१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण चीनमा भन्दा पहिले अमेरिकामा : नयाँ अनुसन्धान

अहिलेसम्मको जानकारीनुसार कोरोना भाइरस, विश्वमा सबैभन्दा पहिले चीनको उहानमा पत्ता लागेको भन्ने छ। तर अमेरिकी वैज्ञानिकले हालै गरेको नयाँ अनुसन्धानले चीनमा भन्दा पहिले नै अमेरिकामा यसको संक्रमण फैलिएको तथ्य पत्ता लगाएको छ।  

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का वैज्ञानिकले गरेको अनुसन्धानले चीनको उहानमा देखिनु (३१ डिसेम्बर २०१९) भन्दा २ हप्ताअघि नै अमेरिकाका तीनवटा राज्यका ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको प्रमाण फेला पारेको हो।

बिबिसीमा प्रकाशित खबरअनुसार यो कुरा ‘क्लिनिकल इन्फेक्सियस डिजिज’ पत्रिकामा प्रकाशित छ।

अनुसन्धानकर्ताका अनुसार अमेरिकामा २०१९ डिसेम्बर १३ देखि २०२० जनवरी १७ सम्म ७ रक्तदान कार्यक्रममार्फत ७ हजार ३ सय ८९ जनाले रक्तदान गरेका थिए। तीमध्ये १०६ जनाको रगतको नमुनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी फेला परेको हो।  

कसैको शरीरमा एन्टिबडी पाइनुको अर्थ के हो भने ऊ कोरोनाबाट संक्रमित भईकन निको भएको हो। त्यसैकारण उसको शरीरमा कोरोनाविरुद्ध लड्ने शक्ति अर्थात् एन्टिबडी विकास भएको हो।  

अनुसन्धानकर्ताका अनुसार रक्तदान कार्यक्रमअन्तर्गत अमेरिकाका ३ राज्य– क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा सन् २०१९ डिसेम्बर १३ देखि १६ सम्म रगत संकलन गरिएको थियो र त्यसमा सहभागीमध्ये ३९ जनाको रगतमा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।  

बाँकी ६७ जनाले भने जनवरीमा रगत संकलन गराएका थिए। जो मासेच्युसेट्स, मिसिगन, रोड आइल्यान्ड र विस्किन्सिन राज्यका हुन्। उनीहरूको रगतको नमुनामा पनि कोरोनाविरुद्ध एन्टिबडी पाइएको छ तर उनीहरूले चीनमा कोरोना देखिइसकेपछि रगत संकलन गराएका थिए।  

चीनमा भन्दा अमेरिकामा कोरोना संक्रमण पहिले भइसकेको पत्ता लागे पनि विश्वमा सुरुमा कोरोना कहाँबाट फैलियो भन्ने एकिन गर्न गाह्रो भइरहेको छ।  

किनकि अमेरिकी वैज्ञानिकले पनि अमेरिकामा देखिएका ती संक्रमित मानिस आफ्नै देशमा संक्रमित भएका थिए वा यात्राका क्रममा कतैबाट संक्रमित भए भन्ने कुरा निश्चित गर्न सकेका छैनन्।

रक्तदान कार्यक्रमको आयोजक संस्था रेडक्रसका अनुसार एन्टिबडी देखिएका मानिसमध्ये जम्मा ३ प्रतिशत व्यक्तिले मात्र भर्खरै विदेश यात्रा गरेको तथा तीमध्ये ५ प्रतिशत व्यक्तिले एसियाली मुलुकबाट फर्किएको बताएका थिए।

प्रकाशित: २० मंसिर २०७७ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App