रहेको बताउँदै डा. कार्कीले यस्तो अवस्थामा झन् बिरामी समस्यामा पर्ने बताए। जाडोमा हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्न उचित हुने उनको सुझाव छ।  

जाडो मौसममा पिनासलाई पनि मुख्य स्वास्थ्य समस्याको रूपमा लिने गरिन्छ। नाकभित्रको साइनसमा ब्याक्टेरियाको आक्रमणका कारण पिनास (साइनोसाइटिस) हुने प्राडा जेपी अग्रवाल बताउँछन्। रुँघा बिग्रिएपछि यस्तो समस्या पैदा हुने उनको भनाइ छ। पिनासको समस्या उत्पन्न भई नाकबाट श्वास फेर्न गाह्रो हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने अग्रावलले सुनाए। पिनासको समस्या देखिाना साथ नाक तातो राख्ने, पानीको बाफ लिने, चिसो खानेकुरा नखाने, मास्क लगाएर हिँड्ने गर्दा फाइदा हुने उनको सुझाव छ।  

चिसोको कारण हुने स्वास्थ्य समस्याबाट बच्न जाडोमा बिहानको चिसोमा सकभर हिँडडुल नगर्न डा. रिनेश सापकोटाको सुझाव छ। चिसोले फोक्सोमा संक्रमण हुने र उच्च कोलोस्टर हुने सम्भावना रहेकाले यसबाट जोगिन विशेष सतर्कता अपनाउनु पर्ने उनको सल्लाह छ। ‘चिसो बढेसँगै रगत जम्ने समस्या देखा पर्ने उच्च सम्भावना रहन्छ,’ डा. सापकोटाले भने, ‘रक्त चापमा समस्या देखा पर्ने भएकाले हृदयाघात हुनेसमेत खतरा हुन्छ।’ यो कुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।  

जाडोको समयमा बिहान बाहिर हिँडडुल गर्नैपर्ने अवस्था आए न्यानो कपडा, हातमा पन्जा, कान छोप्नेगरी टोपी लगाएर पुरै चिसोबाट सुरक्षित भएर घरबाहिर जान उचित हुने डा. सापकोटाको सुझाव छ। चिसो खानेकुरा सकभर नखाने र तातो झोलिलो खानेकुरामा जोड दिँदा स्वास्थ्यका लागि फाइदाजनक हुने उनको तर्क छ।  

चिसोबाट बच्न बन्द कोठाभित्र हिटर वा आगो ताप्ने प्रवृत्ति देखिएको बताउँदै डा. सापकोटाले झ्यालढोका सबै बन्द पारेर आगो ताप्दा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा कार्बनमोनोअक्साइड पोइजनिङ भई मानिसको ज्याननै जाने सम्भावना भएकाले हावा राम्रोसँग आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्न सुझाव दिए। घरमा कोठाभित्र बस्दा भेन्टिलेसन राम्रो भएको कोठामा बस्दा उपयुक्त हुन्छ।

प्रकाशित: ३ पुस २०७७ ०३:०५ शुक्रबार