६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

शल्यक्रियाका लागि दुई वर्षसम्म पर्खनुपर्ने

उपचारकाे पर्खाइमा काठमाडाैं गाेकर्णस्थित एक टहराेमा परिवारसहित नरजित शाही। तस्बिर: नागरिक

बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाडौं आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाडौं ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।

२०७६ फागुन पहिलो सातातिर नरजितको कम्मर दुख्न थाल्यो। उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गए। अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो। नरजित अलि दिन घरमै बसे। दुखाइ बढेपछि उनी फागुन अन्तिम साता काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल गए। उपचार खर्च ३ लाख रुपैयाँ लाग्ने बताइयो। उनीसँग त्यति पैसा जुटाउने स्रोत थिएन।

चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे। नेपालमा कोरोना संक्रमण सुरु भइसकेकाले अस्पतालले उनलाई भर्ना लिन मानेन। त्यहाँका कर्मचारीले उपचारका लागि २ लाखजति लाग्ने बताए। यताउता गर्दा उनीसँग भएको ५० हजार रुपैयाँ सकियो। २०७७ वैशाखदेखि उनको कम्मरमुनिको भाग चल्न छाड्यो। थला परेपछि परिवारसहित उनी गाई फार्मबाट निकालिए। त्यसपछि गोकर्णको एउटा टहरामा ओत लागेको नरजितको परिवार अहिले समाजसेवीको सहयोगको भरमा छ। नरजित कुनै मनकारीले सहयोग गरे अनि सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुने आशामा छन्।

धापासी बस्ने म्याग्दीकी २९ वर्षीया रीता केसी २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। उनलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिइयो। निजी अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाउन नसक्ने भन्दै रिता पालो कुरेर बसेकी छन्। कोरोना संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउने/नआउने टुंगो छैन। ‘गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन,’ उनले भनिन्, ‘अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले शल्यक्रिया हुँदैन भनेर फर्काइदिए।’

राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँचबाहिर छ। अहिले पनि झन्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्षपछिको शल्यक्रिया मिति कुरेर बसेका छन्।

बाजुराका नरजित र म्याग्दीकी रीता मात्रै होइनन्, पेट र छातीको दुखाइ सहँदै बूढानीलकण्ठकी सुभद्रा गजुरेल पनि शल्यक्रियाको पालो पर्खेर बसेकी छन्। २०७६ पुस २३ मा त्रिवि शिक्षण अस्पताल पुगेकी सुभद्रालाई तीन दिनपहिले भिडिओ एक्सरे गर्दा मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रियाको समय लिन बोलाएइको थियो। डाक्टरले बिरामी कार्डमा २०७८ माघ पहिलो साता शल्यक्रियाका लागि आउने व्यहोरा लेखिदिए।

पीडा सहँदै दुई वर्षसम्म पालो पर्खन बाध्य
असह्य दुखाइ खपिरहेकी पत्नीलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिएको देखेर पति सुमन गजुरेल छक्क परे। अनुनयविनय गर्दै भने, ‘अलि अगाडि सार्न मिल्दैन सर ?’ त्यहाँ रहेका डाक्टर ज्ञानेश्वर श्रेष्ठले रुखो स्वरमा भने, ‘छिटो शल्यक्रिया गर्ने भए अन्त जानुस्।’ डाक्टरको वचनले घोचेपछि ऋण खोजेरै भए पनि निजी अस्पताल जाऔंला भन्दै उनीहरू बाहिरिए। तर खर्च हिसाब गर्दा निजीमा जाने उनीहरूको सामथ्र्य थिएन। ‘निजी अस्पतालमा डेढ लाख रुपैयाँभन्दा धेरै खर्च लाग्छ भने,’ सुमनले भने, ‘त्यसपछि त्यहाँ जाने आँटै आएन।’ सुभद्रा अहिले पनि शिक्षण अस्पताल महाराजगन्जको २०७८ माघ पहिलो साताको शल्यक्रिया मिति कुरेर बसेकी छन्।

काठमाडौं लाजिम्पाटकी ३७ वर्षीया पार्वती श्रेष्ठ पनि पित्तथैलीको पत्थरीसँग जुध्दैछिन्। २०७७ असार पहिलो साता त्रिवि शिक्षण अस्पताल पुगेकी उनको शल्यक्रिया मिति २०७८ असारमा तोकिएको छ। पार्वतीको परिवारलाई निजी अस्पतालको खर्च जुटाउन सकिएला भन्ने लागेको छैन। निजी अस्पतालमा उपचार गर्ने आँट नभएकाले सरकारीमै पालो कुरेर बसेको पार्वतीका पति उपेन्द्रले बताए। ‘कुर्दाकुर्दै बिरामीको ज्यान पो जाने हो कि, यसको जिम्मा कसले लिने ?’ उनले भने, ‘बेलाबेला अस्पताल जान्छौं, अलि छिटो गरिदिनुप-यो भन्छौं, अस्पतालले पालोमा रहेका कोही नआए गरिदिने भनेको छ, अहिलेसम्म त्यो दिन आएको छैन।’

सप्तरीको राजविराजका ४० वर्षीय वसन्तनाथ शरण प्यारालाइसिसका बिरामी हुन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मंसिर पहिलो साता भिडिओ एक्सरे गर्दा उनमा १० एमएमको पत्थरी देखियो। घरपरिवारका मानिस अत्तालिए। डाक्टरले पनि छिटो शल्यक्रिया गरेर पित्तथैली फ्याँक्नुपर्ने सल्लाह दिए। तर उनको शल्यक्रिया मिति भने २०७८ कात्तिक अन्तिम साताका लागि तय भएको छ।

वसन्तकी बहिनी प्रिन्सा शरणका अनुसार निजी अस्पताल गएर शल्यक्रिया गर्ने स्रोत नभएकाले उनीहरू राजविराज फर्के। ‘दुईदुईवटा रोग भएका बिरामीलाई राजविराजका अस्पतालहरूले भर्ना लिनै मानेनन्,’ प्रिन्साले भनिन्। वसन्त २०७८ कात्तिकको शिल्यक्रिया मिति पर्खेर बसेका छन्।

बाँके कोेहलपुरकी कमलाकुमारी योगी पनि पित्तथैलीको पत्थरीको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालले दिएको दुई वर्षपछिको पालो कुरेर बसेकी छन्। २०७६ मंसिरमा अस्पतालले उनलाई २०७८ कात्तिक पहिलो साताको शल्यक्रिया मिति दिएको थियो। ‘छिटो पालो मिलाइदिनुस् भन्दा निजीमै जानुस् भन्नुभो,’ उनले भनिन्।

दाङ लमहीकी ५२ वर्षीया मालती कुमाल पित्तथैलीको पत्थरीको शल्यक्रियाका लागि २०७५ वैशाखदेखि पालो कुरिरहेकी छिन्। त्रिवि शिक्षण अस्पतालले २०७७ पुस दोस्रो साता उनको शल्यक्रिया मिति तोकेको छ। ‘बीचमा समय मिल्यो भने बोलाउँछौं भनेको थियो,’ मालतीका छोरा गुरुप्रसादले भने, ‘आफंै गएर पनि बेलाबखत बुझ्छु।’

शल्यक्रिया गरेर पित्तथैलीको पत्थरी फाल्न शिक्षण अस्पतालमै २०७५ चैतदेखि पालो कुर्दैछिन्, पाँचथर हिंगुवाकी शान्ता थापा पनि। उपचारका लागि पाँचथरदेखि काठमाडौं आएकी उनलाई डाक्टरले शल्यक्रिया गर्न २०७७ माघ दोस्रो हप्ताको मिति दिएका छन्।

ऋण खोजेर निजीमा
नुवाकोटको शिवपुरी गाउँपालिका खोलेगाउँकी सानुमाया तामाङ पेट दुखेपछि २०७६ पुस पहिलो साता वीर अस्पताल गएर भिडिओ एक्सरे गरिन्। १३ एमएमको पत्थरी देखियो। शल्यक्रिया गर्नुपर्ने भयो तर पालो पाइयो एक वर्षपछिको।

रोग पालेर बस्न गाह्रो भएपछि उनी २०७६ माघ ३ मा त्रिवि शिक्षण अस्पताल पुगिन्। रिपोर्ट हेरेर जाँच गरेपछि डाक्टरले उनलाई शल्यक्रियाका लागि २०७८ कात्तिक तेस्रो हप्ता आउन भने। ‘दुइटै अस्पतालमा शल्यक्रिया नहुने भएपछि ऋण खोजेर निजी अस्पतालमा गएर शल्यक्रिया ग-यौं,’ सानुमायाले भनिन्, ‘शल्यक्रिया गर्दा १ लाख ३० हजारजति खर्च लाग्यो।’

मकवानपुर आल्दोमारकी ७० वर्षीया शोभा बर्तौला पित्तथैलीको पत्थरीले सहनै नसक्ने दुखाइ भएपछि २०७६ मंसिर २३ मा त्रिवि शिक्षण अस्पताल पुगिन्। शल्यक्रिया गरेर पत्थरी फाल्नुको विकल्प थिएन। तर अस्पतालले उनलाई २०७७ पुस दोस्रो साता मात्रै शल्यक्रियाको पालो आउने समय दियो।

शोभालाई त्यसअघि एक महिनासम्म चाबहिलस्थित ओम हस्पिटलमा भर्ना गरिएको थियो। तर बुढ्यौलीमा जोखिमपूर्ण हुने भन्दै अस्पतालले शल्यक्रिया गर्न मानेन। त्यसपछि पति सीताराम बर्तौलाले उनलाई शिक्षण अस्पताल पु¥याएका थिए। ‘एक महिना राखेर ओमले शल्यक्रिया गर्न नमानेपछि यहाँ आएँ। डाक्टरले एक वर्षपछि मात्र पालो आउँछ भने,’ सीतारामले भने। शोभा अहिले त्यही पालो कुरेर बसेकी छन्।

पेट असाध्यै दुखेर ज्वरोसमेत आएपछि धादिङ नौबिसेकी २८ वर्षीया कालीमाया तामाङ २०७६ कात्तिक पहिलो साता त्रिवि शिक्षण अस्पताल पुगेर भिडिओ एक्सरे गरिन्। पित्तथैलीमा पत्थरी देखियो। तर अस्पतालले उनको शल्यक्रिया २०७७ चैत दोस्रो साताभन्दा पहिले गर्न नसकिने बतायो। पति मम्बा च्याङले भने, ‘एकपटक फेरि डाक्टरलाई सोध्छौं, पालो नआउने भए रोग पालेर बस्नुभन्दा ऋण लिएरै भए पनि निजी अस्पताल जानुपर्ला।’

‘सबैलाई थेग्नै सक्दैनौं’
त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा गम्भीर रोगका बिरामी बाहेक अरूले प्रायः शल्यक्रियाका लागि पालो पाउँदैनन्। यी अस्पतालमा पत्थरीलगायत रोग पालेर बसेका बिरामीका लागि एक वा दुई वर्षपछि मात्र शल्यक्रियाको पालो आउनु सामान्यजस्तै हो।

त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसीले सीमित सरकारी अस्पतालमा आउने बिरामीको संख्या बढी भएकाले लामो समय पालो कुर्नुपरेको बताए। ‘वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा देशैभरका बिरामी आउँछन्,’ उनले भने, ‘त्यत्रो संख्या दुईवटा अस्पतालले मात्र थेग्न सक्दैनन्, संरचना थप गर्नुपर्छ।’

त्यसमा पनि कोरोना महामारीले यस्ता बिरामीका लागि सरकारी अस्पतालमा शल्यक्रिया गर्नु असम्भवजस्तै भएको छ। परिणाम, निजी अस्पतालमा महँगो पैसा तिर्न नसक्नेहरू रोग पालेर बस्न बाध्य छन्।

लकडाउनयता राजधानीका ठूला सरकारी अस्पतालले शल्यक्रिया गर्ने अवस्था नभएको भन्दै यस्ता बिरामी भर्ना लिन छाडेका छन्। २०७८ चैतसम्म शल्यक्रिया गर्ने पालो कुरिरहेका बिरामीको संख्या त्रिवि शिक्षण अस्पतालमा ५ सय ४० छ भने वीर अस्पतालमा २ सय ४७। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले उपचारको पालो कुरेर बसेका सयौं बिरामी लकडाउनयता अस्पतालमा नआएको बताए।

त्रिवि शिक्षण अस्पताल जीआई तथा जनरल सर्जरी (पाचन प्रणाली सम्बन्धी रोगहरूको शल्यक्रिया गर्ने) विभाग प्रमुख प्रा.डा. पलेस्वा जोशी लाखेले दैनिक पत्थरीका पाँच बिरामीको शल्यक्रिया हुने गरेको बताइन्। पेटसम्बन्धी शल्यक्रिया हुने यो विभागमा सात शल्यचिकित्सक छन्। देशभरका बिरामी त्रिवि शिक्षण अस्पतालमै आउने तर अहिले भएको जनशक्तिले सबै बिरामी हेर्न नसक्ने भएकाले पालो कुर्नुपरेको उनको भनाइ छ। ‘गम्भीर रोगका बिरामीले लामो समय पर्खनुपर्दैन,’ उनले भनिन्, ‘तर यहाँ सबै बिरामीको शल्यक्रिया सम्भव छैन, लामो समयसम्म कुर्नुभन्दा अन्यत्र जानुस् भनेर हामी नै सल्लाह दिन्छौं।’

त्रिवि शिक्षण अस्पतालका अनुसार २०७६ साउनयता हाडजोर्नी, नसा, पत्थरीलगायत सबैखाले रोगका बिरामी २ हजार ५१ जनाको शल्यक्रिया भएको छ। त्रिविमा सामान्यतया एक सातामा ५० जनाको शल्यक्रिया हुन्छ।

सामान्य अवस्थामा त्रिवि शिक्षण अस्पतालमा शल्यचिकित्साअन्तर्गत पाँच विभाग छन्। जसअन्तर्गत जिआई तथा जनरल सर्जरी, न्युरोसर्जरी, युरोसर्जरी, प्लास्टिक सर्जरी, पेडियाट्रिक सर्जरी (बाल शल्यचिकित्सा) विभाग छन्। यी विभागमा सोमबार, बुधबार र शुक्रबार शल्यक्रिया हुन्छ। तर अहिले यी विभागले पालोे कुराएर राखेका बिरामीको शल्यक्रिया हुन सकेको छैन। सामान्य अवस्थामा बिरामीको चाप बढी हुने भएकाले यति मात्रैै विभागले नथेग्ने डाक्टर ज्ञानेश्वर श्रेष्ठले बताए। ‘सबैजसो बिरामी सहज उपचार खोज्दै सरकारीमै आउँछन्,’ उनले भने, ‘यहाँको जनशक्ति र स्रोतसाधनले भ्याउँदैन। त्यही भएर पनि धेरै बिरामी पालोमा बस्नुपर्छ।’

तर यहाँ पनि भनसुन चल्ने र नातागोता भएकाले पालो कुर्नुपर्दैन। त्रिवि शिक्षण र वीर अस्पतालमा दूरदराजबाट आएका बिरामीहरू पहुँच हुने बिरामीले पालो कुर्नैनपर्ने तर आफूहरूले वर्षौंसम्म कुर्नुपरेको गुनासो गर्छन्। शिक्षण अस्पतालमा भेटिएका महेश साहले भने, ‘पछि आएका उहिल्यै शल्यक्रिया गरेर फर्किसके, हामीलाई एक वर्षपछि आउनू भनेर समय दिएको छ।’

शिक्षण अस्पतालमै पत्थरीको शल्यक्रियाका लागि पालो कुरेर बसेकी भक्तपुर खरिपाटीकी राधा तिम्सिनाले अस्पतालका कर्मचारी र चिकित्सकमार्फत आउने बिरामीको छिट्टै शल्यक्रिया भए पनि पहुँच नपुग्नेहरूले कुरेर बस्नुपरेको गुनासो गरिन्। उनको शल्यक्रियाका लागि अस्पतालले २०७७ वैशाखको मिति दिए पनि कोरोना महामारीका कारण अस्पतालले उपचार गर्न मानेन। उनी भन्छिन्, ‘चिनजान र आफ्ना मान्छे भए उहिल्यै उपचार भइसक्थ्यो, अस्पतालमा फोन गरेर बुझ्दा पर्खिनुस् मात्रै भन्छन्।’

अस्पतालको प्रशासनका निमित्त प्रमुख माधव घिमिरेले नै उपचारका लागि दबाब आउने र बिरामीको अवस्था हेरेर उपचारमा सहजीकरण गरिदिने गरेको भनेर त्यहाँ ‘भनसुन चल्ने’ जनाउ दिए। ‘चिनजानका व्यक्तिले अरूको पालो मिच्न खोज्छन्, कतिपयले सीधै डाक्टरलाई फोन गरेर पनि शल्यक्रियाको समय लिन्छन्,’ उनले भने, ‘त्यसले गर्दा उपचारको पालो पर्खिरहेका बिरामीलाई केही मर्का पक्कै परेको छ।’

रोग पालेर बाँच्न विवशहरूको यो पीडाले निर्वाचनताका दलहरूले जनतासमक्ष गरेका स्वास्थ्य सेवासम्बन्धी वाचाहरू मात्र सार्वजनिक खपतका लागि थिए भन्ने पुष्टि गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७४ का लागि हालको सत्तारूढ दल (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) को संयुक्त चुनावी घोषणापत्रमा ‘स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी वृद्धि गरिने’ भनिएको थियो। घोषणापत्रमा भनिएको थियो, ‘सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ, गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकममा ५० प्रतिशत सरकारले भुक्तानी गरिदिनेछ, हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शड्ढयाको सुविधासम्पन्न अस्पताल सञ्चालन गरिनेछ।’ तर सुगम र राम्रो स्वास्थ्य पूर्वाधार भएको राजधानीमा समेत नागरिकले भोगेको यो कष्टकर जीवनले लोकतान्त्रिक प्रणालीमा दलहरूले गर्ने सार्वजनिक वाचाको विश्वसनीयतामाथि प्रश्न उठाइदिएको छ।
(खोज पत्रकारिता केन्द्र)

प्रकाशित: २२ आश्विन २०७७ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App