१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गाउँ–गाउँमा खुले अस्पताल, घरदैलोमै उपचार पाउँदा दंग

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालनमा आएको अस्पतालमा लागेको बिरामीको भिड । राप्तीसोनारी अस्पतालमा बिरामीको शल्यक्रिया गरिदै । बाँकेको नरैनापुर गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालको शैया । तस्बिर : अर्जुन/नागरिक

शरीर दुख्न थालेको ९ महिना बितिसक्दा पनि बाँके, बैजापुरकी ४१ वर्षीया सिता थारु अस्पताल जान पाएकी थिइनन्। एकातिर कोरोना भाइरस(कोभिड–१९)को महामारी, अर्कोतिर घरदेखि टाढा (नेपालगन्ज र कोहलपुर) पुग्नुपर्ने बाध्यताका कारण उनले उपचार गराउन हिम्मत गरिनन्। जब, आफ्नै गाउँमा सुविधायुक्त अस्पताल सञ्चालनमा आयो, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ निवासी सिताले ढुंक्कसँग औषधि उपचार गराइन्। घरदैलोमै उपचार पाउँदा उनी दंग परिन्। ‘हात खुट्टा दुख्न थालेको ९ महिना भइसकेको थियो, तर अस्पताल जान पाएको थिएन,’ उनले नागरिकसँग भनिन् ‘अहिले आफ्नै गाउँमा अस्पताल सञ्चालन हुँदा उपचार गराउन पाएँ, अहिले शरीरको दुखाई पनि कम हुँदै गएको छ।’  

सोही गाउँका ४८ वर्षीय मेघराज थारुलाई बायाँ अण्डकोषको हाईड्रोशिलले वर्षौदेखि दुःख दिइरहेको थियो। उपचार नपाउँदा उनले कष्टपूर्ण जीवन बिताइरहेका थिए। गाउँमा अस्पताल सञ्चालनमा आएपछि मेघराजले पनि निःशुल्क रुपमा हाईड्रोशिल शल्यक्रिया गराए। ‘नेपालगन्ज र कोहलपुरका अस्पतालमा गएर यसको उपचार गर्न मलाई सम्भव थिएन, आफ्नै गाउँमा बनेको अस्पतालले निःशुल्क उपचार गरिदिँदा मैले पुनर्जन्म पाएको छु,’ उनले भने।  

राप्तीसोनारी गाउँपालिकाले आइतबारबाट सञ्चालनमा ल्याएको १५ शैयाको अस्पतालले सेवा दिँदा अहिले जिल्लाको पूर्वी ग्रामिण क्षेत्रका स्थानीयले राहत महसुस गर्न पाएका छन्। उक्त अस्पतालको एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका थिए। सरकारको नीति अनुसार राप्तीसोनारीमा १५ शैयाको अस्पताल सञ्चालन गरिएको र अस्पताल स्थापना भएपछि गाउँपालिकावासीलाई धेरै राहत मिलेको उनी बताउँछन्। ‘नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार अस्पताललाई हामी नियमित रुपमा सञ्चालन गर्नेछौं, अस्पताल सञ्चालनका लागि कार्यविधि बनाउने हाम्रो तयारी छ,’ उनले भने। साबिक बैजापुर स्वास्थ्य चौकीको स्तरोन्नती गरी गाउँपालिकाले उक्त अस्पतालका लागि एक जना एमबिबिएस डाक्टर समेत नियुक्त गरिसकेको छ।  

रिक्त रहेका अन्य दरबन्दी पनि क्रमशः पूर्ती गर्ने गाउँपालिकाले जनाएको छ। अस्पतालले साधारण शल्यक्रिया सेवा समेत प्रदान गर्ने अस्पताल प्रमुख डाक्टर गोविन्द थारुले बताए। अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ। अस्पताल उद्घाटनका क्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेको समन्वयमा निःशुल्क रुपमा हाईड्रोशिल बिरामीको शल्यक्रिया तथा अन्य उपचार गरिएको डाक्टर थारुले जानकारी दिए।  

प्रत्येक नगरपालिका र गाउँपालिकामा एउटा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने नेपाल सरकारको नयाँ स्वास्थ्य नीति अनुसार बाँकेका स्थानीय तहले क्रमशः अस्पताल सञ्चालनको प्रक्रिया सुरु गरेका हुन्। जिल्लाकै राप्तीपारी भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकाले पनि पाँच शैया क्षमताको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ।  

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका थिए। नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले बताए। स्वास्थ्य सेवामा पछाडी परेको नरैनापुरमा अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले स्थानीय स्तरमै सुबिधा पाएको बताए।

जिल्लाको खजुरा गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण गर्न भौतिक पूर्वाधार निर्माणको काम थाल्दैछ। खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन्। अस्पताल भवनको बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद नन्दलाल रोकायले सोमबार शिलान्यास गरिसकेका छन्। उक्त अस्पताल भवन १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। जिल्लामा रहेका कुल ८ वटा स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका बाहेक अन्य स्थानीय तहमा यसअघि अस्पताल थिएनन्।  

सरकारको उक्त नीतिलाई कार्यान्वयन गर्न केही स्थानीय तहले नयाँ भवन र केहीले हालै निर्माण गरिएका सुबिधायुक्त भवनलाई अस्पतालको रुपमा प्रयोग गर्ने भएका छन्। जिल्लाको जानकी गाउँपालिकाले अस्पताल निर्माणका लागि कागजी प्रक्रिया पुरा गरी केन्द्रमा पठाइसकेको छ। गाउँपालिका उपाध्यक्ष भुमीसरा धितालले गाउँ कार्यपालिकाको निर्णयसहितको कागजात केन्द्रमा पठाइसकेको बताइन्। ‘हामीले सबै कागजात केन्द्रमा पठाइसकेका छौं, त्यसपछि भवन निर्माणको काम थाल्नेछौं,’ उनले भनिन् ‘हाम्रै कार्यकालमा जानकी गाउँपालिकावासीले अस्पतालको सेवा पाउनेछन्।’ उपाध्यक्ष धितालका अनुसार जानकी गाउँपालिका वडा नम्बर ४ कार्यालयले १५ शैयाको अस्पताल निर्माणका लागि १० कठ्ठा जमिन उपलब्ध गराइसकेको छ।  

सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि आमनागरिक स्वास्थ्य सेवाको पहुँचमा रहने दाबी गर्छन्। ‘प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति छ, सबै स्थानीय तहमा अस्पताल सञ्चालन भएमा आमनागरिकले पर्याप्त मात्रामा स्वास्थ्य सेवा पाउनेछन्,’ उनले भने। अस्पताल निर्माणका क्रममा स्थानीय तह र स्वास्थ्य कार्यालय बीच कुनै समन्वय भने नभएको वरिष्ठ जनस्वास्थ्य अधिकृत शाह बताउँछन्।

प्रकाशित: १६ मंसिर २०७७ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App