विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ।
३० देशमा गरिएको सो बृहत् अध्ययनमा विश्वका चार सय अस्पतालका ११ हजार बिरामी समेटिएका थिए। यो अध्ययनअन्तर्गत यी औषधिले समग्र मृत्युदर, भेन्टिलेटरमा उपचारको प्रभाव तथा अस्पताल बसाइ अवधिजस्ता विषयलाई समेटिएको थियो। यो अध्ययनमा विश्वका १३ सय चिकित्सक सहभागी थिए। ‘विश्वको सबैभन्दा ठूलो रेन्डमाइज्ड कन्ट्रोल ट्रायल अध्ययनले यी औषधिको प्रभावकातिरताबारे ठोस प्रमाण दिएको छ, विश्व स्वास्थ्य संगठनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
सोलिड्यारिटी थेरोप्युटिक्स ट्रायल नाम दिइएको सो अध्ययनको अन्तरिम नतिजा मेडिकल जर्नलमा प्रकाशनका लागि समीक्षा भइरहेको पनि डब्लुएचओले जनाएको छ। डब्लुएचओले यो बृहत् अध्ययनले महामारीका बेला पनि औषधिको प्रभावकारिताको विषयमा अन्तर्राष्ट्रिय अध्ययन गर्न सकिने प्रमाणित गरेको बताएको छ। यो अध्ययनको प्रारम्भिक नतिजा आएपछि विश्वभर यसको चर्चा सुरु भएको छ। ‘डब्लुएचओको बृहत् अध्ययनले कोभिड–१९ उपचारमा प्रयोग भएका रेम्डेसिभिर र इन्टरफेरोनको हावा खुस्किएको छ,’ विश्वको प्रमुख एकेडेमिक मेडिकल जर्नल साइन्सको अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारको शीर्षकमा भनिएको छ।
‘मृत्युदर घटाउन हाल प्रयोग भएका कुनै पनि औषधिले खास प्रभाव नदेखाउनु निराशाजनक हो। तर यसले ठूलो स्तरको अध्ययन हुनु जरुरी छ भन्ने प्रमाणित गरेको छ,’ बेलायतस्थित रिसर्च च्यारिटीका निर्देशक जेरमी फरारले सो जर्नललाई भनेका छन्।
सो अनलाइन संस्करणलाई आफ्नो प्रतिक्रिया दिँदै डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भनेकी छन्, ‘रोग निको पार्ने औषधि हाम्रो चाहना हो। नतिजाबारे ज्ञानै नभई औषधि प्रयोगलाई निरन्तरता दिनुभन्दा औषधिले काम गरेको छ÷छैन, जानकारी हुनु आवश्यक छ।’ उनी सो प्रारम्भिक अध्ययन प्रतिवेदनको सहलेखिकासमेत हुन्।
सो जर्नलले बहुप्रतीक्षित उक्त अध्ययनको नतिजा ‘निराशाजनक’ रहेको जनाएको छ। तर वैज्ञानिकहरूले यो बृहत् अध्ययनले हाल प्रयोगमा आएका चार औषधिबारे थप प्रस्ट पारेको भनेर प्रशंसा गरेका छन्। ‘मृत्युदर घटाउन हाल प्रयोग भएका कुनै पनि औषधिले खास प्रभाव नदेखाउनु निराशाजनक हो। तर यसले ठूलो स्तरको अध्ययन हुनु जरुरी छ भन्ने प्रमाणित गरेको छ,’ बेलायतस्थित रिसर्च च्यारिटीका निर्देशक जेरमी फरारले सो जर्नललाई भनेका छन्।
‘यसअघि मलेरियाको उपचारमा प्रयोग भएको हाइड्रोक्लोरोक्विन तथा एचआइभीको उपचारमा प्रयोग गरिने रिटोनाभिर र लोपिनाभिरको प्रभावकारिताबारे बेलायतमा जुन महिनामा भएको एक बृहत् अध्ययनले प्रश्न उठाइसकेको सन्दर्भमा रेम्डेसिभिर र इन्टरफेरोन–बेटाका प्रभावकारिताबारे केही आशा बाँकी थियो,’ जर्नलमा भनिएको छ।
इबोलाका उपचारमा यसअघि उपचार हुँदै आएको एन्टिभाइरल औषधि रेम्डिभिसिर आशालाग्दो उम्मेदवार मानिँदै आएको थियो। गत साता मात्र न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको एवं अमेरिकामा १ हजार कोभिड–१९ बिरामीमा गरिएको एक अध्ययनले रेम्डेसिभिरले बिरामीको अस्पताल बसाइ छोट्याएको तर मृत्युदरमा खास परिवर्तन नदेखिएको देखाएको थियो। यो औषधिलाई अमेरिका तथा युरोपले आपत्कालीन प्रयोगका लागि अनुमति दिएका छन्।
तर डब्लुएचओको संयोजनमा भएको बृहत् अध्ययनले अस्पतालमा यो औषधि प्रयोग गरेका र नगरेका बिरामीको मृत्युदरमा खास फरक नभएको देखिएको छ। अध्ययनमा रेम्डिभिसिरबाट उपचार गरिएका २७ सय ४३ बिरामीमध्ये ११ प्रतिशतको मृत्यु भएको छ भने औषधि उपयोग नगरेका सोही संख्याका अन्य बिरामीको मृत्युदर पनि ११ दशमलव २ प्रतिशत रहेको पाइयो।
अध्ययनको नतिजाबारे अमेरिकी अनुसन्धान संस्था स्क्रिप्स रिसर्च ट्रान्सलेसनल इन्सिच्युटका निर्देशकले सो जर्नललाई भनेका छन्, ‘यो अध्ययन प्रतिवेदन रेम्डेसिभिरको पक्षमा छैन। हाइड्रोक्सिक्लोरोक्विनजस्तो पुरै असफल त भन्न नमिल्ला तर सुरुमा आशा गरिएअनुरूप छैन।’ रेम्डेसिभिर औषधि विकास गरेको अमेरिकी कम्पनी जिलेड साइन्सले डब्लुएचओको यो अध्ययनको नतिजाबारे आशंका व्यक्त गरेको छ। ‘यो अध्ययनको डिजाइन व्यापक छ र नतिजालाई आवश्यक समीक्षा गरिएको छैन। अध्ययनले ठोस नतिजा दिन्छ भन्नेमा प्रस्टता छैन,’ सो कम्पनीले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी भनेकोे छ।
यसैगरी डब्लुएचओको अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भएको ‘इन्टरफेरोन बेटा’को नतिजा झन् निराशाजनक रहेको साइन्स जर्नलले भनेको छ। अध्ययनमा समेटिएका औषधि सेवन गरेका २ हजार ५० बिरामीमध्ये ११ दशममल ९ प्रतिशतको मृत्यु भएको थियो भने औषधि सेवन नगरेका बिरामीमध्ये मात्र १० दशमलव ५ प्रतिशतको मृत्यु भएको थियो।
डब्लुएचओको सो बृहत् अध्ययनमा भारत, अर्जेन्टिना, फिलिपिन्स, स्पेन, पेरुलगायत ३० राष्ट्र समेटिएको छ भने हरेक महिना दुई हजार थप बिरामीलाई यो बृहत् अध्ययनमा समेटिने र नयाँ औषधिबारे अध्ययन गरिने तयारी छ। सन् २०१४ देखि २०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीका बेलामा पनि विभिन्न देश समावेश गरेर यस्तै बृहत् अध्ययन भएको थियो।
प्रकाशित: १ कार्तिक २०७७ ०२:१७ शनिबार