४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक नहुँदा समस्यामा बिरामी

दरबन्दीअनुसार चिकित्सक नहुँदा बैतडीका जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ। दुर्गम क्षेत्रमा चिकित्सक बस्न नमान्दा जिल्लावासीले उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने या ऋण गरेर अन्यत्र जानुपर्ने बाध्यता छ।

लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिमा कठिनाइ भइरहेको छ। जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन समस्या भएको स्थानीय सुरत पार्कीले बताए।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरिएको भए पनि प्रतिस्पर्धाका लागि कोही आएनन्।

पछिल्लो डेढ वर्षयता उक्त प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले जानकारी दिए। अहिले मेलौली नगरपालिकामातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरिएको भए पनि प्रतिस्पर्धाका लागि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए।  

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायत सेवा सञ्चालनमा आउन सकेका छैनन्। पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ। उक्त स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक पनि सुत्केरी बिदामा बसेपछि सेवा दिने कोही नभएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।  

नवौं तहका एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा त्यस तहको कुनै चिकित्सक नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए। उनका अनुसार आठौं तहमा कार्यरत चारैजना चिकित्सक करारका हुन्।

भेन्टिलेटर र आइसियु सञ्चालनमा आएन

जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई शड्ढयाको सघन उपचार कक्ष स्थापना भए पनि चिकित्सक नहुँदा सञ्चालनमा आएको छैन। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सक नहुँदा सञ्चालनमा नआएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले बताए।  

कोरोना भाइरसका कारण जटिल अवस्थामा पुगेका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना गरिएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा आउन नसकेको हो।

प्रकाशित: ३० मंसिर २०७७ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App