१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णालीको सामथ्र्य बन्दै प्रतिष्ठान

स्वास्थ्य उपचार र औषधि अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीमा पछिल्लो समय अब त्यस्तो नहुने आशाको उज्यालो देखिन थालेको छ। दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले जटिल प्रकारका रोगको शल्यक्रियासहित उपचार सेवा पाइन थालेको छ। कर्णालीवासी प्रतिष्ठानबाट प्राप्त स्वास्थ्य सेवाबाट आशावादी बन्न थालेका छन्। प्रतिष्ठान उपचार सेवा मात्रै होइन, स्वास्थ्य शिक्षासमेत दिने थलो बनेको छ।  

प्रतिष्ठानका शैक्षिक कार्यक्रम सार्वजनिक गर्दै शिक्षाध्यक्ष निरेश थापाले अब कर्णाली प्रतिष्ठान उच्चस्तरका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने विषयको अध्ययन–अध्यापन गर्नेसम्म भइसकेको बताएका छन्। सरकारले स्नातकोत्तर तहमा पनि पाँच सिटमा अध्यापनका लागि अनुमति दिएकोे छ। आगामी शैक्षिक सत्रमा एमबिबिएस पढाउने तयारी भइरहेको शिक्षाध्यक्ष डा. थापा बताउँछन्।

२०७६ पुस १४ गते प्रधानमन्त्री तथा कर्णाली प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई एमडी जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन सिट तीन, एमडी एनेस्थेसिया एन्ड क्रिटिकल केयर सिट एक, एमडी अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी सिट एकलगायत कार्यक्रम संचालन गर्न अनुमति दिएको थियो।

पहिला स्वास्थ्य शिक्षा र सेवाको अभाव झेल्दै आएको कर्णालीले अहिले स्वास्थ्य जनशक्ति उत्पादन गरेर देशभर परिचालन गर्ने सामथ्र्य राख्न थालेको छ। पहिले कर्णालीमा डाक्टर आउँदैनथे। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर उत्पादन गरेर बाहिरका जिल्ला पठाउँदैछ। सामान्य रुघाखोकी लाग्दा पनि रेफर हुनुपर्ने कर्णालीवासीले अहिले यही जटिल प्रकारको स्वास्थ्य सेवा पाउने वातावरण बनेको छ।  

त्यसकारण ब्याचलर अफ नर्सिङ, ब्याचलर इन फार्मेसी, ब्याचलर इन क्लिनिकल न्युट्रसेनसमेतको अध्यापन सञ्चालन हुने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ। २०७१ सालदेखि २०७६ सम्म दुई सय ६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन्। हालसम्म पाँच सय १८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अब पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाफेरी अध्यापन गरेका छन्। जसमा स्टाफ नर्स दुई सय ४० र हेल्थ असिस्टेन्ट एक सय ९२ जना छन्। प्रतिष्ठानले आगामी वर्षदेखि प्रमाणपत्र तहका कक्षा पढाउन कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा दिइसकेको जनाएको छ। अब प्रतिष्ठानले उच्च तहको अध्यापन गराउने तयारी थालेको हो।  

शिक्षाध्यक्ष थापाले स्वास्थ्य शिक्षा र सेवाको अभाव झेल्दै आएको कर्णालीले अब स्वास्थ्य जनशक्ति उत्पादन गरेर देशभर परिचालन गर्ने सामथ्र्य राखेको बताए। ‘पहिले कर्णालीमा डाक्टर आउँदैनथे। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर उत्पादन गरेर बाहिरका जिल्ला पठाउँदैछ। पहिले सामान्य रुघाखोकी लाग्दा पनि रेफर हुनुपर्ने कर्णालीवासीले अहिले यही जटिल प्रकारको स्वास्थ्य सेवा पाउने वातावरण बनेको छ। यो समग्र कर्णालीवासीका लागि सुखद पक्ष हो। सुदूरका तीन जिल्ला बझाङ, बाजुरा र अछामसहित कर्णालीभरि नै प्रतिष्ठानबाटै उत्पादित जनशक्तिले काम गर्न थालेको छ। यसबाट कर्णालीमा चाहिने जनशक्ति कर्णालीमै उत्पादन भइरहेको संकेत मिल्छ। शिक्षाध्यक्ष थापाले भविष्यमा यहाँ उत्पादित जनशक्तिले देशभरिकै स्वास्थ्य संस्थामा काम गर्ने बताए। प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य संस्थासँग पनि सम्झौता गरिसकेको उनको भनाइ छ।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले कोभिड–१९ मा प्रतिष्ठानले आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रदर्शन गरेको बताए। पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनेदेखि विभिन्न जिल्लामा चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गरेको छ। उनले भने, ‘सबैले साथ दिए कर्णाली स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्योग बन्न सक्छ। यो उद्योगबाट दक्ष जनशक्ति उत्पादन भएर देशैभर पठाउन सकिनेछ। यो लक्ष्य हासिल गर्ने समय टाढा छैन।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन थाल्न सरकारले मूल्यांकन समिति गठन गरेको छ। चिकित्सा शिक्षा आयोगले टोली गठन गरेर प्रक्रिया अगाडि बढाएको छ। मूल्यांकनका लागि सो टोली कर्णाली आउन आतुर भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानमा एमबिबिएस, एमडिएमएस पठनपाठनका लागि ६२ विज्ञ तयार भइसकेका छन्। जसमा ५२ जना मेडिसिन, बेसिक साइन्स, पब्लिक हेल्थ र फार्मेसी र सातजना नर्सिङ मिडवाइफेरी, प्रोफेसर एकजना, एसोसिएट प्रोफेसर आठजना, असिस्टेन्ट प्रोफेसर १८ जना, लेक्चर १५ जना, एसोसिएट प्रोफेसर, सातजना नर्सिङ लेक्चर छन्। प्रतिष्ठानले तीन सय शड्ढयाको अस्पताल सञ्चालन गरिरहेको छ। सरकारले पाँच सय शड्ढयाका लागि सात करोड रकम विनियोजन गरिसकेको शिक्षाध्यक्ष थापाले जानकारी दिए। प्रतिष्ठानले नौ वर्षको कार्यकालमा निकै ठूलो फड्को मारेको छ। प्रतिष्ठानका विशेषज्ञ चिकित्सक सूर्यमान लिम्बूले कर्णाली प्रतिष्ठानले संकटमा पनि ठूलो सेवा दिइरहेको बताए। कोभिड–१९ बाट जोगिन स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरे।

प्रतिष्ठानले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। साथै स्वास्थ्य सेवा र स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गरिरहेको छ। कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन सुरु गरिरहेको शिक्षाध्यक्ष थापाले बताए। जनरल अफ कर्णाली एकेडेमी अफ हेल्थ साइन्स चौमासिक रूपमा प्रकाशन भइरहेको छ। प्रतिष्ठानले आठ  वर्षअघि नै ‘एक डाक्टर एक संस्था’ को अवधारणा अघि सारेको र सोहीबमोजिम कार्य अघि बढिरहेको थापाले बताए। कर्णालीमा स्वास्थ्य शिक्षा प्रदान गर्न सबैले सहयोग गरिरहेको उनले बताए। थापाले भने, ‘स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि कर्णाली क्षेत्र हब नै बन्नेवाला छ। यसका लागि सर्वपक्षीय र सर्वदलीय सहयोगको खाँचो छ। हालसम्मको सहयोगले प्रतिष्ठान यो स्थान सम्म पुगेको छ।’

प्रकाशित: ७ कार्तिक २०७७ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App