१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मेडिकलमा विकृतिः लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री गर्दे

अनुगमन गर्दै औषधि व्यवस्था विभागको टोली । तस्बिर : रोहित राई

औषधि व्यवस्था विभाग विराटनगरको टोली बुधबार धरान १८ स्थित प्रनित फार्मेसीमा पुग्दा एक युवा औषधि बिक्री गरिरहेका थिए । विभागको टोलीले उनलाई कागजपत्र माग्यो । लाइसेन्स भएका व्यक्ति फार्मेसीमा थिएनन् ।

विभागका प्रमुख सञ्जिव कट्टेलले ती युवालाई सोध, ‘तपाईले फार्मेसी पढेको हो ?’ जवाफमा उनले ‘पढेको हो’ भने । ती युवाका अनुसार उनले झापाको दमकबाट फार्मेसी पढेका हुन्, तर परिक्षा दिएका भने छैनन् । शंका लागेर कट्टेलले सोधे,‘कुन कुन बिषय पढेको हो, भन्नुस् ।’ तब ती युवा बोल्नै सकेनन् । उनले विभागको टोलीलाई झुट बोलेको खुल्यो । अनुगमन टोलीले फार्मेसी सिल गर्दै ५ दिनभित्र विभागमा उपस्थित हुन पत्र थमायो ।

औषधि पसलमा फार्मेसी पढेका र लाइसेन्स प्राप्त व्यक्ति मात्र बसेर औषधि बिक्री गर्न पाउछन् । तर, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि सञ्चालनमा रहेको अधिकांश मेडिकलहरुमा लाइसेन्स प्राप्त व्यक्ति हुदैनन् । बुधबार विभाग अनुगमनमा आउदा १७ वटा मेडिकल पसलहरु हतारहतार बन्द गरेर मेडिकल सञ्चालकहरु भागेका थिए । अनुगमन भएको पसलमा पनि ६ वटामा लाइसेन्स भएका व्यक्ति नभेटिए पनि सिल गरिएको विभागका प्रमुख सञ्जिव कट्टेलले बताए । ‘हामी अनुगमनमा आएको थाह पाएपछि मेडिकल बन्द भए । त्यसको हामीले सुची बनाएका छौं, हामी आउदा खुला थियो, केही छिनमा १७ वटा मेडिकल बन्द भयो,’कट्टेलले भने ।

प्रमुख कट्टेलका अनुसार फार्मेसी पढेका व्यक्तिले लाइसेन्स लिएर भाडामा दिने विकृति व्यप्त छ । लाइसेन्सवाला व्यक्तिहरुले मासिक १०, १५ हजारमा लाइसेन्स भाडामा लगाएका हुन्छन् । उनीहरु भने सरकारी जागिरे वा अन्यत्र फुलटाइम जागिर खाएका हुन्छन् । कतिपय विदेशमा पनि छन् । यसरी लाइसेन्स अर्कोलाई भाडामा लगाउनु गैरकानुनी हो भने फार्मेसी नपढेका व्यक्तिले गलत औषधि दिएर विरामीको ज्यान गएका घटनाहरु पनि छन् ।

विभागका अनुसार गएको बैशाखमा तेह्रथुममा यस्तै एउटा प्रतिनिधि घटना भएको छ । ‘लाइसेन्सवाला व्यक्त मास्र्टस पढ्न भारतमा छ । उसको ठाउँमा अर्को व्यक्ति बसेर औषधि बेचिरहेको रहेछ,’कट्टेलले भने,‘एक जना मुटु दुख्यो भनेर मेडिकल आउदा औषधि दियो, त्यो विरामीको मृत्यु भएको छ ।’ यस्तै, विराटनगरको न्युरो हस्पिटल अघि लाइसेन्सवाला व्यक्ति भारतको बैंलोर पढ्न गएको तर मेडिकलमा बस्नेले म्याद गुज्रिएको औषधिमा लेवल फेर्ने, एउटामा अर्को औषधिका लेवल लगाउने जस्ता कार्य गरेको पनि भेटिएको उनले बताए । ‘आफू अर्कोतिर काम गर्यो, लाइसेन्स भाडामा लगाएर १०, १५ हजार लिन्छन्,’कट्टेलले भने,‘पढ्दै नपढेको व्यक्ति, कमर्श पढेको व्यक्तिले एउटा औषधिको ठाउँमा अर्को दिन सक्छ । विरामीलाई गलत परामर्श दिनसक्छ, र ज्यादै पनि जानसक्छ । यो विकृति ज्यादै जोखिमपुर्ण छ ।’

विभागका अनुसार लकडाउन अघि मेडिकलले गलत औषधि दिएको गुनासो महिनामा २, ३ वटा नियमित आउने गरेको थियो । अहिले भने लकडाउनको कारणले गुनासो आउन रोकिएको छ । यद्यपी, विभागले लकडाउनकै अवधिमा विभिन्न जिल्लामा नियमित अनुगमन गरिरहेको र मेडिकलमा भएको विकृती अन्त्य गर्न लागिपरेको कट्टेलले बताए । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अघिको मेडिकलहरुले थोरै औषधि प्रयोग गरेपनि धेरैको विल बनाएर ठगी गरेको गुनासो पनि अत्यधिक आइरहेको उनको भनाई छ ।

बुधबार अनुगमन शुरु भएपछि पसल बन्द गरेर भाग्ने औषधि व्यवासायीहरुलाई विभागका उपस्थित गराउन प्रहरीमा पत्राचार गर्ने र वयान लिने विभागले जनाएको छ । यस्तै, लाइसेन्सवाला व्यक्ति नभेटिएको पसलहरुलाई पनि सिल गरेर ५ दिन भित्र विभागका उपस्थित हुन पत्र थमाइएको छ । ‘विभागमा बोलाएर वयान लिन्छौं । लाइसेन्सप्राप्त व्यक्ति अन्य ठाउँमा फुलटाइम काम गरेको पाइएमा छोड्न निर्देशन दिन्छौं, पटके परेको भए औषधि ऐन अनुसार अभियोग पत्र दायर गरेर कारबाही प्रक्रिया अघि बढाउछौं,’कट्टेलले भने ।

धरानका एक औषधि व्यवसायीका अनुसार वीपी प्रतिष्ठान अघि मात्र १ सय भन्दा बढी औषधि पसलहरु सञ्चालनमा रहेको छ । ती मध्ये ७५ प्रतिशत मेडिकलहरुमा लाइसेन्स भएका व्यक्तिहरु बस्दैनन् । उनीहरुले मासिक १०, १५ हजार रुपैया लाइसेन्स भएका व्यक्तिलाई भाडा बुझाउने गरेका छन् । ‘लाइसेन्स लिएकाहरुकति सरकारी जागिरमा छन्, कोही विदेशतिर छन् । मेडिकलबाट १० देखि १५ हजार पाइरहन्छन्,’ती व्यवसायी भन्छन्,‘उनीहरुले ३, ४ जना विचौलिया राख्छन्, र विारमीलाई लुट्छन् ।’  

औषधि व्यवासायी संघ, सुनसरीका सचिव पंकज झा औषधि पसलमा भएको विकृति अन्त्य हुनुपर्ने बताउँछन् । उनले लाइसेन्सको सही व्यक्तिले सहीरुपमा सदुपयोग गराउन सम्बन्धित निकायले कडाईका साथ नियमितरुपमा अनुगमन गर्नुपर्ने बताए । ‘विकृति छ, सबैलाई कानुनी दायरामा हुनुपर्छ,’उनी भन्छन्,‘लाइसेन्सको सही सदुपयोग भएन । सही काम भएन । विरामी ठगिनु भएन । विरामीलाई लुट्नको लागि मात्र प्रयोग हुनु भएन ।’

प्रकाशित: २८ आश्विन २०७७ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App